यौन दुर्व्यवहार गर्नेलाई कारवाही गर
सम्पादकीय
झापाको मेचीनगरमा एक जना प्रधानाध्यापकले शिक्षिकामाथि यौन दुव्र्यवहार गरेको घटना बाहिर आएको छ । यौन दुव्र्यवहार गरेको घटनालाई गुपचुप बनाउन प्रधानाध्यापकले राजीनामा नै दिएको सूचना बाहिरिएको छ । एउटा शैक्षिक संस्था भित्र यस प्रकारको घटना हुनु दुखद् कुरा हो । यसले हाम्रो समाजलाई कता लैजादै छ भन्ने स्पष्ट बनाउदैछ । शिक्षक भनेको समाजको प्रकाश हो । प्रकाश मै यस प्रकारको धब्बा देखियो भने विधार्थीको भविष्य के होला ? विधार्थीले कसरी अध्ययन गर्लान् ?
शिक्षक, कर्मचारीले विद्यार्थीको भविष्यप्रति सचेत हुनलाई पनि गलत मानसिकता त्याग गर्नैपर्छ । यौन दुव्र्यवहारको घटना बाहिर आइरहँदा पनि प्रधानाध्यापक कारवाहीको दायरामा आएका छैनन् । प्रहरीले कारवाहीका लागि कुनै निवेदन नपाएको स्पष्ट पारिरहेको छ । एउटा शिक्षिकामाथि दुव्र्यवहार भएको घटना छताछुल्ल हुँदा पनि प्रहरीले निवेदन नै पर्खिनु भनेको अभियुक्तहरुका लागि मलजल हो । उनीहरुलाई सामाजिक रुपमा आवाज उठ्दा पनि पक्राउ गरेर कारवाहीको दायरामा ल्याउनु पर्छ ।
मेचीनगरमा पछिल्लो समय बढ्दै गएको यौनजन्य हिंसाका घटनाले सबैलाई गम्भीर बनाएको छ । एउटा शिक्षालय भित्रै यो हद्सम्मको घटना हुन्छ भने हामीले सोचिरहेको समाज अझै धेरै पछाडि छ । सचेत समाजको रुपमा ग्रहण गर्नुभन्दा अझै चेतनाको कमि भएको स्पष्ट हुन्छ । कानुनी व्यवधान र पीडितको सुरक्षाका कारण धेरै घटना बाहिर आइरहेका हुदैनन् । यसैले सामाजिक रुपमा सबैले पीडितको रक्षा हुने गरी काम गर्न आवश्यक छ । अझै पनि बोल्न नसक्नेहरु धेरै हुन सक्छन् । उनीहरुको लागि खुलेर कुरा राख्ने वातावरणको निर्माण गरौं । शिक्षा क्षेत्रमा भइरहेका यस प्रकारका घटनामा संलग्न जो कोहिलाई कारवाहीको दायरामा ल्याऊ ।