बैशाख २२, २०८१ शनिबार

आयुर्वेदिक पद्धतिबाट उपचार गराउनेको संख्या बढ्दै

शिवसताक्षी । पछिल्लो समय मानिसहरुको आयुर्वेदिक चिकित्सा पद्धतिप्रति आकर्षिक हुन थालेका छन् । विभिन्न दीर्घरोगी विरामीहरु अन्य उपचारमा भन्दा भरपर्दो उपचार भन्दै आयुर्वेदिक औषालयहरु धाउनेको संख्या बढ्न थालेको छ ।

झापा शिवसताक्षीको दूधे आयुर्वेदमा पछिल्लो समय आयुर्वेदिक उपचार पद्धतिबाट उपचार गराउनेको संख्या हुवात्तै बढेको छ । दूधे आयुर्वेदमा आज एकैदिन ३ सय ५० बढीले उपचार सेवा लिएका छन् । दूधे आयुर्वेदबाट सञ्चालन गरिएको एक दिने स्वास्थ्य शिविरमा नगरका ३ सय ५० बढी नागरिकले सेवा लिएका हुन् ।

विहान ८ बजे नगरप्रमुख मेगाहाङ्ग थोप्रा (रोशन) ले उद्घाटन गरेर शिविर सञ्चालन भएको थियो । उद्घाटनका क्रममा बोल्दै प्रमुख थोप्राले अन्य पद्धति भन्दा आयुर्वेद पद्धति विश्वकै प्राचीन चिकित्सा पद्धति भएको बताए । उनले शिवसताक्षीको दूधेमा रहेको नगरकै ठूलो आयुर्वेद औषाधालय भएकाले यसलाई बृहत्तर रुपमा सबै वडाहरुमा पहुँच पुग्ने गरी काम गर्ने जानकारी दिए । आयुर्वेदलाई आम नागरिकसँग पु¥याउन नगरपालिकाबाट आवश्यक सहयोग दिइने उनको भनाई थियो ।

शिविरमा दम, मधुमेह, प्रेसर, ग्याष्ट्रिक लगायतका विरामीहरुले सेवा लिएका थिए । डा।प्रविणकुमार यादव, डा। मिसान्त ढकाल
, डा। अनिकुमार यादव, डा।विनय प्रदानले शिविरमा सहजीकरण गरेको दूधे आयुर्वेदक औषधालयका कविराज निरीक्षक राजेन्द्र पोख्रेलले जानकारी दिए । उनका अनुसार विरामीहरुका लागि निशुल्क थेरापी सेवा, निशुल्क औषधी वितरण र रगत परीक्षणमा विशेष छुट गरिएको थियो ।

आयुर्वेदिक पद्धतिबाट रोगको उपचार

आयुर्वेदको सिद्धान्तअनुसार शरीर, मन र आत्माको सन्तुलनमा मानव स्वास्थ्य निर्भर छ । त्यस्तै, शरीरमा हुने तीन दोष वात, पित्त र कफका कारण शारीरिक असन्तुलन पैदा हुन्छ । आयुर्वेदिक चिकित्सा पद्धति पछिल्लो समयमा चिकित्सा क्षेत्रको बलियो पाटो बन्दै गएको छ । आयुर्वेद औषधि प्राकृतिक जडीबुटीबाट बन्ने गर्छ ।

खासगरी, बोटबिरुवा, जनावर र खनिजपदार्थ आयुर्वेदिक औषधिका स्रोत हुन्छ । जो कच्चा पदार्थ संकलन, प्रशोधन गरेर वा सीधै प्रयोगमा ल्याइन्छ । आयुर्वेद औषधिमा केमिकलको प्रयोग गरिँदैन । त्यसैगरी, यसको सेवनबाट अन्य असर हुँदैन । आयुर्वेदिक चिकित्साअन्तर्गत विभिन्न पद्धतिबाट उपचार गरिन्छ ।

उपचार पद्धति
औषधि तथा जडीबुटी
आर्युवेदिक औषधिको प्रयोगबाट जुनसुकै रोगको उपचार सम्भव छ । रोगको अवस्था हेरेर जडिबुटीको प्रयोग गरी रोगबाट बच्न सकिन्छ । भुइँअमला, त्रिफला, चिराइतो, कुटकी, तितेपाती, निम, सतावरी, अतिसार, बेल, पाँचऔलै, मधुमेहा, अश्वगन्धा आदि मुख्य जडिबुटी हुन् । यस्ता जडिबुटीको प्रशोधन गरेर विभिन्न रोगको औषधि बनाइने गरिन्छ ।

योग

योग शारीरिक, मानसिक तथा आध्यात्मिक अनुशासन हो । जसको माध्यमले शारीरिक र मानसिक स्वास्थ्यमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ । योग एक उपचार पद्धति पनि हो, जसको माध्यमबाट विभिन्न समस्याबाट राहत पाउन सकिन्छ । स्त्रीरोग, हृदयरोग, अम्लपित्त, गठिया बाथ, नसाका समस्या, कम्मर र ढाडका समस्याका साथै मानसिक रोगका लागिसमेत प्रभावकारी मानिन्छ ।

पञ्चकर्म
आर्युवेदिक मान्यताअनुसार कुनै पनि औषधिको प्रयोग गर्नुभन्दा अगाडि पञ्चकर्म गर्न आवश्यक छ । पञ्चकर्मको माध्यमबाट हाम्रो शरीरका बिकार वस्तु बाहिर निकाल्न सकिन्छ । पञ्चकर्मभित्र धेरै विधा पर्छन् । जसमध्ये वमन, विरेचन, शिरोधरा, अनुवासन वस्ती र निरुह प्रमुख हुन् ।

क्षारसूत्र
क्षारसूत्र आयुर्वेदको मुख्य उपचार पद्धति हो । विभिन्न क्षारको प्रयोग गरी पायल्स, फिस्टुला, कुष्टरोग, ट्युमर, साइनसजस्ता रोगको उपचारका लागि प्रभावकारी मानिन्छ । औषधियुक्त धागोको प्रयोग गरी उपचार गरिन्छ ।

प्रकाशित मिति : जेष्ठ २८, २०७९ शनिबार  ८ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]