झापा इनर्जीद्वारा बैशाख ७ गतेभित्र पहिलो किस्ता शेयर जम्मा गर्न आग्रह
बिर्तामोड । सोलारबाट विधुत् उत्पादनमा सक्रिय झापा इनर्जी लिमिटेडले २०७६ बैशाख ७ गतेभित्र पहिलो किस्ता शेयर जम्मा गरिसक्न सबै इच्छुकलाई आग्रह गरेको छ ।
बुधबार झापाको विर्तामोडमा भएको कम्पनीको बैठकले वैशाख ७ गते भित्र पहिलो किस्ता र त्यसपछि दोस्रो किस्ता शेयर रकम जम्मा गर्ने निर्णय गरेको सञ्चालक समिति अध्यक्ष एलपी साँवा लिम्वुले जानकारी दिए । कम्पनी अध्यक्ष एवम् प्रतिनिधिसभाका सांसद लिम्वुले पहिलो किस्ता शेयर रकम बैशाख ७ गतेभित्र जम्मा गरिसक्न आग्रह गरिएको बताउँदै भन्नुभयो, यो झापाको गौरवको आयोजना हो ।
झापा इनर्जी लिमिटेडले सरकारको सुखी नेपाली, समृद्ध नेपाल अभियानलाई सहयोग पु¥याउने उद्धेश्यले १० मेगावाटको सोलार विजुली उत्पादन गर्ने कामलाई तीब्रता दिएको हो । लगभग ८८ करोड रुपैयाँमा निर्माण हुने १० मेगावाट विजुली उत्पादका लागि परियोजनाको सहकार्य कोरियन कम्पनी एन.के. सोलारसँग भइसकेको अध्यक्ष साँवाले जानकारी दिए । देशविदेशमा रहेका अधिकांश झापाली नागरिकले परियोजनाबाट फाइदा लिन सकुन भन्ने उद्धेश्यले झापा इनर्जीले झापाका सबै स्थानीय तह र राजधानी काठमाडौंसहित युरोप तथा इजरायलमा पनि परियोजना संयोजनकर्ताको समुह नै निर्माण गरेको छ । झापा इनर्जीले शिवसताक्षी नगरपालिकाको बुल्लुचोकमा परियोजना सञ्चालनका लागि करिव ३० विगाह जग्गाको समेत व्यवस्था गरिसकेको स्थानीय क्षेत्र संयोजन समितिका सहसंयोजक नारायणप्रसाद पोखरेलले जानकारी दिएका छन् ।
२०७६ वैशाख ७ गतेसम्ममा लगानीको २५ प्रतिशत जम्मा गरेपछि परियोजना सम्पन्न हुने एक वर्षभित्र कवोल गरेको रकम जम्मा गर्न सकिने गरी व्यवस्थापन गरिरहेका छौं, लिमिटेडका सञ्चालक ज्ञानुराम प्रसाईंले भने, यो परियोजनाबाट वार्षिक खुद नाफा ११ करोड रुपैयाँ हुनसक्ने हाम्रोे अनुमान छ । झापा इनर्जी लिमिटेडले इच्छुक सबैलाई सानिमा बैंक र एक्सल डेभलपमेन्ट बैंकमा रहेको कम्पनीको खातामा शेयर रकम जम्मा गर्न आग्रह गरेको छ ।