बैशाख १६, २०८१ आईतबार

घरदैलोमा उम्मेद्वार

बिर्तामोड । उम्मेद्वारी दर्तापछि दलहरु घरदैलो अभियानमा जुटेका छन् । बैशाख ११ र १२ गते मनोनयन दर्ता गरेका उम्मेद्वारहरु मंगलवार विहानैबाट भोट माग्न मतदातासम्म पुगेका हुन् ।

समयमै उम्मेद्वार निश्चित नहुँदा उम्मेद्वारहरु भोट माग्न जान सकिरहेका थिएनन् । उम्मेद्वारहरु मनोनयन दर्तापछि सबै दलका उम्मेद्वार ढुक्कले मत माग्न थालेका छन् ।

नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रसहित अन्य दलहरु आ–आफ्नो वडामा घरदैलो गर्दै आफ्ना योजना सुनाउन थालेका छन् । पार्टीको योजना सुनाउँदै जनताको चहाना समेत बुझ्दै उम्मेद्वारहरु टोलटोल जान थालेका छन् ।
बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन नजि आएपछि समयलाई ख्याल गर्दै दलहरु हतारो मै घरदैलो गरिरहेका छन् । दलहरुलाई १६ दिनभित्र सबै मतदाताको घर पुगिसक्नु पर्ने भएकाले एकैदिनमा धेरै ठाउँ भ्याउनुपर्ने बाध्यता आइलागेको छ ।

अर्जुनधारामा टिकाग्रहण गर्दै घरदैलो अभियान प्रारम्भ
झापाको अर्जुनधारा धाममा पुजारीबाट टिका ग्रहण गर्दै एमालेले घरदैलो अभियान प्रारम्भ गरेको छ । एमालेबाट अर्जुनधाराका मेयरका उम्मेद्वार बलदेव गोम्देन र उपमेयरको उम्मेद्वार खड्गमाया पराजुलीसहित वडाध्यक्षले धाममा पुगेर टिका ग्रहणपछि अभियान प्रारम्भ गरेका हुन् ।

सोमवार उम्मेदवारी दर्ता गराएका उनीहरुले मंगलवार विहानबाट घरदैलो अभियान शुरु गरेका छन् । अर्जुनधारा वडा नं. ७ बाट घरदैलो अभियान थालिएको नेकपा एमाले अर्जुनधाराले जनाएको छ । विहान ७ बजेदेखि मेयर, उपमेयर, वडाध्यक्ष र सदस्यहरुसहितको समूहले घरदैलो अभियान मार्फत मत मागिरहेका छन् । संमृद्ध अर्जुनधारा निर्माण गर्दै देशकै नमूना नगर बनाउने घोषणा सहित गोम्देनको नेतृत्वमा एमाले घरदैलो गरिरहेको छ ।

देवकुमारद्वारा उम्मेद्वारी फिर्ता –

नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा मेचीनगरका इन्चार्ज देवकुमार राईले स्वतन्त्र हैसियतबाट नगरप्रमुख पदका लागि दिएको उम्मेदवारी फिर्ता लिएका छन् ।
सोमबार निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएका देवकुमार राईले मंगलबार नै उम्मेद्वारी फिर्ता लिएको सामाजिक सञ्जाल फेसबुकमार्फत् सार्वजनिक गरेका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत आफू नेकपा एमालेको जिम्मेवार कार्यकर्ता भएकाले पार्टी हित विपरित आफ्नो उम्मेद्वारी नरहेको जनाएका छन् । उनले विधि र प्रक्रिया पूरा गरी निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेद्वारी फिर्ता लिने जनाएका छन् ।

राईले आफ्नो उम्मेद्वारी प्रवृत्तिको विरुद्ध भएको सन्देश दिन मात्र दर्ता गराएको जनाएका छन् । आफू नेकपा एमालेको सदस्य भएकोमा गर्व गर्दै पार्टीले उठाएको उम्मेद्वारलाई विजय गराउन आजैबाट लाग्ने प्रतिबद्धता व्यक्त गर्दै विरोधीहरुलाई खुशी नमाउन समेत आग्रह गरेका छन् ।

जनताको घरघर पुग्ने तयारीमा
नेकपा एमाले गौरादह घरदैलो अभियान सञ्चालनको तयारीमा जुटेको छ । मतदाताको घरघरमा पुगेर भोट माग्ने र जनताको समस्या सुन्ने गरी घरदैलो अभियान शुरु गर्न एमाले आन्तरिक छलफलमा जुटेको छ ।

सशक्त ढंगले स्थानीय मतदातामा जाने तयारीमा जुटेको नेकपा एमाले गौरादहले जनाएको छ । मंगलबार सम्पन्न वडा कमिटीहरुको बिस्तारित बैठकले यस्तो अभियानबारे विमर्श गरेको हो ।

मंगलबार वडा नम्बर १, २, ३ र ४ नम्बरको बिस्तारित बैठक सम्पन्न भएको छ । बिस्तारित बैठकमा एमाले झापाका अध्यक्ष दिपक कार्की, प्रदेश कमिटी सचिवालय सदस्य अमरदास शिवाकोटी, प्रदेश कमिटी सदस्य योगराज दाहाल, मदन अधिकारी, गौरादहका मेयरका उम्मेद्वार छत्रपति सुवेदी, उपमेयर जल वर्षा राजवंशी लगायतको उपस्थिति रहेको थियो ।
वडा कमिटी वडा नम्बर १ का अध्यक्ष नगेन्द्र भण्डारी , २ का अध्यक्ष डिल्लीराम काफ्ले , ३ का अध्यक्ष गजेन्द्र घिमिरे र ४ का अध्यक्ष दुर्गामणि बस्नेतले बैठकमा छलफल चलाएका थिए । एमाले झापा अध्यक्ष दिपक कार्कीले चुनावको नतिजा आफ्नै पक्षमा हुने भन्दै थप तयारीमा जुट्न, सबै वर्ग र क्षेत्रमा पुगेर प्रभावकारी प्रचार–प्रसार गर्न निर्देशन दिए ।

बैठकले एमाले सशक्त रुपमा स्थानीयसम्म जानका लागि विभिन्न उपसमिति समेत गठन गरेको छ । बैठकले युवा परिचालन समिति, प्रचार–प्रसार समिति लगायतका उपसमिति समिति गठन गरेको छ ।
यस्तै, नेकपा एमाले अर्जुनधारा नगरपालिका वडा नम्बर ५ ले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि घरदैलो अभियान शुरु गरेको छ ।

पार्टीले वडाको उम्मेद्वारका रुपमा मनोनयन दर्ता गरेपछि मंगलबारबाट घरदैलो अभियान शुरु गरेको हो ।
एमालेको अर्जुनधारा–५ बाट वडाअध्यक्षमा डम्बर घिमिरे, खुल्ला सदस्यमा लक्ष्मी खनाल, रोहित चौधरी र चन्द्रा तामाङले मनोनयन दर्ता गरेका छन् भने रिता नेपालीले दलित सदस्यका रुपमा मनोनयन दर्ता गराएको वडाअध्यक्षका उम्मेद्वार घिमिरेले जानकारी दिए ।

उम्मेद्वारसहितको टोलीले घरदैलो अभियानका क्रममा बिहीवारे बजार हुँदै मतदाताको घरघरमा पुगेर भोट माग्ने वडाअध्यक्षका उम्मेद्वारले बताए । घरदैलो अभियानमा वडाअध्यक्ष ध्यानबहादुर भारती, सदस्य सकुन्तला घिमिरेसहित पार्टीका नेता तथा कार्यकर्ताकोको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : बैशाख १४, २०७९ बुधबार  ७ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]