बैशाख १९, २०८१ बुधबार

पूर्वाधार विकासमा सफल अर्जुनधारा

अर्जुनधारा सेरोफेरो
अर्जुनधारा नगरपालिकामा जनप्रतिनिधिले बिकासको बागडोर समालेपछि उल्लेख्य प्रगति हासिल गरेको छ । शिक्षा, स्वास्थ्य, कृषि र भौतिक पूर्वाधारलाई मुख्य प्राथमिकतामा राखेर काम गरेको नगरपालिकाले नगरवासीले महसुस गर्ने अवस्था निर्माण गर्न सफल भएको दावी गरेको छ ।

प्रत्येक बर्ष वडागत रुपमा गुनासो सुन्दै सोही अनुसार नीति तथा कार्यक्रम निर्माण र कार्यान्वयनमा लागेको नगरपालिकाले जनहितको काममा कन्जुस्याई नगरेको स्थानीयको भनाई छ । बिगत ५ बर्षको अवधिमा नगरपालिकाले ११६ वटा पुल, ३०० जोर ह्युमपाइप, ३ सय किमि सडक ग्राभेल, नगरको लगानीमा २५ किमि सडक कालोपत्रे गरेको छ ।

यतिबेला नगर गौरवको आयोजनाको रुपमा रहेको शनिश्चरे बजार व्यवस्थापनको काम धमाधम भइरहेको उनको भनाई छ । यस्तै, सागसब्जी र माछामासुको पसल व्यवस्थापनका लागि अलग्गै संरचना तयारी अवस्थामा छ । उद्घाटन तथा सञ्चालनको पखाइमा रहेको त्यो संरचनाले राजधानी समेत मानिने शनिश्चरे बजार को सौन्दर्यकरणमा मद्दत पुग्ने अवस्था छ ।

प्रशासनिक सुविधाका लागि हरेक वडामा नयाँ कार्यालय भवन, आधारभुत स्वास्थ्य केन्द्रको भवन निर्माण गरिएको बताइएको छ । पहिलो कार्यकालमा कर्मचारी अभावदेखि कार्यालय व्यवस्थापनमा समेत समाधान खोज्दै काम गरेको जनप्रतिनिधिहरुले अनुभव सुनाए । अहिले अधिकांस समस्या समाधान गरेर काम अघि बढाइएको बढाइएको छ । अब आएका जनप्रतिनिधिले प्राविधिक समस्यामा अल्झिनु नपर्ने अवस्था छ । त्यसका कारण पनि बिगतको तुलनामा अझ बढी बिकास निर्माणले गति लिने बिश्वास गर्न सकिन्छ ।

अर्जुनधारा नगरपालिका–१ मा २०७१ सालबाट निरन्तर एउटा मानव बस्ती नै भासिन थालेपछि बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरियो । करिव १० घरधुरी रहेको पेरुङगे खोल्सीका सबै घरहरु चर्किने, भासिने र लड्ने भएपछि बस्न सक्ने अवस्था थिएन । उनीहरु अहिले सुरक्षित रुपमा बसोबास गरिरहेका छन् ।

पुस्तौदेखि बस्दै आएको घर जोगाउन स्थानीयले बाँध समेत बाँधेपनि जमिन भासिन क्रम भने रोकिएन । बस्ती जोखिममा परेपछि नगरपालिकाले १० लाख रुपैयाँ लगानी गरेर नौ कठ्ठा जग्गा खरिद गरी बस्ती स्थानान्तरण गरेको छ । नगरपालिकाले चुरे क्षेत्रमा रहेको जोखिमयुक्त बस्तीलाई एकीकृत गर्ने लक्ष्य समेत लिएको छ । पेरुङगे खोल्सीबाट बिस्थापित भएका १० घरलाई स्थानान्तरण गरेर उनीहरुलेको जिउ धनको सुरक्षा गरेको छ ।

नगरपालिकाले बिगत ५ बर्षको अवधिमा भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा एउटा कोसेढुङगा पार गरेको अवस्थाका रुपमा लिन सकिन्छ । नगरपालिकाले सडक, पुल, पुलेसा, सिंचाई, खानेपानी, बिद्यालय भवन, तटबन्धन तथा मठ मन्दिर निर्माणलाई प्राथमिकताका साथ योजनामा राखेर अघि बढेको थियो ।

जनप्रतिनिधिको सपथ ग्रहणसँगै भौतिक पूर्वाधार निर्माणका केन्द्रित रहेको नगरपालिकाले हरेक वडामा कालोपत्रे सडक, पुल, कल्भर्ट निर्माणलाई प्राथमिकतामा राखेर काम गरेकोे थियो । यतिबेला संघीय र प्रदेश सरकारसँगको सहकार्यमा थुप्रै ठुला आयोजनाहरु यहाँ निर्माणाधिन रहेका छन् । संघीय सरकारसँगको सहकार्यमा अर्जुनधारा–१ को बिरिङ खोलामा दुई वटा ठुला पुल निर्माणाधिन छन् । सिस्ने र जयपुर जोड्ने पुल निर्माण भइसकेको छ भने मदन भण्डारी राजमार्गमा अर्काे पुल निर्माणाधिन अवस्थामा छ ।

शनिश्चरे बजारलाई पार्कमा परिणत गरिंदै
नगरपालिकाको राजधानीका रुपमा रहेको शनिश्चरे बजारलाई पार्कको रुपमा परिणत गर्ने कार्य धमाधम भइरहेको छ । बजारमा साप्ताहिक रुपमा शनिबार लाग्दै आएको हाटलाई अर्काे स्थानमा स्थानान्तरण गरेर बजारलाई बिकास गर्न थालिएको हो । शनिश्चरे चोकमा भगवान श्रीकृष्णले अर्जुनलाई रथमा राखेर रथ हाँकेको प्रतिमा राखिसकिएको छ । यस्तै केहीबर्ष अघि सामान ढुवानीको प्रमुख साधन बयलगाडाको प्रतिमा समेत तयार भइसकेको छ ।

बिषेशगरी शनिश्चरे बजारसँगै रहेको प्रसिद्ध अर्जुनधारा जलेश्वर धाममा आउने धार्मिक पर्यटकलाई लक्षित गर्दै यस्ता प्रतिमा स्थापना गरिएको हो । भित्र आउने पर्यटकका लागि यो प्रतिमा आर्कषकको केन्द्र बनेको छ ।

नगरपालिकाले २५ लाख रुपैयाँ खर्च गर्दै महाभारतकालीन सभ्यता झल्कने चारवटा घोडाको रथ हाँकेको प्रतिमा शनिश्चरे बजारमा राखेसंगै आन्तरिक तथा वाह्रय पर्यटकका लागि आर्कषणको केन्द्र विन्दू बनेको हो । यो संगै जिल्लाकै पुरानो बजार शनिश्चरेलाई पर्यटकीय नगरीका रुपमा बिकास गर्न भौतिक संरचना निर्माणको काम शुरु गरिएको छ । अर्जुनधारा नगरपालिकाको पहलमा शनिश्चरे बजारको चोकमा अहिले आर्कषक पार्क बनाउन शुरु गरिएको छ ।

सरकारी स्वामित्वको यो जमिनमा यसअघि निर्माण गरिएका संरचना नगरपालिकाले भत्काएको थियो । खाली भएको जमिनमा धार्मिक तथा ऐतिहासिक सम्पदाको प्रतिमा राख्ने काम शुरु गरिएको छ । शनिश्चरे बजारलाई आधुनिक पार्क बनाउन नगरपालिकाले योजना बनाएर बजारलाई स्थानान्तरण गरेको थियो । शनिबार लाग्ने हाटलाई वडा नम्बर ८ मा दुई बिगाहा जमिन किनेर स्थानान्तरण गरिएको छ । मुख्य सडकभन्दा अन्यत्र हाट लाग्न थालेपछि नगरपालिकाले चोकमा पार्क बनाउन शुरु गरेको हो ।

शनिश्चरे बजार नजिकै अर्जुनधारा जलेश्वर धाम रहेको छ । सोही धामको नामबाट नगरपालिकाको नाम पनि अर्जुनधारा रहन गएको हो । धाममा बर्षेनि हजारौं धार्मिक पर्यटक दर्शन तथा अवलोकन र अध्ययनका लागि आउने गरेका छन् । नगरपालिकाले अर्जुनधारा धाममा आउने पर्यटकलाई लक्षित गरेर महाभारतकालीन सभ्यता झल्किने मूर्ति सहितको पार्क निर्माण गरेसंगै नगरकै मुहार फेरिएको हो ।

द्वापर युगमा १२ बर्षको बनवासपछि एक बर्षका लागि गुप्तवास बसेका पाण्डवमध्ये अर्जुनले बिराट राजाको गाई चराउँदै सो स्थानमा आएको धार्मिक किंवदन्ती छ । चराउँदै गरेका गाई तिर्खाएपछि अर्जुनले बाँण हानेर पानी निकालेको तथा आफूले चराएका गाईलाई त्यहाँ पानी खुवाएको भन्ने महाभारतकालीन मान्यता अनुसार त्यस स्थानको नाम अर्जुनधारा रहन गएको बताइन्छ ।

ठेकी वजारका रुपमा जिल्लामै ख्याति कमाएको शनिश्चरे वजारले विस्तारै फड्को मार्दै अहिले पर्यटकीय नगरीका रुपमा विकसित हुँदै आएको छ । अहिले काठका ठेकी बिस्थापन हुने अवस्थामा छन् । नगरपालिकाले ठेकीको प्रतिमा, केही बर्ष अघिसम्म सामान ढुवानीमा प्रयोग गरिने बयलगाडा(गोरुगाडा),सहितको आकर्षक स्वागतद्वार निर्माण शुरु गरेको छ ।
यो संगै अर्जुनधारा नगरपालिकाले आफ्नो नगरलाई पर्यटकीय नगर बनाउन लागेको हो । अर्जुनधारा नगरपालिका भित्र रहेको अर्जुनधारा मन्दिर बाहेक नगरमा रहेका अन्य पर्यटकीय क्षेत्रमा वर्षेनि हजारौं पर्यटक घुम्न आउने गरेका छन् । जसका कारण पर्यटकीय नगरका रुपमा अर्जुनधारालाई लिन थालिएको छ ।

१५ शैयाको अस्पताल बन्दै
यस अवधिमा साविकको शनिश्चरे प्राथमिक स्वास्थ्य केन्द्रलाई नगरस्तरीय अस्पतालमा परिणत गरियो । यस अस्पतालले २४ घण्टा आकस्मिक सेवा उपलब्ध गराउन थालेको छ । ओपीडि, ल्याब लगायतका सुविधाका लागि नगरवासीले अन्यत्र धाउनुपर्ने अवस्था अहिले अन्त्य भएको छ ।

अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक नआउने समस्याबाट अहिले नगरवासी मुक्त छन् । दक्ष जनशक्ति उपलब्ध हुने हुँदा अर्जुनधारामात्र नभएर छिमेकी स्थानीय तह बुद्धशान्ति गाउँपालिका, माइ नगरपालिका इलाम, बिर्तामोड नगरपालिकाका बासिन्दा समेत यहाँ उपचार गर्न आउने गरेका छन् ।

दैनिक ४०० भन्दा बढी बिरामीको उपचार हुने यो अस्पताल अब बिरामीको चापका कारण साँघुरो हुन थालेको छ । अस्पतालको क्षेत्र बिस्तार गर्नका लागि नजिकै अर्काे १५ शैयाको अस्पताल निर्माण हुन थालेको छ । अस्पताल निर्माणका लागि खेम बराल, पारस बराल, कृष्ण बराल र नरेन्द्र बरालले १ विगा २ कठ्ठा १० धुर जग्गा प्रदान गरेका छन । अर्जुनधारा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतका अनुसार त्यस स्थानमा सुविधासम्पन्न अस्पताल भवन निर्माण हुन थालेको छ ।

नगरपालिकाको –९ नम्बर वडामा १८ करोड लागतमा अस्पताल भवन बन्न लागेको हो । बहुवर्षे योजना अन्र्तगत पहिलो बर्षको बजेट निकासा भइसकेको जानकारी बस्नेतले दिए । अस्पताल निर्माण भएपछि यसले नगरपालिकाको गौरवको रुपमा भूमिका खेल्ने बिश्वास उनको छ ।

ठुला आयोजनामा पनि अगाडि
ठुला आयोजना निर्माणको क्षेत्रमा पनि अर्जुनधारा नगरपालिका अब्बल बन्दै गएको छ । झापाको दुःखका रुपमा हेरिने बिरिङ खोला यस नगरपालिकाको बिचबाट बगेको छ । बर्षातको समयमा उर्लदो खहरे बनेर बग्ने, अनि हिउँदको समयमा सुक्ने यस खोलाको बिषेशता हो ।

बिषेशगरी संकटको रुपमा हेरिने यस खोलाको ब्यवस्थापनमा भूमिका खेल्ने हो भने दिगो आर्थिक उपलब्धी हासिल हुने देखिन्छ । यस खोलामा ब्यवस्थित तटबन्ध गरेर खोलाजन्य सामग्री उपयोग गर्न नगरपालिकाले भूमिका खेल्ने दिशामा अगि बडेको छ ।

खोलाधारमा तटबन्धसँगै चेकड्याम निर्माण गरेर खोलाधारका किसानलाई सिचाई सुविधा पु¥याउनुपर्ने माग बमोजिम त्यसको बिस्तृत योजना बिवरण (डिपिआर) भइसकेको छ । अब क्रमश त्यो योजना कार्यान्वयनको चरणमा जाने निवर्तमान मेयर हरिकुमार रानाले बताए । यो योजना कार्यान्वयन हुन सके खोलाधारका किसान र नगरपालिकाबीच बर्षाैदेखि हुँदै आएको उत्खनन् बिवाद अन्त्य हुने छ ।

बिरिङ खोलामै २३ करोड ६९ लाखको लागतमा जयपुर–सिस्ने जोड्ने पुल निर्माण भइसकेको छ । सञ्चालनको तयारीमा रहेको त्यस पुल संघीय सरकारको लगानीमा निर्माण भएको हो । यही खोलामा मदन भण्डारी राजमार्गको लागि अर्काे पुल निर्माणको काम धमाधम भइरहेको छ । बुद्धशान्ति गाउँपालिकाको भोटेटार र अर्जुनधारा नगरपालिकाको साधुटार जोड्ने त्यो पुल संघीय सरकारको योजना अन्र्तगत निर्माण हुँदै गरेको हो ।

नेते खोला, टाङटिङ, बुढी सुखानी र सुखानी खोलामा मदन भण्डारी राजमार्ग अन्तर्गतको पुल निर्माण भइरहेको छ । नगरपालिकाको उत्तरी भागबाट पुर्व–पश्चिम गर्न सकिने मदन भण्डारी राजमार्ग निर्माण पुरा भएपछि भने यहाँको बिकासमा एउटा तरङग नै उत्पन्न हुने निश्चित छ ।

यस्तै खुदुनाबारी–शनिश्चरे सडक कालोपत्रे, शनिश्चरे–बिर्तामोड सडक कालोपत्रे, लक्ष्मीपुर–साधुटार सडक कालोपत्रे संघ र प्रदेश सरकारको ठुला लगानीमा निर्माण हुदै गरेका संरचना हुन् । नगरवासीले प्रत्यक्ष महसुस गर्ने अवस्थाको भौतिक पूर्वाधार निर्माणले स्थानीय सरकारप्रति नगरवासी आशावादी रहेको संकेत गर्दछ ।

दीर्घकालीन योजनामार्फत निर्माण हुने भौतिक पूर्वाधारले मात्र आधुनिक सहरको परिकल्पना गर्न सकिन्छ । यही उद्देश्यलाई पछ्याउँदै अघि बढेको अर्जुनधारा नगरपालिकाले पूर्वाधारमा लगानी बढाएर सफलता हासिल गर्दै गएको छ ।
स्थानीय तह पुनर्संरचनापछि अर्जुनधारा नगरपालिकाले पूर्वाधार विकासमा फड्को मारेको यहाँ निर्मित संरचनाबाटै प्रस्ट देखिन्छ । नगरपालिकामा ग्राभेल नभएका सडक भेटिँदैनन् । जनप्रतिनिधिले पहिलो चरणमा सडक ग्राभेल गर्ने नीति लिएर काम गरेका थिए । यतिबेला नगरको प्रत्येक वडामा कम्तीमा १ किलोमिटर र बढीमा ३ किलोमिटर सडक कालोपत्रे भइसकेका छन् ।

नगरपालिकाले आर्थिक वर्ष ०७४-७५ मा ३ किलोमिटर र ०७५-७६ मा २ दशमलव ७ किलोमिटर सडक कालोपत्रे गरेको छ । आर्थिक वर्ष ०७६-७७ मा ४ किलोमिटर सडक कालोपत्रे हुँदा ०७७-७८ मा ११ दशमलव ८२ किलोमिटर सडक कालोपत्रे भएको छ । त्यसबाहेक २०७ किलोमिटर सडक ग्राभेल भएको छ भने २१ किलोमिटर नयाँ सडकको ट्रयाक खोलिएको छ ।
यस अवधिमा ११३ वटा मोटरेबल र ४ वटा झोलुंगे पुल निर्माण गरिएको छ । आर्थिक वर्ष ०७४-७५ मा ५४ वटा पुल बनाएको नगरपालिकाले आर्थिक वर्ष ०७५-७६ मा २७ र आर्थिक वर्ष ०७६-७७ मा १७ वटा पुल निर्माण गरेको छ । ०७७-७८ मा नगरले १५ वटा थप मोटरेबल पुल बनाएको छ ।

पुल मात्र नभई कल्भर्ट निर्माणमा पनि नगरपालिकाले जोड दिएको छ । नगरपालिकाभित्र १ सय २५ वटा कल्भर्ट निर्माण भइसकेको नगरपालिकाका योजना शाखा प्रमुख अधिकृत हिमराज सेढाईंले बताए ।

जनप्रतिनिधिले कार्यभार सम्हाल्नुअघि नगरपालिकामा वडा कार्यालयको भवन थिएनन् । अहिले ११ वटै वडा कार्यालयका भवन तयार भएका छन् । स्वास्थ्य संस्थाका भवन र सामुदायिक भवन निर्माणमा पनि नगरले जोड दिएको छ । पूर्वाधार विकासमा सहजीकरण गर्न वडा–वडामा पूर्वाधार विकास समिति गठन गरिएको छ ।

नगरपालिकाले सडकसँगै प्रशासनिक भवन निर्माणलाई पनि तीव्रता दिएको थियो । ०७४ अघि थालिएको नगरपालिका भवन निर्माणको काम जनप्रतिनिधि आएपछि अघि बढ्यो । त्यसको प्रतिफल नगरपालिकाले ०७५ सालदेखि देखि आफ्नै प्रशासनिक भवनबाट सेवा दिन सफल भएको छ ।

अतिविपन्न परिवारलाई घरसमेत निर्माण गरिएको छ । जनता आवास कार्यक्रमबाट ३२ र विपन्न आवास कार्यक्रमबाट २ सय १६ वटा घर निर्माण भएका छन् । सामुदायिक भवन ३२ वटा निर्माण गरेको नगरपालिकाले ९ वटा स्वास्थ्य चौकीका भवन बनाएको छ । ८ वटा नयाँ पार्क र १२ वटा नयाँ विद्यालय भवन निर्माण गरिएको योजना शाखा प्रमुख सेढाईले जानकारी दिए ।
नगरको प्रमुख प्रवेशद्धार महानन्दचोकमा स्वागत गेट निर्माणको काम द्रुत गतिमा अघि बढिरहेको छ । यो गेट आगामी असार मसान्तसम्ममा निर्माण पुरा भइसक्ने जनाइएको छ ।

जनताको चासो र विकासको मूलढोका नै पूर्वाधार विकास भएका कारण नगरपालिकाका विभिन्न स्थानमा सडक, पुल, खानेपानी तथा अन्य विकासका पूर्वाधार निर्माण धमाधम भइरहेका छन् । नगरपालिकाभित्रै रहेर पनि हालसम्म गुमनाम सहकाले झरनालाई नगरले पर्यटकीय क्षेत्र बनाउन पूर्वाधार निर्माण गरेको छ । महत्वपूर्ण योजनाका रूपमा रहेका भित्री तथा बाहिरी चक्रपथको कुल ५२ किमि सडक निर्माण सुरु भएको छ ।

१ हजार आवास बनाउँछौंः नवनिर्वाचित मेयर गोम्देन
अर्जुनधारा नगरपालिकाका नवनिर्वाचित मेयर बलदेव गोम्देन तामाङ्गले बिपन्न परिवारका लागि घर बनाइदिने घोषणा गरेका छन् । पाँच वर्षभित्र एकहजार बिपन्न परिवारका लागि घर बनाएर हस्तान्तरण गर्ने मेयर गोम्देनले योजना अघि सारेका छन् ।

निर्वाचित भएपछि पदभार ग्रहण गर्दै मेयर गोम्देनले गरीब तथा विपन्न परिवारको आवास व्यवस्थापन सम्वन्धी पहिलो निर्णयमा हस्ताक्षर गरेका थिए । नगरका ग्रामीण बिपन्न बस्तीमा पुगेर भोट मागिरहँदा उनीहरुको समस्याप्रति ध्यानाकर्षण भएको उनले बताएका छन् ।

जनताका समस्याप्रति आफू गम्भीर र संवेदनशील रहेको बताउँदै मेयर गोम्देनले प्राथमिकताका आधारमा उनीहरुको समस्या समाधान गर्न नगरपालिकाले ध्यान केन्द्रीत गर्ने जानकारी दिए ।

पदभार ग्रहणसँगै मेयर गोम्देनले पूर्ण अपाङ्ग भएका नागरिकको स्वास्थ्य बीमा गरी उनीहरुको उपचारमा सघाउने अर्काे निर्णय पनि गरेका छन् । पूर्णरुपमा अशक्त नागरिकलाई स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने नगरपालिकाको लक्ष्य रहेको छ ।

प्रकाशित मिति : जेष्ठ २६, २०७९ बिहीबार  ८ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]