जेष्ठ ४, २०८१ शुक्रबार

आयोगले माओवादीलाई सचेत गरायो

काठमाडौँ । निर्वाचन आयोगले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिर चुनाव प्रचारको पोस्टरमा प्रयोग गरेको विषयमा माओवादी केन्द्रलाई सचेत गराएको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालको सामाजिक सञ्जाल अकाउन्ट फेसबुकबाट कुलमान घिसिङ भएको चुनाव प्रचार सामग्री सार्वजनिक भएकोमा आयोगले स्पष्टीकरण सोधेको थियो ।

आयोगले सोमबार विज्ञप्ति जारी गरेर उक्त प्रकरणमा सचेत गराएको स्पष्ट उल्लेख नगरे पनि आचारसंहिता उल्लङ्घन गरेकोबारे स्पष्टीकरण सोधिएकोमा सचेत गराइएको उल्लेख गरेको छ । आयोगले विज्ञप्तिमार्फत भनेको छ, ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि जारी गरिएको निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने राजनीतिक दल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई निर्वाचन आयोगले चित्तबुझ्दो जवाफ माग गरेको र जवाफ प्राप्त भइसकेपछि सम्बन्धित दलहरूलाई सचेत गराएको छ ।’

आयोगले तीन वटै राजनीतिक दलहरूले निर्वाचन आयोग ऐन, २०७३ को दफा २३, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ र निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ विपरीत कार्य गरेको देखिएको पनि उल्लेख गरेको छ । तीन वटै राजनीतिक दलहरूलाई आगामी दिनमा त्यस्ता कार्य नदोहोर्‍याउन आयोगले सचेत गराएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा छ ।

प्रकाशित मिति : बैशाख २०, २०७९ मंगलबार  ६ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]