बैशाख १४, २०८१ शुक्रबार

झापा गाउँपालिका एमालेको प्रतिबद्धतापत्र सार्वजनिक

सुरुङ्गा । नेकपा एमाले झापा गाउँ कमिटीले स्थानीय तहको निर्वाचन–२०७९ का लागि आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।

झापा गाउँपालिकामा एमालेको सरकार बनाउँने उद्घोषका साथ सार्वजनिक उक्त प्रतिबद्धतापत्रमा पूर्वाधार विकास, जनजीविका, वातावरण तथा पर्यटन, रोजगार, सामाजिक सुरक्षा, शिक्षा क्षेत्र, कृषि क्षेत्र लगायतका विषयवस्तु समेटिएको छ । एमाले नेतृत्व विजयी भएमा जनमुखी कार्यक्रम लागु गरी साँचो अर्थमा झापा गाउँपालिका र झापा गाउँपालिकावासीको हितमा काम गर्ने सङ्कल्प सो प्रतिबद्धतापत्रमा गरिएको छ ।

कृषि क्षेत्रतर्फ रासायनिक मलको समुचित ब्यबस्थापन गरिने, प्रत्येक वार्डमा कृषि विज्ञ राखिने, व्यवस्थित कृषि बजारको ब्यवस्थापन गरिने, सहुलियत कृषि कर्जाको व्यवस्था गरिने, वास्तविक कृषक पहिचान गरी कार्डको ब्यवस्थापन गरिने, जैविक मल उत्पादन गर्न प्रोत्साहन कार्यक्रम सञ्चालन गरिने, चिस्यान केन्द्रको स्थापना गरिने, बाली र पशु पंन्छी बिमा कार्यक्रम सञ्चालन गरिने, तेलहन तथा सब्जी जस्ता नगदे बालिमा आत्मनिर्भर गराइने लगायतका प्रतिबद्धता रहेका छन् ।

त्यस्तै, शिक्षातर्फ झापा गाउँपालिकामा एक सुबिधा सम्पन्न बहुमुखी क्याम्पस स्थापना गरिने, प्राबिधिक शिक्षा शुरु गरिने, मुस्लिम , सन्थाल र विपन्न वर्गका विद्यार्थीहरुलाई प्राविधिक शिक्षा निःशुल्क गरिने, मदरसा शिक्षकहरूलाई अरु शिक्षक सरह सुबिधा प्रदान गरिने, पढ्दै पढाउदै शिक्षामा बिमाको व्यवस्था गरिने लगायतका सङ्कल्प गरिएको छ । सडक तथा पूर्वाधारतर्फ, मापदण्ड पुगेका बाटोहरुलाई कालोपत्रे र अन्य बाटालाई उच्चस्तरीय ग्राभेल गरिने, एक वार्ड एक खेल मैदान र एक पालिका एक रंगशालाको अवधारणालाई कार्यान्वयन गरिने, छिमेकी पालिकाहरूलाई जोड्ने कन्काई र बिरिङ्ग नदीमा झोलुङ्गे पुलको निर्माण गरिने, सन्थाल तथा राजवंशी संस्कृतिको सङ्ग्रहालयको स्थापना गरिने, पालिकाभित्र अत्यावश्यक स्थानको पहिचान गरी पुलहरूको निर्माण गरिने, विद्युतीय सूचना प्रणालीको विकास गरिने सङ्कल्पपत्रमा उल्लेख छ ।

नेकपा एमाले झापा गाउँ कमिटीले आफ्नो सरकार बनेमा भूमिहीन सुकुम्बासीलाई बसोबासको लागि जग्गा र आवासको व्यवस्था गर्ने घोषणा गरेको छ । सबै नागरिकलाई स्वास्थ्य बिमाको पहुँचमा ल्याइने र विपन्न परिवारलाई पहिचान गरी निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने प्रवन्ध मिलाइने, एक वार्ड एक एम्बुलेन्सको व्यवस्थापन गरिने, सार्वजनिक शौचालयहरुको निर्माण गरिने, पालिकास्तरीय वारुणयन्त्र (दमकल) संञ्चालन गरिने, शववाहनको व्यवस्था गरिने, सर्पदंश उपचार केन्द्रको स्थापना गरिने, उच्चस्तरीय सामुदायिक अस्पतालको स्थापना गरिने, स्वच्छ पिउने पानीको व्यवस्था मिलाइने प्रतिबद्धता गरिएको छ ।

रानीवनलाई विशेष पर्यटकीय क्षेत्रमा रूपान्तरण गरिने, पालिकास्तरीय भक्का दिवस मनाउन शुरु गरिने र झापा गाउँपालिका वार्ड नं. २ लाई सन्थाल संरक्षित क्षेत्र बनाउने एमालेको अवधारणा रहेको छ । महिला तथा बालबालिकातर्फ, सुत्केरी तथा गर्भवती महिलाहरूलाई निःशुल्क उपचार गरिने छ । साथै अस्पतालमा प्रसुती गराउने आमालाई प्रोत्साहन भत्ताको व्यवस्था गरिने, छात्रवृत्ति कार्यक्रमलाई वैज्ञानिक बनाइने, साईकल वितरण कार्यलाई समेत वैज्ञानिक बनाइने, फुस्को छानालाई टिनको छानो र पक्की घरमा रूपान्तरण गरिने प्रतिबद्धता व्यक्त गरिएको छ । घर घरमा सामाजिक सुरक्षा भत्ता वितरण गरिने, एक घर एक रोजगारको व्यवस्था मिलाइने, सार्वजनिक स्थल बजारमा सीसी क्यामेराको व्यवस्थापन गरिने, महिला हिंसा र बालश्रम शोषण जस्ता असामाजिक र कानुनले निषेध गरेका कुराहरूलाई निरुत्साहित गर्दै हटाउने कार्यक्रमहरू ल्याइने सङ्कल्प गरिएको छ ।

कक्षा १२ सम्म अध्ययन गर्ने सम्पूर्ण छात्रछात्रालाई निःशुल्क शिक्षा र विपन्न वर्गलाई पोशाक र छात्रवृत्ति सेवा उपलब्ध गराइने, विदेशबाट सीप सिकेर आएका अनुभव हासिल गरेका युवायुवतीलाई बिना धितो ऋण उपलब्ध गराउन प्रबन्ध मिलाइने, बेरोजगारहरूलाई अध्यक्ष रोजगार कोष खडा गरी कम्तीमा वार्षिक १ सय दिन रोजगारी दिने व्यवस्था मिलाइने, सबै वार्डमा ज्येष्ठ नागरिक भवन स्थापना गरिने, ५० वर्ष कटेका एकल पुरुषलाई भत्ताको व्यवस्था गरिने, ७५ वर्षभन्दा माथिका बुबा आमालाई थप भत्ताको व्यवस्था गरिने, ऐलानी जग्गामा जोतभोग गरिरहेका किसानलाई लालपूर्जा उपलब्ध गराउने, नागरिकता बनाउन समस्यामा परेका आम झापा गाउँपालिकावासीको नागरिकताको लागि संघीय सरकारसँग समन्वय गरी नागरिकता वितरण गरिने छ ।

नेकपा एमालेले जनपक्षीय कार्यक्रम सञ्चालन गर्दै झापा गाउँपालिकालाई दुर्गम पिछडिएको क्षेत्र भनी लगाइएको बिल्ला हटाउने नेकपा एमालेका युवा नेता मोहन पोखरेलले बताए । ७ वटा मात्र वार्ड रहेको झापा गाउँपालिकामा नेकपा एमालेले ३७ पदमै उम्मेदवारी दिएको छ । गाउँपालिका अध्यक्षमा गौंरीशंकर राजवंशी र उपाध्यक्षमा देवीमाया अधिकारी कोईराला उम्मेदवार रहेका छन् भने वडा अध्यक्षमा १ नं. वडावाट माधव पोखरेल, २ बाट नेत्रबहादुर खड्का, ३ बाट खड्ग राजवंशी, ४ बाट राजुजङ्ग भारती, ५ बाट रामजी दुलाल, ६ बाट हेमबहादुर.कार्की र वार्ड नं. ७ बाट शरदकुमार तिम्सिना रहेका छन् ।

प्रकाशित मिति : बैशाख २१, २०७९ बुधबार  ३ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]