झापामा १३१ वडाध्यक्ष : एमाले ६१, कांग्रेस माओवादी ५८
बिर्तामोड । आज विहान मेचीनगरको मतगणना सकिएसँगै झापाको १५ पालिकाको मतपरिणाम आइसकेको छ । सबैभन्दा पहिले कनकाई नगरपालिकाको मतगणना सकिएको थियो । अन्तिममा गणना सम्पन्न गर्ने पालिकामा मेचीनगर परेको छ ।
झापाको १५ पालिका र १३१ वडाको मत गणना सम्पन्न हुँदा एमालेले वर्चश्व हासिल गरेको छ । झापामा एमाले विरुद्ध गरिएको गठबन्धनले एमालेलाई संख्यात्मक हिसावले कतै तलमाथि गर्न नसकेको तथ्याङकले देखाएको छ ।

०७४ को निर्वाचनमा एमालेले एक्कलै ७ पालिका जितको थियो । नेपाली कांग्रेसले ५ र राप्रपाले ३ वटा पालिका जितेका थिए । सो निर्वाचनमा एमालेले प्राप्त गरेको बहुमतलाई हालै सम्पन्न निर्वाचनबाट पनि जोगाएको छ ।
बैखाश ३० गते सम्पन्न निर्वाचनबाट एमालेले केहि पालिका गुमाए पनि संख्यात्मक हिसाव हेर्दा एमाले नै बहुमतमा छ । ०७४ को निर्वाचनमा एमालेले ७ पालिका जितेको थियो । भर्खरै सम्पन्न निर्वाचनबाट एमालेले ७ वटा पालिकामा जितेको छ भने १३१ वडामा कांग्रेस,माओवादीले जितेको जोड्दा पनि एमाले बराबर नपुग्ने देखिन्छ ।
हालै सम्पन्न मतपरिणाम अनुसार एमालेले ६१, कांग्रेस ५१, माओवादी ७, राप्रपा ७ नेकपा एस १ र स्वतन्त्रबाट ४ जनाले वडाध्यक्ष जितेका छन् । यो परिणाम हेर्दा कांग्रेस, माओवादी भन्दा एमाले नै अगाडि छ ।
अघिल्लो निर्वाचनमा बहुमत प्राप्त गरेकै कारण जिसस बनाएको एमालेले यसपटक पनि जिसस बनाउने गरी बहुमत प्राप्त गरेको छ । प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षमा एमालेको संख्या १७ , कांग्रेस ९ र राप्रपा ४ रहेको छ ।