जंकफुड बन्देज लगाऊ
सम्पादकीय
झापामा भर्खरै खाद्य अधिकार सम्बन्धी एउटा कार्यक्रममा बिद्यार्थीहरुलाई प्रशिक्षित गरियो । खाद्य अधिकार दिवसका दिन विशेष अवसर पारेर एउटा कार्यक्रम भयो । वर्षभरी वेवास्था गरिए पनि एक दिन खाद्य अधिकार र सुरक्षाका सवालमा विद्यार्थीसँग छलफल भयो । त्यसको मुख्य ध्येय भनेको बालबालिका, बिद्यार्थी कसैले पनि जंकफुड खान हुदैन भन्ने थियो । जंकफुड मात्र होइन, अखाद्य वस्तुको उपभोगले मानव स्वास्थ्यमा गम्भीर असर गर्ने गर्छ भन्न कुरा विधार्थीलाई जानकारी गराइयो । स्वास्थ्यका दृष्टिले पनि जंकफुड हानिकारक छ ।
बिधालय क्षेत्र आसपासमा सबैभन्दा धेरै पसल जंकफुड कै हुन्छ । त्यसलाई हटाउने प्रयत्न कोहि कसैबाट भइरहेको छैन । विधालयभित्रै सञ्चालित क्यान्टेन मै जंकफुड भेटिन्छ । सर्वप्रथम विधालयले आफै त्यस्ता पसलहरुलाई हटाउनुपर्छ । यदि समय मै शैक्षिक संस्थाहरुले ख्याल गरियो भने विधार्थी तथा बालबालिकाहरुमा स्वास्थ्य समस्या आउने छैन । मुलतः आम नागरिकको स्वास्थ्य सुरक्षा चुनौतिपूर्ण छ । अहिलेको खानपान र परिवेशले सबैलाई असुरक्षित बनाएकै छ । अब भने स्वास्थ्यका लागि सोच्नै पर्छ । अझै पनि सोच्न सकिएन भने भविष्यमा पश्चात गर्नु बाहेक केहि विकल्प रहने छैन ।
बालबालिका र विधार्थी वर्गको पहिलो रोजाई नै जंकफुड हुन्छ । जंकफुडका कारण घरायसी खानपानमा बालबच्चको मन जाँदैन । पसलमा सजाएर राखिएका त्यस्ता वस्तुको उपभोगबाट बालबच्चा देखि बृद्धबृद्धासम्म सचेत हुन आवश्यक छ । यसैले अनुगमनकारी निकायले विधालय क्षेत्रमा यस विषयलाई नियन्त्रण गर्न अपरिहार्य छ । सरकारी विधालय आसपास अझ धेरै जोखिम छ भने निजी विधालय आसपासमा कम जोखिम छ । किनभने, त्यहाँ विधालयले नियन्त्रण गरेको छ । यस्तै, गुट्खाजन्य वस्तुको विक्रीले बालबालिकामा नराम्रो लत लागिरहेको हुन्छ । सबै कुराको नियन्त्रणका लागि अखाद्य वस्तुको विक्री मै बन्देज लगाउनुपर्छ ।