मेचीनगरमा एमालेको ‘कमब्याक’
बिर्तामोड । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको गृह नगरमा नेकपा एमाले भारी मतान्तरसहित विजयी भएको छ । मेचीनगर नगरपालिकाको प्रमुख पदको उम्मेद्वार एमालेका गोपाल चन्द्र बुढाथोकी भारीमतका साथ निर्वाचित भएका हुन् ।
मंगलबार विहान ६ वजे निर्वाचन अधिकृतको कार्यालय मेचीनगरले दिएको जानकारी अनुसार नगरको प्रमुख पदमा बुढाथोकी ५ हजार १६७ मतको अन्तरले विजयी भएका हुन् । उनका प्रतिस्पर्धी गठबन्धनबाट कांग्रेसको तर्फका इन्द्रबहादुर बुढाथोकीले २१ हजार ३११ मत मात्र प्राप्त गरेका छन् ।

नगरप्रमुखमा वजयी बुढोथोकीले २६ हजार ४७८ मत ल्याएको निर्वाचन कार्यालयले जनाएको छ । मेचीनगरमा कुल ६३ हजार ६८८ मत खसेको थियो ।
त्यस्तै राप्रपाका रमेश दाहालले ३ हजार ८९५, मंगोल नेशनल अग्रनाइजेशनको भाले चिन्हले १ हजार ८८७, साइकल चिन्हले १९१ मत ल्याएको निर्वाचन कार्यालयले जनाएको छ ।
यता, नगरको उपप्रमुखमा मिना पोखरेल उप्रेती पनि भारिमतका साथ विजयी भइन् । उनले ८ हजार ७७२ मतको अन्तरले प्रतिसपर्धिलाई हराउदै विजयी भइन् । उनले २१ हजार ५९० मत ल्याएकी थिइन् ।
उनका प्रतिस्पर्धीहरु गठबन्धनको माओवादी केन्द्रका प्रकाश भण्डारीले १२ हजार ८१८, राप्रपाकी सविना बजगाईले ९ हजार ८८०, स्वतन्त्रबाट उम्मेद्वार बनेका डिल्लीराम घिमिरेले पानीको धारा चिन्हबाट १ हजार १९९, मंगोल नेशनल अग्रनाइजेशनको भाले चिन्हले २ हजार २४ मत ल्याएको निर्वाचन कार्यालयले जनाएको छ । लामो समय एमालेले नेतृत्व गरेको मेचीनगरमा गत निर्वाचनमा नेपाली कांग्रेसका उम्मेद्वार विमल आचार्य निर्वाचित भएका थिए । बैशाख ३० को निर्वाचनबाट एमालेले फेरि आफ्नो विरासत जोगाएको छ ।
सो नगरपालिकामा उम्मेद्वारीको सन्दर्भमा केशव पाण्डे र इन्द्र बुढाथोकी बिच विवाद भएको थियो । जिल्लामै एउटा मात्रै टिकट पाएको शर्मा खेमाले पराजय व्यहोर्नु परेको छ ।