बिर्तामोडका समस्या जनप्रतिनिधिलाई अवगत गराइयो
बिर्तामोड । बिर्तामोड नगरपालिकाले नगरक्षेत्रभित्र रहेका सरोकारवाला कार्यालय तथा संघ संस्थाका प्रमखहरुसँग शुक्रवार छलफल गरेको छ ।
नगरप्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला र प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले बिर्तामोडमा रहेका समस्या र समाधानको उपायका विषयमा छलफल गरेका हुन् ।
कार्यक्रममा बोल्दै नेपाल टेलिकम बिर्तामोड शाखाका प्रमुख सुमित थापाले टेलिकमका अप्टीकल फाइबर तारहरु चोरी हुने क्रम बढ्दै गएको बताए । उनले पछिल्लो एक महिना भित्रमा ७ स्थानबाट टेलिकमको तार चोरी हुँदा सेवा अवरुद्व हुनुकासाथै ठुलो नोक्सानी भएको जानकारी दिए । यस्तै उनले इन्टरनेट सेवा प्रदायक संस्थाहरुले विद्युत तथा टेलिकमका पोलमा आफुखुशी राखेका तारहरु हटाउनु पर्नेमा जोडदिए ।

यस्तै, नेपाल विद्युत प्राधिकरण अनारमनीका प्रमुख सुधिरकुमार रायले सडक बिस्तार तथा निर्माण गर्दा त्यसभित्र परेका विद्युतका पोलहरु सार्नु पर्ने र त्यसका लागि पूर्व जानकारी नहुँदा बजेट अभावकाकारण समस्या भएको बताए । यस्तै उनले पोल स्थाननान्तरण गर्दा प्रक्रिया लामो तथा झञ्जटिलो हुने भएकोले त्यसको प्रकृयालाई छोटो बनाउनु पर्नेमा जोड दिए ।
छलफल कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी रुगमबहादुर कुँवरले बिर्तामोडमा ९६ वटा सीसी क्यामेरा जडान भए पनि गुणस्तरीय कुनै पनि नरहेको बनाएका छन् । बिर्तामोडमा बाइक चोरीका घटना बढेको भन्दै उनले मुख्य सडकको प्रवेशद्वारमा समेत सीसी क्यामेरा अनिवार्य जडान गर्नु पर्ने बताए । सम्भव भएसम्म नाइटभिजन क्यामेरा जडान गर्नु पर्नेमा उनको जोड थियो । सिमित जनशक्ति र सवारी साधन बावजूत पनि प्रहरीले काम गरिरहेको भन्दै उनले बिर्तामोडमा लागुऔषधका घटनामा समेत वृद्विहुँदै गएकाले यसको न्यूनिकरणको लागि विभिन्न कार्यक्रमहरु ल्याउनु पर्ने बताएका छन् ।
यस्तै, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख अशोककुमार जवेगुले बिर्तामोडमा पार्किङको अभाव रहेकोले यसको व्यवस्थापन गर्नु पर्ने बताए । उनले सडकमा जडान गरिएका सीसी क्यामेरा कमसल भएकै कारण दुर्घटना गराउने व्याक्तिको पहिचान गर्न गाह्रो भएको बताएका छन् । प्रमुख जवेगुले सडक व्यक्ति मर्मत तथा जडान गर्नु पर्ने, दुर्घटना न्यूनिकरणका लागि सचेतना कार्यक्रम ल्याउनु पर्ने, फुटपाथ व्यवसायको व्यवस्थापन गर्नु पर्ने जस्ता समस्याका बारेमा अवगत गराएका थिए ।
जिल्ला साकोस संघका सचिव यामकुमार चुँडालले सहकारीको माध्यमबाट किसानहरुलाई कम व्याजदरमा क्रण उपलव्ध गराउनु पर्ने लगायत सहकारीको माध्यमबाट गर्न सकिने ठोस योजनाहरु बनाउनु पर्नेमा जोड दिए । छलफलमा कृषि सामाग्री कम्पनी, साल्ड ट्रेडिङ,प्यावसन, एन प्यावसन, मेची यातायात व्यवस्था कार्यालय लगायतका प्रमुख, प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।
छलफलमा सहभागिहरुलाई धन्यवाद दिँदै नगरप्रमुख प्रसाईले समस्या समाधानका लागि नगरपालिका गम्भिर रहेको बताए । उनले सरोकारवालाहरुको उपयुक्त सल्लाह सुझावका आधारमा आगामी आर्थिक वर्ष २०७९÷८० का लागि नगरपालिकाको नीति तथा कार्यक्रम निर्माण गरिने बताइन् ।