झापामा जेठ ५ गतेभित्र मतगणना सक्ने लक्ष्य
बिर्तामोड । झापाको शिवसताक्षी र गौरीगञ्ज बाहेक १३ वटा स्थानीय तहमा मतगणना जारी रहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । दुई पालिकामा दलहरुकै कारण गणना रोकिएको छ ।
एक टोलीले २४ घण्टामा २ हजारभन्दा बढि मत गणना गरिरहेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले जानकारी दिए । जिल्लामा अहिले ४७ टोलीले मत गणना गरिरहेको छ ।

झापाको १५ स्थानीय तहको मतगणना ५ गतेभित्र सक्ने लक्ष्यसहित काम गरिरहेको नेपालको भनाई छ । उनले गणनामा कुनै पनि अवरोध नभए ५ गतेभित्र सक्ने लक्ष्य रहेको सुनाए । नेपालले भने, कुनै प्राविधिक समस्या आइपरे बढिमा ७ गतेसम्म सक्छौं ।
उनले अब टोली थप गरेर भए पनि गणनालाई तीब्र रुपमा अघि बढाउने तयारी गरेको जानकारी दिएका छन् । आवश्यकतालाई मध्यनजर गरेर टोली दोब्बर बनाउने सकिने नेपालको भनाई छ ।
स्थानीय तहमा जेठ ५ गते जनप्रतिनिधिले कार्यभार सम्हानुपर्ने व्यवस्था भएपनि गणनामा भइरहेको ढिलाईले केहि दिन पालिकाहरु जनप्रतिनिधि विहीन हुने निश्चित भएको छ । प्रमुख नेपाल भन्छन्, सपथ ग्रहण गर्दै गरौला, निर्वाचन हुनुभएको जनप्रतिनिधि काममा लाग्नुहुनेछ । उनका अनुसार स्थानीय तहको कामलाई प्रभावित नहुने गरी वैकल्पिक व्यवस्था गर्न सकिने उनको भनाई छ ।
निर्वाचन कार्यालय झापाका प्रमुख नेपालले दलहरुकै भूमिका कारण मतगणनामा सहजता हुने बताएका छन् । उनले मतदाताले विवेक प्रयोग गरेको मतदानमा दलहरुको गलत दावीले बेलाबखत समस्या आउने गरेको बताए । उनी भन्छन्, सबै मतपत्रमा आफैलाई मत आएको हुनुपर्ने जस्तो व्यवहार देखाइन्छ । त्यो गलत हो ।
गणनाका क्रममा दलहरुको उपस्थितिमा मात्रै सम्पूर्ण काम हुने भएकाले पारदर्शी काममा कर्मचारीले कानुनी मान्यता मात्रै दिने नेपालको भनाई छ ।