बैशाख ४, २०८१ मंगलबार

पर्यटन गन्तव्यमा सम्पन्न शिवसताक्षी : समृद्धिका लागि पर्यटन विकास प्राथमिकतामा

शिवसताक्षी सेरोफेरो

झापाको शिवसताक्षी नगरपालिका एक धार्मिक तथा पर्यटकीय दृष्टिकोणले निकै सम्पन्न नगर हो । यो नगरपालिकामा ३ ओटा प्रमुख पर्यटकीय स्थलहरु रहेका छन् । जसमा सतासीधाम, दोमुखा र चिल्लागढ पर्दछन् । नगरको समृद्धिका लागि नगर भित्रका पर्यटकीय क्षेत्रहरुको जर्गेना गर्नुपर्छ भन्ने कुरालाई आत्मसाथ गर्दै नगरले पर्यटकीय क्षेत्रहरुलाई बिषेश चासोका साथ लिएर गुरुयोजना नै बनाएर अघि बढेको छ ।


शिवसताक्षी नगरपालिकामा नगर भित्रका यी पर्यटकीय स्थलहरुको बारेमा स्थलगत भ्रमण गर्ने हो भने बिकासको दृष्टिकोणले पछिल्लो बर्षहरुको तुलनामा निकै परिर्वतन भएको पाईन्छ । शिवसताक्षी नगरपालिकाले प्रत्येक बर्षको आफ्नो नीति तथा कार्यक्रममा समेटेर अघि बढ्ने गरेको छ । जसको फलस्वरुप नगरका पर्यटकीय क्षेत्रहरुको बिकासमा थप टेवा पुगेको छ । स्थानीय तह गठनसँगै नगरपालिकाको पर्यटकीय क्षेत्रहरुको मुहार फेरिने क्रममा रहेको छ ।

शिवसताक्षी नगरपालिकाले सतासीधाम र चिल्लाहगढलाई त्रिधामको रुपमा अघि बढाएको छ । गुरुयोजना निर्माणका लागि चिल्लाहगढलाई १५ लाख, सताक्षीधामलाई २० लाख र दोमुखालाई पनि २० लाख रुपैँया बजेट छुट्याएको थियो । पहिलो बर्ष नगरले नगर भित्रका पर्यटकीय स्थलहरुका लागि गुरुयोजना मात्र निर्माण गर्ने कार्य गरेको थियो । दोस्रो बर्षमा दोमुखा र सताक्षीधाम धार्मिक तथा पर्यटकिय क्षेत्रको लागि ५०/५० लाख बजेट बिनियोजन गरेको थियो । सो अनुसार धार्मिक तथा पर्यंटकीय स्थलहरुको स्तर उन्नतिको केही काम सम्पन्न भईसकेको छ । धाम जाने बाटोमा ड्रेन निर्माण र टायल ओछ्याउने कार्य भएको छ । सोही क्षेत्रमा ४० घनको गोवर ग्यास निर्माण गरेको छ ।


बुद्धपार्क जाने बाटोमा प्रदेश सरकारको सहयोगमा ट्रस्ट ब्रिज समेत निर्माण गरिएको छ । यस बर्ष पनि सताक्षीधामको लागि ४० लाख बजेट बिनियोजन गरिएको छ । त्यस्तै दोमुखालाई पहिलो बर्ष ५० र दोस्रो बर्ष ५० लाख रुपैँया बजेट छुट्याएको थियो । र गुरु योजनामा भएका योजनाहरुको काम थालनी गरिएको छ । चिल्लाहगढ धामको जग्गा अतिक्रमण र संरचनाहरु जोगाई राख्न घेराबाराको काम सम्पन्न भईसकेको छ । जसका लागि नगरले १५ लाख रुपैँया बजेट बिनियोजन गरेको थियो ।

सताक्षीधाम
सतासीधाम शिवसताक्षी नगरपालिकामा पर्ने एक धार्मिक तथा पर्यटकीय गन्तव्यको सम्भावना बोकेको स्थल हो । पूर्व पश्चिम राजमार्गदेखी ५ किलोमिटर उत्तर चुरे पहाडको फेदिमा ईलामको सिमानासँग जोडिएको यस स्थानमा रहेका प्राकृतिक स्वरुपका मुर्तीहरु, भित्ताहरुमा रहेका गाईका थुन् आकारका प्रतिकहरु, झर्ना पुग्नु अघिको एक स्थानको विच भागमा करिव ३० मिटर मात्र निस्कने गन्धक पानी, फेदीमा रहेका अन्य मुर्तीहरुले पनि यो स्थान धार्मिक तथा पर्यटकीय स्थलको दृष्टिकोणले महत्वपूर्ण देखिन्छ । सतासीधाम विकास समितिले दैनिक १ हजार पर्यटन भित्र्याउने लक्ष्य लिएको छ । समितिका अध्यक्ष नन्दकीशोर भारध्वज बताउनुहुन्छ ।

सतासीधाममा प्रत्येक वर्ष बालाचर्तुदशीका दिन सत बिज छर्नका लागि देश तथा विदेशका विभिन्न स्थानबाट दर्शनार्थीहरुको घुईचो लाग्ने गर्दछ । हाल बिजुली बत्ती पुगेको र सडकको सुविधाले पर्यटकहरु बढ्दै गएको समितिको भनाई छ । पर्यटनको आवागमन बढाउन सतासीधाममा थप प्रचारप्रसाको कमि भएको छ । विभिन्न ऐतिहासिक महत्व बोकेको सतासीधामलाई एक पवित्र धार्मिक स्थलको रुपमा लिईने गरिन्छ ।

नगरको एक धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवल सम्भावना बोकेको सतासीधामको पूर्वाधार विकासको शिवसताक्षी नगरपालिकाले डिआरपी नै तयार गरी धाम बिकासको लागि कार्य अघि बढाएको छ । उचित संरक्षण र प्रवद्र्र्धन हुन सके झापाको एक महत्वपूर्ण पर्यटकीय क्षेत्रका रुपमा सतासीधामको विकास हुन सक्छ । झापाको ऐतिहासिक धार्मिक पर्यटकीय क्षेत्र सताक्षीधाममा विद्युत पुगेको छ । सतासीधाम शिवसताक्षी नगरपालिकामा पर्ने एक धार्मिक तथा पर्यटकीय गन्तव्यको सम्भावना बोकेको स्थल हो ।

पूर्व पश्चिम राजमार्गदेखी ५ किलोमीटर उत्तर चुरे पहाडको फेदीमा ईलामको सिमानासँग जोडिएको यस क्षेत्रमा पर्ने ऐतिहासिक क्षेत्र भएर पनि ओझेलमा परेको थियो । यस धार्मिक क्षेत्रमा विद्युत तथा स्वच्छ खानेपानीको अभाव रहँदा उक्त धार्मिक स्थलमा नियमित रुपमा बसोबास गर्दै आइरहेका झन्डै सय जना साधु सन्त, करिब ४० घरपरिवार र एउटा आवासीय गुरुकुल विद्यालयका विद्यार्थीहरु समेत कष्टकर जीवनयापन गर्दै आईरहेका थिए । बर्षेनी यस क्षेत्रमा आउने पर्यटकहरुले सास्ती खेप्दै आउनु परेको थियो ।

तर, गत बर्षको असोज ७ गते उक्त पर्यटकीय क्षेत्रमा नेपाल विद्युत प्राधिकरणको २७ लाखको बजेटमा विद्युत विस्तार गरिएको थियो । विषेश कार्यक्रमका विच सो विद्युतको प्रतिनिधी सभाका सांसद एलपी साँवा लिम्बु, प्रदेशसभा सदस्य हिरा थापा, झलक सिहं दर्लामी, शिवसताक्षी नगरपालिका प्रमुख चन्द्र कुमार शेर्मा लगायतले सतासीधाम क्षेत्रमा रहेको बल्भको स्विच अन गरेर विद्युत उद्धघाटन गर्नु भएको थियो ।
दोमुखामा चिल्ड्रेन पार्क
पूर्वको प्रसिद्ध पर्यटकीयस्थल शिवसताक्षीस्थित दोमुखामा थप आकर्षणका रूपमा रहेको बाल उद्यानको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । प्राकृतिक दृश्यको अवलोकन गर्नका लागि मानिसको भीड लाग्ने गरेको यस पर्यटकीयस्थलमा बाल उद्यानले पर्यटन प्रवद्र्धनमा समेत थप टेवा पुग्ने विश्वास गरिएको छ । पवित्र कनकाई नदीको किनार साथै चुरे पहाडको काखैमा रहेको यो पर्यटकीय क्षेत्र झापाको शिवसताक्षी नगरपालिकास्थित वडा नं १० मा पर्दछ । गौरवका योजनामध्येको एक मानिने दोमुखा क्षेत्रको बाल उद्यान एक बिघा क्षेत्रफलमा फैलिएको छ ।

दोमुखा क्षेत्रमा निर्माण भएको बालमैत्री उद्यानभित्र बालबालिकालाई लक्षित गरेर व्यवस्थापन गरिएका मनोरञ्जनात्मक विभिन्न किसिमका खेल, पानीको झरनासहितको आकर्षक फूलबारी, प्रतीक्षालयलगायतका आकर्षण रहने निर्माण समितिका अध्यक्ष लावतीले बताउनुभयो । धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास निर्माण साथै यसको संरक्षण सम्वद्र्धनमा निरन्तररूपमा हाल तेस्रो कार्यकालको नेतृत्व तहमा रहेर कार्यसम्पादन गर्दै आउनुभएका लावतीले बाल उद्यानसँगै दोमुखामा आकर्षक ‘वाटर पार्क’ निर्माण गर्ने गुरुयोजना रहेको जानकारी दिनुभयो ।

उद्यान निर्माणका लागि आव २०७५÷०७६ मा नगरबाट रु ५० लाख र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय प्रदेश नं १ बाट रु ५० लाख गरी एक करोडको लागतमा पहिलो चरणको काम सम्पन्न भएको बताइएको छ । आव २०७६÷०७७ मा समेत स्थानीय तहबाट रु ४० लाख, प्रदेश सरकारबाट रु ५० लाखका साथै संघीय सरकारबाट रु ४० लाख गरी जम्मा एक करोड ३० लाख रकम विनियोजन भइसकेको छ ।
जनप्रतिनिधिको सहयोगका कारण पर्यटकीय क्षेत्र दोमुखाले मुहार फेर्न थालेको भन्दै स्थानीयवासी समध्वज कार्कीले खुशी व्यक्त गर्नुभयो । लामो समयदेखि जनप्रतिनिधिविहीन बनेको मुलुकमा जनप्रतिनिधिले नेतृत्व सम्हालेसँगै विकास निर्माणले तीव्र गति लिएके र जीर्ण बन्दै गएका सार्वजनिक सम्पत्तिको संरक्षण एवं पुनःनिर्माण हुँदै गएको बताइएको छ ।

चिल्लागढ धाम
शिवसताक्षी नगरपालिका वडा नम्बर ८ मा अवस्थित चिल्लागढ ऐतिहासिक तथा धार्मिक स्थलको रुपमा परिचित छ । पूर्व–पश्चिम लोकमार्गबाट २.५ कि.मि दक्षिण तथा कनकाई नदीको पश्चिम किनारमा रहेको चिल्लागढ धामको ऐतिहासिक पृष्ठभूमिका सम्बन्धमा पौराणिक ग्रन्थ महाभारतमा वर्णन भएको छ ।

चिल्लागढ धामबाहेक सम्पूर्ण आर्य ग्रन्थहरुमा यतिठूलो क्षेत्रफलको यज्ञ स्थल एवम् यज्ञ कुण्डको वर्णन गरेको पाईदैन । त्यसबेला यज्ञको समयमा यज्ञादि कर्ममा सहभागी ब्राह्मण, ब्राह्मण, ऋषि, महर्षि एवम् अतिथिको भोजनको व्यवस्थाका लागि यस यज्ञ कुण्डको ठिक पाँच सय मिटर दक्षिणपट्टि यज्ञस्थलको दक्षिण पूर्वको कुण्डबाट आवागमनद्वार खडा गरी भोजनालयको व्यवस्था मिलाइएको थियो । त्यो भोजनालयलाई हाँडीगढ नामले चिनिन्थ्यो । यो भोजनालयको नजिक एउटा १० मिटर चौडा, ३०मिटर लम्बाई भएको पोखरी थियो ।

पोखरी चाहिँ त्यस यज्ञको समयमा आवश्यक भाडाँवर्तन र भोजनका लागि चाहिने भोजन वर्तन तयार गर्न कुम्हालेहरु झिकाई यहीँको माटोबाट तयार पारको थियो । कालान्तरमा गई पानी भरिएर पोखरी बनेको र हाल यो ठाउँ कनकाई नदीको कटानले कुनै अवशेष नरहेको अवस्था छ ।

यस चिल्लागढ धाम यज्ञको समयमा देवीदेवताको भजनकीर्तनको पनि व्यवस्था रहेको हुनाले भजनकीर्तमा सहभागी भक्तजन कलाकारको बसोबासको व्यवस्थाका लागि यस यज्ञ स्थलबाट १.५ कि.मि. पूर्व हाल कनकाई नदीको दक्षिण–पूर्वी किनारमा व्यवस्था मिलाइएको थियो । यो ठाउँलाई बेनु बाजा नामले सम्बोधन गरिन्छ । पाँच पाण्डवले आचार्य धौम्यजीको आचार्यत्वमा एक महिनासम्म हजारौँ ब्राह्मण, ऋषि, महर्षि एवम् कलाकारकको साथमा यज्ञ गरेका थिए ।
यज्ञको समापनपछि यज्ञमा प्रयोग भएका सम्पूर्ण सामग्रीको व्यवस्थापनका लागि गुरु धौम्यजीमा टक्र्याउँदै आफूहरु चाहिँ उत्तरतर्फ सताक्षी देवीको आराधना गर्दै एक वर्षको गुप्तबासका लागि विराटराजा कहाँ विराटनगर तर्फ लागे । र, गुरु धौम्यजी पनि यज्ञ सामग्री व्यवस्थापन गरी हस्तिनापूरतर्फ लाग्नुभयो भन्ने कथन पाइन्छ ।

यस पवित्र तीर्थस्थलको नामाकरणको सन्दर्भमा अध्ययन गर्दा यस चिल्लागढ धाम यज्ञ भूमिका बारेमा कौरवहरुले कुनै पनि प्रमाण फेला नपारुन् भन्ने उद्देश्यले गुरु धौम्यजीले सूर्यको तपश्यागरी सूर्यदेवलाई जलार्पण गरिएको सूर्य कुण्डको रुपमा नामाकरण गरी यज्ञको गोपनीयता नखुलोस् भनी महाभारत ग्रन्थ ‘सूर्यकुण्ड’ नामले सम्बोधन गरिएको र ठाउँठेगाना समेत प्रष्ट नखुलाएको सन्दर्भ प्रष्टसँग बुझ्न सकिन्छ ।

चिल्लागढ धाम प्राचीन धरोहर हो । जहाँ पाँच पाण्डवले आफ्नो बाह्र वर्षको वनबासको समयलाई यसै काम्यक वन क्षेत्रको सेरोफेरोमा व्यतित गरेका थिए । र, उनीहरुले सताक्षी देवीको आराधनाका साथै देवदेवीहरुसँग सत्यको विजयखातिर शक्ति मागी विशाल यज्ञ गरेका थिए । पावन यज्ञभूमि घनघोर जंगलमा परिणत भयो । हजारौँ वर्षहरु बित्दै जाँदा करिब पाँच हजार वर्षपछाडि मात्र यहाँ पुनः मानव वस्तीको विकास क्रम सुरु भएको पाइन्छ ।
मावन बस्ती बस्ने क्रममा भारोपेली भाषा परिवारभित्रका भारत भूमिबाट आएका जातिहरुको बसोबास रहेका थियो । ति जातिका मानिसको शैक्षिक अवस्था कमजोर रहेको र यसको ऐतिहासिक तथ्यलाई बुझ्न नसकी त्यताकाको उक्त स्थानको वनमा विभिन्न प्रजातिका चराहरुको ठूलो संख्यामा बसोबास भएको देखि ‘चिल्ला गढ’ भनी नामाकरण गरेकाले आजसम्म पनि यस स्थानलाई चिल्लागढ धाम नामले चिन्ने गरिन्छ ।

चिल्लागढ धामको नाम चिल्लागढ धाम रहन गएको आज १ सय वर्ष हुन लागेको कुरा इतिहासले यसरी पुष्टि गरको पाइन्छ । यो धाम घना जंगलले ढाकिएको थियो । तर, यसको दक्षिण १.५ किमि दूरीको ब्याङ्डाँडा र पाँच किमि दूरीको चन्द्रडाँगी, सात किमि दूरीको शिवगञ्जजस्ता पुराना ठाउँहरुमा विक्रम सम्वत १९७०÷०७५ देखि मानिसको बसोबास सुरु भएको देखिन्छ । यी पुराना बस्तीमा बसोबास गर्ने मानिस सबै राजवंशी (ताजपुरिया) माझी र थोरै संख्यामा सन्थाल जाति पान्छन् ।
औंशीपक्षमा यज्ञकुण्डको पानी र कनकाई माईको पानी पनि यसरी भूमरी परी एकैसाथ पड्किएमा ठूलो विपत्ति, खडेरी, भलबाढी आउँछ र महामारी चल्छ भनी यसका विशेषताहरु बताउँदै आएको पाइन्थ्यो । २०४०/०४१ साल ताका पनि यसरी कनकाईमाई र यज्ञकुण्डको पानी पड्किएको आवाज धेरै मानिसले सुनेको र भोगेको समेत पाइन्छ । हाल २५/३० वर्षयता यो आवाज सुन्न पाइएको छैन ।
यसरी यस यज्ञ क्षेत्रको सानिध्यका ठाउँहरु ब्याङ्डाँडा, चन्द्रडागी, शिवगञ्ज क्षेत्रमा बसोबास गर्ने प्राचिन समाजका मानिस प्रायः भारोपेली भाषा परिवारभित्रको ताजपुरिया भाषा बोल्ने राजवंशी जाति, माझी भाषा बोल्ने माझी जाति र सन्थाल भाषा बोल्ने सन्थालहरुमात्र रहेका थिए । उनीहरुले एकआपसमा सम्पर्क भाषाको रुपमा हिन्दी भाषाको प्रयोग गर्ने गरेका थिए । यिनै जातिका मानिसको मात्र बसोबासको रहेको हुँदा यिनिहरु प्रायः शिकार खेल्ने गर्दथे ।

यस धामको परिसरमा शिकार खेल्न र आफ्ना पशुचरणका लागि ल्याउने लाने क्रममा बढी आवतजावत गर्ने हुनाले यहाँ चराहरु बिहान, बेलुका, साँझ पख ठूलो आवाजले कराउने पानी पनि तोप पड्किएझैं पढ्किने सधैँ होहल्ला र गुञ्जयमान हुने हुनाले चराको सुरक्षित बासस्थान रहेको थियो । चारकिल्ला घेरिएको सुरक्षित गढकिल्ला भएकाले सबैले यसलाई चिल्लागढ धाम नाम शब्दले सम्बोधन गर्दै आए ।

भाषाविद् डा. रामप्रसाद पोखरेलले लेख्नुभएको ‘राष्ट्र भाषा’ भन्ने पुस्तकका अनुसार भारत वर्षका भाषा परिवार भित्र पर्ने ताजपुरिया भाषामा ‘चिल्ल’ भनेको चरो र ‘चिल्ला’ भन्नाले चिल्लको बहुबचन धेरै चराहरु भन्ने हो । यसरी सन्थाल भाषामा पनि चिल्लाको अर्थ चराहरु र गढ भन्नाले धेरै चराहरुको बसोबास भएको एउटा सुरक्षित किल्ला ‘चिल्लागढ’ भन्ने शब्दलाई प्रष्टसँग पुष्टि गर्न सकिन्छ ।

धामको चारैतिर रहेको वेदीको क्षेत्रभित्र २६ बिघा र यज्ञकुण्डले ओगटेको १ बिघा क्षेत्रफल रहेको छ । हाल यस धामको स्वामित्वमा यज्ञकुण्ड र बाहिरी क्षेत्रफल समेत गरी तीन बिघा क्षेत्रफलको जमिन रहेको छ । ऐतिहासिक र धार्मिक तथा पुरातात्विक महत्व बोकेको यो पवित्र यज्ञ भूमि भएर पनि स्थानीय जनताको पहल र पहुँचको कमी, आर्थिक विपन्नता र राज्यको तर्फबाट उचित ध्यान दिन नसक्दा यसको महत्व र महिमा ओझेलमा पर्न गएको हो ।

यसको संरक्षण र विकास गरी देशकै पवित्र धार्मिक तथा ऐतिहासिक धरोहरका रुपमा स्थापित गर्न स्थानीय जनसमुदायको पहलमा गुरुयोजना निर्माण गर्ने कार्य भएको छ । धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्वको चिल्लागढको संरक्षण र विकास गरी भावि पुस्तासम्म हस्तान्तरण गर्न सक्ने बनाउन आवश्यक छ ।
विकासको बिकास, संरक्षण तथा प्रचाप्रसारका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय नगर सरकारले ध्यान दिए पूर्व नेपालको एक धार्मिक पर्यटकीय गन्तव्य हुन सक्दछ । धाम परिसरमा भगवती माता मन्दिर, शिवालय, माङ्हिम किराँतेश्वर मन्दिर र दुर्गा मन्दिर गरी चार वटा मन्दिरहरु रहेका छन् ।

धामको गुरुयोजना
धामको स्वामित्वमा हाल परिसर वरिपरि तीन बिघा क्षेत्रफल जमिन रहेको छ । धामको विकास निर्माण एवम् संरक्षणका लागि गुरुयोजना अन्तरगत धाम परिसर वरिपरि रिङ रोड निर्माण र्गो र पक्की पर्खाल निर्माण गर्ने योजना रहेको छ । यसैगरी गुरुकुल शिक्षाको लागि विद्यालय भवन निर्माण, धामको चारै दिशामा प्रवेशद्वार निर्माण, आश्रम गृहको निर्माण गरिनेछ ।
चिल्लागढ धाम पाँचपाण्डवको यज्ञस्थल भएकाले पाँच पाण्डवको सालिक निमार्ण गरिने गुरु योजनामा उल्लेख छ । धाम परिसरमा धार्मिक वन बाटिका निर्माण र यज्ञ कुण्डको भित्रीभागमा चौतर्फी इटाको सिंडी आकारमा पर्खाल निर्माण गरिने योजना छ ।

धामको भगवतीमाता मन्दिर, शिवालय मन्दिर, दुर्गा मन्दिर र माङ्हिम किरातेश्वर मन्दिरको पुननिर्माण गरिने भएको छ । यज्ञ मण्डप तथा सभाहल, धाम वरिपरि फूलवारी, यात्रु विश्रा गृहको निर्माण गरिने छ । शौचालय एवम् स्नान घर, गौशाला, छात्रावास, जातजातिका परम्परागत बाजागाजा, भेशभूषा आदिको संग्राहलयको स्थापना गरिने योजना उल्लेख छ ।
जातजातिका भाषभाषी विशेषता धार्मिक सास्कृतिक एवम् ऐतिहासिक, पौराणिक ग्रन्थ तथा पाठ्यपुस्तकको पुस्तकालयको निर्माण, अथिति आवास गृह एवम् भोजनालय, धाम परिसर भित्र विधुत तथा खाने पानीको उचित प्रवन्ध मिलाउने । धाम व्यवस्थापन, संरक्षण र परिचालनका लागि सन्त आश्रमको निर्माण गरिने छ ।

लोकमार्ग देखि धाम जोड्ने पक्की सडकको निर्माण गरिने उल्लेख छ । धामदेखि पूर्व कन्काई नदीसम्म पक्कीसडक साथै नदीकिनारमा भगवती मन्दिर निर्माण गरिने छ । धाम परिसर बाहिरपट्टि पूर्व कन्काईमाइ नदी आसपास वनभोज स्थल तथा मनोरञ्जनात्मक वस्तुहरु सहितको स्थलको व्यवस्था गरिने छ । धामका चारैतर्फका प्रवेशद्वारमा पक्की सडकको निर्माण गरिने छ ।

जीवनसिंह राजवंशी

प्रकाशित मिति : भाद्र १८, २०७६ बुधबार  ९ : २६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]