बैशाख २१, २०८१ शुक्रबार

कनकाईमा कांग्रेसलाई भारी बन्दैछ शेरबहादुरको उम्मेद्वारी

बिर्तामोड । झापाको १५ स्थानीय तहमध्ये कनकाई नगरपालिकामा शेर बहादुर थापाको स्वतन्त्र उम्मेद्वारीले सबैको ध्यान खिचेको छ । ४ दशक लामो कांग्रेस राजनीति त्यागेर मेयर पदमा स्वतन्त्र उम्मेद्वारी दिएका थापाले नेपाली कांग्रेसमा तरंग ल्याएका छन् । उनको यो कदमले कांग्रेसमा भुकम्प नै गएको चर्चा भइरहेको छ ।

नेपाली कांग्रेसबाट मेयरमा प्रमुख दावेदार मानिएका थापाले टिकट नपाएपछि पार्टी परित्याग गर्दै स्वतन्त्र उम्मेद्वारी दिए । उनलाई निर्वाचन आयोगले जेब्रा चुनाव चिन्ह प्रदान गरिसकेको छ । दोमुदास्थित पार्कमा निर्माण गरिएको जेब्रामा पुगेर थापाले चुनावी अभियान प्रारम्भ गरेका छन् । चुनाव चिन्हसहित आइवारदेखि घरदैला थालेका थापाले यसअघि नै मतदाता भेटघाटलाई निरन्तरता दिदैं आएका थिए ।

कनकाईमा नेपाली कांग्रेसले रुद्र चिमरियालाई मेयरको उम्मेद्वार बनाएको छ । कांग्रेसलाई सबैभन्दा जोखिम नै थापा रहेको स्पष्ट छ । वर्षौदेखि आम नगरवासीको सेवामा क्रियाशिल थापालाई टिकटमा वाइपास गरेपछि थापाले आफ्नो बाचा पुरा गर्न स्वतन्त्र उम्मेद्वारी दिएको बताए । उनले मेयर बनेर नागरिकको सेवामा समर्पित हुने बाचा गरेका थिए । सोही अनुसार जनताको हरेक दुखमा पुगेका थापालाई कांग्रेस कार्यकर्ताकै ठुलो सहयोग प्राप्त भइरहेको छ । उनले कनकाईमा नेकपा एस र माओवादी केन्द्र समेतलाई सँगै लिएर हिडेका छन् । उम्मेद्वारी स्वतन्त्र दिए पनि उनको चुनावी अभियानमा कांग्रेस कार्यकर्ताको बोक्लो उपस्थिति छ । पार्क पुगेर फर्किदा थापाले धनुषकोटी ढोगेर अभियान थालेका थिए । धनुषकोटीमा कांग्रेस कार्यकर्ताको उल्लेख्य उपस्थिति थियो ।

थापाको उम्मेद्वारीले कनकाई नगरपालिकामा त्रिपक्षीय भिडन्त हुने निश्चित भएको छ । एमाले, कांग्रेस र शेर बहादुर बिच कडा टक्कर हुने स्थानीयबासीको भनाई छ । राप्रपाका उम्मेद्वार एमाले छोडेको भोलीपल्ट राप्रपा प्रवेश गरेर उम्मेद्वार बनेका व्यक्ति हुन् । उनले जुनसुकै बेला धोका दिन सक्ने आँकलन स्थानीयको छ । एमालेमा लामो समय काम गरेका उनले स्वतन्त्र उम्मेद्वार दिन सक्थे, तर अर्को पार्टीमै जानुलाई सकारात्मक रुपमा लिएको छैनौं, कनकाईका एक बुद्धिजीवी भन्छन् । राप्रपाका उम्मेद्वार श्याम ओली एमाले हुँदा उनको घरमा एमाले अध्यक्ष केपी ओलीको आउजाउ नै थियो ।

कांग्रेसले पत्याएन, स्वतन्त्र उम्मेद्वारीले कसरी पार लगाउनु हुन्छ भन्ने इजलासको जिज्ञासामा थापाले भने, कांग्रेसले नपत्याए के भयो ? कनकाईबासी आमाबुवा, दाजुभाई, दिदीबहिनीले पत्याउनु भएको छ । मैले चुनाव जितिसके, कांग्रेसको सातो गइसक्यो ।

मेयर पदका उम्मेद्वार थापाले कांग्रेसमा गलत नेतृत्वका कारण यो घटना भएको बताउँछन् । टिकटमा आर्थिक चलखेल भएको उनको आरोप छ । थापा झापाका पुराना निर्माण व्यवसायी पनि हुन् । उनले आसन्न निर्वाचनमा जित्ने गरी सबैको साथ, सहयोग पाएको दावी गरेका छन् ।

४ दशक लामो कांग्रेस राजनीतिमा लागेर कहिल्यै कुनै पद नमागेको उनको भनाई छ । थापाले मेयरको टिकटका लागि टोल, वडा, सक्रिय सदस्यबाट निर्णय गराऔं भन्दा पनि नेतृत्वले अस्वीकार गरेका कारण स्वतन्त्रबाटै चुनाव जितेर जनताको सेवामा लाग्ने संकल्प गरेको सुनाए ।

मेयरमा निर्वाचित भएपछि उनले वैज्ञानिक विधिबाट कम खर्चमै ठुला विकास निर्माण गर्ने बताएका छन् । शिक्षा, स्वास्थ्य,कृषि, खानेपानी, पूर्वाधार विकासलाई प्राथमिकता दिदैं वृद्धवृद्धालाई घरघर मै औषधि पुराउने व्यवस्था मिलाइदिने थापाले बताए । उनले नयाँ तौरतरिकाले काम गर्दै शैक्षिक संस्थामा मासिक स्वास्थ्य शिविर सञ्चालन गर्ने, ज्येष्ठ नागरिकको घरघरमा डाक्टर सेवा प्रदान गर्ने, हरेक वर्ष एक वडा बराबर २० जनालाई स्वरोजगार बनाउँदै जीवनस्तर माथि उठाउने कार्यक्रम ल्याउने बताएका छन् । उनले कनकाईलाई शिक्षा, स्वास्थ्य र कृषिको हवको रुपमा विकास गर्ने योजना सुनाए ।

कनकाईमा थापाको सामाजिक सेवाले यसअघि नै उनले मेयरमा उठ्ने संकेत गरेका थिए । कोभिड महामारीको समयमा एकातिर मेयर राजेन्द्र पोखरेल जनताको घरघर डौडिदै थिए भने अर्कातिर दौडिने व्यक्ति थिए, शेर बहादुर थापा । कोरोना महामारीको समयमा नागरिकलाई अस्पताल पुराउने, औषधि पुराइदिने, अक्सिजन उपलब्ध गराइदिने यिनै शेरबहादुर अन्त्यमा कांग्रेसको रिङबाट बाहिर राखिएका छन् । कांग्रेसका लागि भारी बनेका शेरबहादुरको उदय के होला ? बैशाख ३० पर्खर्नै पर्नेछ ।

प्रकाशित मिति : बैशाख १९, २०७९ सोमबार  ६ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]