चैत्र १५, २०८० बिहीबार

बिर्तामोडलाई सुन्दर र लोभलाग्दो नगर बनाउने

बिर्तामोड । नेकपा एमाले झापा जिल्ला कमिटीका सदस्य तथा बिर्तामोड नगरकमिटीका इञ्चार्ज देवराज कार्कीले अबको ५ वर्षभित्रमा बिर्तामोडलाई सुन्दर र लोभलाग्दो नगर बनाउने बताएका छन् ।

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले बहुमतका साथ विजयी हुने विश्वास व्यक्त गर्दै उनले २०७४ सालको निर्वाचन अघि कुपोषण लागेजस्तो बिर्तामोडलाई अहिले ३५ वर्षको हट्टाकट्टा युवाजस्तो बनाएको उनको दावी छ ।

नगर इञ्चार्ज कार्कीले यसलाई अबको ५ वर्ष भित्रमा एमाले नेतृत्वको स्थानीय सरकारले १६ वर्षे युवाजस्तो सुन्दर, सफा, लोभलाग्दो र हरबरा बनाउने नीति र कार्यक्रमसहित नगरको सुन्दर भविष्य समेटिएको १७ वटा वुँदामा प्रतिवद्वतापत्र सार्वजनिक गरेको बताएका छन् ।

चुनावी अभियानमा दिन रात नभनी निरन्तर सक्रिय नेता कार्कीले साझामञ्चसँग भने, ‘नगर भित्रका विपन्न नागरिकहरुलाई रोजगार र उत्पादनसँग जोडेर आफ्ना कार्यक्रमहरुलाई अघि बढाउने, उनीहरुको लागि निःशुल्क शिक्षा, निःशुल्क स्वास्थ्य बीमा, खानेपानी, विद्युत, शौचालयसहितको सुविधायुक्त जनता आवास निर्माण गर्ने नीति बनाएका छौं ।’

आज शनिबार बिर्तामोड वडा नं. ४ मा रोड शो तथा नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडासदस्यहरु सहित गरिएको घरदैलोका क्रममा कार्कीले सञ्चारकर्मीहरुसँग यस्तो धारणा राखेका हुन् । बिर्तामोड नगरपालिकामा नेकपा एमालेको तर्फबाट नगरप्रमुख पदमा पवित्रा महतारा प्रसाई र उपप्रमुख पदमा नगेन्द्रप्रसाद संग्रौला उम्मेदवार बनेका छन् ।

वडानम्बर ४ मा वडाध्यक्षमा राहुलकुमार शर्मा र महिला वडा सदस्यमा रमादेवी राजवंशी, दलित महिला वडा सदस्यतर्फ निर्मलादेवी सुनुवार तथा खुल्ला वडा सदस्यमा उमेश राउत र केशवकुमार श्रेष्ठ उम्मेदवार बनाइएका छन् ।

सोही कार्यक्रममाझ भेटिएका कार्कीले भूमिहिन नागरिकलाई जग्गाको मालिक बनाएर धनीपूर्जा उपलव्ध गराउने, शिक्षा, स्वास्थ्य र कृषि हबकोरुपमा बिर्तामोडलाई विकास गर्ने नेकपा एमालेको प्रतिवद्वता रहेको जनाए ।

एमालेले अबको ५ वर्ष भित्रमा सामुदायिक विद्यालयको शिक्षालाई गुणस्तरीय र प्रविधियुक्त बनाउँदै कक्षा १२ सम्म पूर्णरुपमा निःशुल्क गर्ने, बिर्तामोडमा रहेको सामुदायिक, नीजि र सरकारी स्वास्थ्य संस्थालाई स्वास्थ्यमैत्री ढंगले अघि बढाउने, असाहय नागरिकहरुलाई स्वास्थ्य बीमामार्फत उपचार गराउने, कृषिलाई आधुनिकीकरण गर्दै लैजाने, ३ वटा चिस्यान गृह र माटो परीक्षण प्रयोगशाला स्थापना गर्ने प्रतिवद्वता पत्रमा उल्लेख छ ।

नगर इञ्चार्ज कार्कीले कम्युनिष्ट पार्टीको नेतृत्वमा बनेको सरकारले भ्रष्टचार नगर्ने, सुशासन, पारदर्शिता र जनमुखी सेवालाई अघि बढाउने पनि बताएका छन् । उनले नगरमा भएका भाषा, कला, संस्कार, संस्कृति, साहित्यको विकासको लागि प्रज्ञा प्रतिष्ठान गठन गर्ने, रोजगार सेवा केन्द्र स्थापना गर्ने पनि उद्देश्य रहेको बताएका छन् ।

नगरको भौतिक विकासको लागि एकीकृत गुरुयोजना निर्माण गरेर अघि बढ्ने सुनाउँदै एमाले नेता कार्कीले भने नेकपा एमालेले ५ वर्ष भित्रमा १२५ किलोमिटर सडक कालोपत्रे गर्ने, बाँकीलाई उच्चस्तरीय ग्राभेल, पेवर्स लगाउने, डोमालाल राजवंशी रङ्गशालाको स्तरोन्नति गरी ७ हजार ५०० सीट क्षमताको प्यारापिट निर्माण गर्ने, मदन भण्डारी खेल मैदानलाई क्रिकेट एकाडेमी, फुटवल एकाडेमी सञ्चालन गर्ने लगायतका नगर गौरवका आयोजनाहरुलाई प्रतिवद्वता पत्रमा उल्लेख गरिएको जनाए ।

प्रकाशित मिति : बैशाख २५, २०७९ आईतबार  ९ : २० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]