जेष्ठ ६, २०८१ आईतबार

पशुचौपाय दक्षिण लैजान निषेध

बिर्तामोड । झापाबाट पशु चौपायको तस्करी रोक्न जिल्ला प्रहरीले एक्शन शुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले पशु चौपायलाई दक्षिण भेगमा झार्न पनि निषेध गरेको छ ।

अघिल्ला वर्षहरुमा पशुचौपाय तस्करी नियन्त्रण प्रभावकारी नदिए पनि यो आर्थिक वर्षबाट झापा प्रहरीले नियन्त्रणको प्रयास शुरु गरेको प्रहरी उपरीक्षक दिनेश मैनालीले जानकारी दिए । उनले भने, पूर्वपश्चिम राजमार्गबाट दक्षिण लैजान पूर्ण रुपमा बन्द गर्ने प्रहरीको योजना छ ।

जिल्ला प्रहरीले यहि साउन यता, दुई स्थानबाट ६४ थान पशुचौपाय नियन्त्रणमा लिई भन्सारलाई बुझाएको छ । प्रहरी चौकी बनियाँनी र वडा प्रहरी कार्यालय भद्रपुरले उक्त परिमाणमा चौपाय नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी निरिक्षक मोहन थापाले पशुचौपाय ल्याइने ठुला बजारमा प्रहरी नै परिचालन गरिएको जानकारी दिए । उनले प्रहरी परिचालन गरेर तस्करी नियन्त्रणको काम भइरहेको बताए । झापाको दमक, धुलावारी, शिवगञ्ज र राजगढ चौपाय खरिद विक्री गर्ने ठुला बजार हुन् ।

विशेष गरेर भारतसँग सीमाना जोडिएका ताप्लेजुङ, पाँचथर, ईलाम, झापाबाट अवैध तरिकाले गाई–गोरु तस्करी हुने गरेको छ । त्यसमध्ये चौपाय निकासीको रुपमा झापालाई मुख्य नाका बनाउने गरेको पाइन्छ । पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा र संखुवासभामा संकलन गरिएका चौपाया तस्करी हुने गरेको छ । केही चौपाया कोशी राजमार्ग भएर झापाको दमक हुँदै भारत तस्करी हुने गरेको छ ।

यो क्षेत्रबाट तस्करले मासुका लागि भारत र बंगलादेशतर्फ निरन्तर गाईगोरु तस्करी गरिरहे पनि प्रशासनले रोक्न नसकेको स्थानीयको गुनासो छ । ‘गाईगोरु लैजानेले भन्छन् , पारी (भारतका विभिन्न स्थान र बंगलादेश) मा मासुका लागि बिक्री हुन्छ, नेपालका गाईगोरु त्यहाँ रुचाउँछन्’, दमक पशुहाट छेउका स्थानीय व्यापारी कृष्ण लिम्बुले भने ।

ग्रामीण क्षेत्रका किसानले पालेका गाईगोरु तस्करले न्यून मूल्यमा किनेर ताप्लेजुङको साविकका कालिखोला र सादेवा गाविससहित ईलामको सूर्योदय नगरपालिका र झापाको दमक हुँदै भारतसम्म पुर्‍याउने गरेको स्वयं चौपाया खरिद गर्ने भारतीय नागरिक बताउँछन् । पहाडमा संकलन गरिएका गाईगोरुलाई रातको समयमा धनकुटाको सिंधुवाबाट ट्रकमा राखेर रातारात दमक पु¥याउने गरेको भारत सिक्किम घर बताउने गाईगोरु खरिद गर्न नेपाल आएका मनकुमार तामाङ् बताउँछन् ।

निर्यात गर्न कानुनी जटिलता भए पनि तस्करले मिलेमतोमा अवैध धन्धा चलाइरहेको पशु क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका प्रमुख मुकेशकुमार सिंहले स्वीकार गरे । नेपालबाट मासुका लागि गाईको निकासी गर्न प्रतिबन्ध छ ।

प्रकाशित मिति : भाद्र १५, २०७६ आईतबार  ९ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]