आज रातिदेखि मौन अवधि सुरु, नाका बन्द हुने
बिर्तामोड । शुक्रबार हुने पालिका चुनावको लागि आज रातिदेखि मौन अवधि सुरु हुने भएको छ । मौन अवधिमा चुनावी प्रचारका कुनै पनि कार्यक्रम गर्न पाइँदैन ।
चुनावी प्रचारको लागि आज मात्रै बाँकी भएकाले दल र उम्मेदवार दौडधुपमा व्यस्त छन् । यस्तै, आज मध्यरातिदेखि नै चीन र भारतसँग जोडिएका सीमा नाका बन्द हुने भएका छन् । राति १२ बजेदेखि मतदान हुने दिन शुक्रवार राति १२ बजेसम्म सीमा नाका बन्द हुने गृह मन्त्रालयले जनाएको छ ।
कुनै देशमा चुनाव हुँदा अन्तर्राष्ट्रिय नियमअनुसार नै सीमा नाका बन्द गर्ने गरिन्छ । चुनावलाई मध्यनजर गरेर सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा गरिएको पनि मन्त्रालयले जनाएको छ । चुनावलाई शान्तिपूर्ण र मर्यादित बनाउन भन्दै आजदेखि जाँडरक्सी बिक्री वितरणमा पनि रोक लगाइएको छ ।