बिर्तामोडमा दर्ता शिविर सुरु
बिर्तामोड । बिर्तामोड नगरपालिकामा दर्ता शिविर सुरु भएको छ । वडा नम्बर १ को किरात याक्थुङ चुम्लुङ जिल्ला कार्यसमितिको कार्यालयमा बुधबार आयोजित कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले निस्सा प्रदान गरेर शिविरको उद्घाटन गरे ।

वडाध्यक्ष अग्नीप्रसाद पाण्डेको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा विवाह दर्ता र बसाईसराईको निस्सा वितरण गरिएको थियो । चन्द्रप्रसाद ढकाल र निशा खड्काको विवाह दर्ता र ओमबहादुर लिम्बुको बसाईसराईको सूचना फारमको निस्सा प्रमुख प्रशासकीय अधिकृत न्यौपाने र वडाध्यक्ष पाण्डेले संयुक्तरुपमा हस्तान्तरण गरेका थिए ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले राज्यले आफ्ना नागरिकहरुको अवस्था बुझ्न र अभिलेख राख्नका लागि यो दर्ता शिविरको आयोजना गरेकोले आवश्यक सबैले लाभलिन आग्रह गरेका छन । आफ्ना घर गाउँमै अभियान आएकोले आफु गर्न र अरुलाई पनि खबर गर्न आवश्यक रहेको भन्दै उनले कोहि पनि सेवाबाट छुट्न नहुनेमा जोड दिए । यस्तै, कार्यक्रममा बोल्दै वडाध्यक्ष अग्निप्रसाद पाण्डेले उपलव्धीमुलक अभियानकारुपमा शिविरको आयोजना गरिएकोले सबैले घटना दर्ता गर्न आग्रह गरेका छन् ।
शिविरमा व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा भक्ता दर्ता र गुनासो समेत दर्ता गर्न सकिने छ । शिविर असार १५ गतेसम्म तालिका अनुसार नगरका सबै वडामा सञ्चालन हुने छ । प्रत्येक वडाका विभिन्न स्थानमा ३ दिनसम्म शिविर सञ्चालन हुने र वडा नम्बर १ मा जेष्ठ २५,२६ र २७ गतेसम्म अतिथि सदन,सूर्यनगर कालिमन्दिर र किरात याक्थुङ चुम्लुङको कार्यालयमा शिविर सञ्चालन हुने नगरपालिकाले जनाएको छ ।