बैशाख ८, २०८१ शनिबार

मान्य राम कार्की ज्यू, तपाईहरुले राजासँग घाँटी जोडेकै हो ?

प्रदीप परियार
स्थानीय तह निर्वाचन –२०७९ को व्यापक तयारी छ । निर्वाचन आयोग निर्वाचन गराउने निकायको रुपमा तयारी गर्दैछ भने राजनीतिक दलहरु आफ्नो पक्षमा मत फकाउन दिनरात मेहनत गरिरहेका छन् । पाँच वर्षपछि गरिव विपन्न, मजदुरको घरमा नेताहरुको उपस्थिति पनि बाक्लो छ । संघीय संरचनाको निर्माणपछि हुन गइरहेको स्थानीय तहको दोस्रो निर्वाचन वास्तवमै उल्लासमय छ । आम मतदाता मतदानको व्यग्र प्रतिक्षामा छन् भने दलहरु घरदैलोमा व्यस्त छन् ।

०७४ को निर्वाचनभन्दा यो वर्षको निर्वाचनमा केहि भिन्नता अवश्य छ । राजनीतिक वातावरण बदलिएको छ । मतदाता पनि सचेत भएका छन् । दलहरुको ठाडो आदेश मान्ने पक्षमा मतदाता अवस्य छैनन् । स्थानीय निर्वाचनमा मतदाताको विवेक निर्णायक हुन्छ । हालसम्मका कामलाई स्वमुल्याङकन गरेर मत दिन पाउने छुट मतदाता सामु छ ।

बैशाख ३० गते हुन गइरहेको निर्वाचनमा दलहरु दुईध्रुवमा विभाजित छन् । ०७४ को निर्वाचनमा बहुमत प्राप्त गरेको दल नेकपा एमाले प्रमुख प्रतिपक्षीको भूमिकामा छ । सो निर्वाचनमा दोस्रो र तेस्रो भएको दल कांग्रेस, माओवादी सत्ताको बागडोर सम्हालिरहेका छन् । सत्तावालाहरु गठबन्धन गरेर निर्वाचनमा सहभागी भएका छन् भने एमाले केहि ठाउँमा तालमेल गरेर चुनावमा प्रतिष्पर्धा गर्दैछ ।

विचार, सिद्धान्तमा कहिकतै मेल नखाने नेपाली कांग्रेस र नेकपा माआवादीको गठबन्धन बनेको छ । अर्कातिर एमालेबाट पूर्वाग्रहले छुट्टिएको नेकपा समाजवादी पनि गठबन्धनमा टाँसिएको छ । गठबन्धनमा समाजवादीलाई खासै सम्मान दिइएन । देशभर गठबन्धको मर्म र भावना अनुसार कांग्रेस र माओवादी बिचमा भागवण्डामा सहमति पनि भएन । भएका धेरै ठाउँहरुमा आफुआफु भिड्ने परिस्थितिको निर्माण भएको छ । गठबन्धको उद्देश्य भनेको मुलतः केपी शर्मा ओलीप्रतिको पूर्वाग्रह हो । यो मैले भन्नै पर्दैन । सबैले जानेबुझेकै कुरा हो ।

कांग्रेस र माओवादीका बिचमा गठबन्धन भइरहँदा मलाई विगतको एउटा घटना स्मरण भयो । संघीय निर्वाचनमा माओवादी र एमाले मिलेर निर्वाचनमा भाग लिएका थिए । झापाको निर्वाचन क्षेत्र नं. १ मा एमाले र माओवादीको तर्फबाट राम कार्की ‘पार्थ’ उम्मेद्वार थिए । उनी निर्वाचित पनि भए । सो निर्वाचनको पूर्वसन्ध्यामा काँकडभिट्टामा आयोजित एउटा चुनावी सभा भएको थियो । सो सभालाई उम्मेद्वार बनेका कार्कीले भाषण गरेका थिए । उनको सार्वजनिक कार्यक्रममा मैले सुनेको त्यो भाषण पहिलो थियो । उनको भाषणबाट म प्रभावित पनि भएको थिए । धेरै योजनाहरुका बारेमा उनले आफ्नो भिजन सुनाएका थिए । ति भिजन कति पुरा भए÷भएनन् स्थानीय नागरिक अवश्य जानकार छन् ।

त्यो दिन उनले भनेका थिए, राजासँग घाँटी जोडिएको कांग्रेस र जनतासँग घाँटी जोडिएको कम्युनिष्ट । तपाईहरु आफै भन्नुहोस्, कता लाग्ने ? वास्तवमै उनले उठाएको सवालको जवाफ आज उनैले दिने बेला आएको छ । माननीय ज्यू, तपाई चै कता लाग्नु भएको छ ?

आजको राष्ट्रिय राजनीतिमा कांग्रेससँग तपाईहरुको पनि घाँटी जोडियो । राजासँग घाँटी जोडिएको कांग्रेससँग तपाईहरुले घाँटी जोड्नुको स्वार्थ के हो ? जनताको निम्ति हो वा केपी ओलीसँगको पूर्वाग्रह मात्रै ? एउटा पुस्ता अझै पनि राजनीतिलाई फोहोरी खेल भन्ने गर्छ । वास्तवमै त्यो दिनको भाषण र आजको घाँटी जोडाजोडले राजनीतिलाई फोहोरी बनाएको स्पष्ट हुन्छ ।
हरेक समय स्वार्थको अघिपछि लागेर गरिने राजनीतिले जनताको भलो गर्न सक्दैन । यो कुरा माओवादीभित्र बौद्धिक नेताका रुपमा स्थापित राम कार्कीलाई पनि राम्रोसँग थाहा हुनुपर्छ । के जनताले स्वार्थ केन्द्रीत राजनीतिलाई सहयोग गर्दा मुलुकमा समाजवाद आउँछ ? नेताको स्वार्थमा जनता दौडिने कि जनताको स्वार्थमा नेता दौडिने ? पहिले यसलाई स्पष्ट बनाउन आवश्यक छ ।

गठबन्धन सहि हो कि गलत भन्ने कुरामा जनताले बैशाख ३० गते फैसला गर्ने नै छन् । त्यसपछिको बाटो के हो ? कुन पार्टीसँग घाँटी जोड्ने हो ? जनतासँग घाँटी जोडिएको पार्टीसँग घाँटी जोड्ने कि राजासँग घाँटी जोडिएको कांग्रेससँग जोडिने हो ? यसबारे आम जनतालाई जानकारी दिनुपर्छ । स्वार्थ केन्द्रीत राजनीतिमा जनताले किमार्थ सहयोग गर्न हुदैन । किनभने, देश बनाउनेहरु स्वार्थ केन्द्रीत राजनीतिमा लिप्त हुन सक्दैनन् ।

गठबन्धन दलभित्रै गठबन्धन विरुद्ध विद्रोह छ । यसले ल्याउने परिणामले फेरि चिराचिरा पर्ने निश्चित छ । यसको पक्षमा नेता उभिएलान् । तर, जनताको बिचमा गठबन्धन हुन सक्दैन । त्यसैले गठबन्धन आजको राष्ट्रिय परिस्थितिमा औचित्यहीन छ । अर्को कुरा, गठबन्धन त जसरी पनि एमाले हराउने भन्ने उद्देश्यबाट बनेको समूह हो । यसले भागवण्डामा तय गरेका उम्मेद्वार पनि जनताको आकांक्षाभन्दा बाहिर छ । जो सुकैलाई उम्मेद्वार बनाएर जिताउने प्रपञ्जलाई आम मतदाताले बुझेका छन्, बुझ्नैपर्छ ।

स्थानीय तहको निर्वाचनमा गठबन्धन र तालमेल दुवै गलत अभ्यास हुन् । गठबन्धनका विरुद्ध कतिपय ठाउँमा भएका तालमेलले उचित परिणाम दिन सक्दैन । स्थानीय निर्वाचनमा दल र उम्मेद्वारको मुल्याङकन हुन दिनैपर्छ । त्यसका लागि मतदाताले गठबन्धन होइन, दल र उम्मेद्वारको पहिचान गरेर अमुल्य मत खसाल्नुपर्छ ।

आजको गठबन्धन भनेको कांग्रेसको आवश्यकताले बनेको हो । जतिजति कांग्रेस कमजोर बन्दैछ, त्यति नै अन्य दलहको सहारा खोज्दै गएको छ । अघिल्लो निर्वाचनमा नेकपा एमालेसँग नमिठो पराजय व्यहोरेको कांगे्रस आफ्नो साख जोगाउन तल्लिन छ । त्यसका लागि माओवादीलाई पनि सँगै लिएर अघि बढ्दैछ, कांग्रेस । त्यसले नेकपा माओवादीलाई पक्कै राहत मिल्न सक्छ । शुन्यतामा जानु भन्दा केहि केहि सिट संरक्षण गर्नैपर्ने बाध्यता माओवादीलाई पनि छ ।

पाँच वर्षको अवधिमा कांग्रेस र माओवादीले देखाएको राष्ट्रियताको सवाल स्खलित छ । जनताले त्यो कुरालाई मज्जाले बुझेका छन् । त्यसैले आज ‘नो भोट’ भन्नेहरु गठबन्धनका विरुद्ध स्पष्ट रुपमा उभिएका छन् ।

प्रकाशित मिति : बैशाख १८, २०७९ आईतबार  १० : ३० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]