जेष्ठ २, २०८१ बुधबार

झापा कारागारभित्र डरलाग्दो वेथिती

सम्पादकीय
झापा जिल्ला कारागारभित्रबाट एक जना महिला कैदीले सार्वजनिक गरेको हस्तलिखित पत्रले गम्भीर बनाएको छ । कारागार भनेको एउटा सुधार गृह पनि हो । तर, झापा कारागारभित्र अपराधमाथि थप अपराध गर्ने काम भइरहेको छ । विभिन्न अभियोग लागेकाहरु सजाय भुक्तान गर्न कारागार चलान हुने गरेका छन् । उनीहरु कानुन बमोजिम अदालतले दोषी ठहर्याएर कारागार पुगेका हुन्छन् । कारागारभित्र आफ्नै राज्य चलाइरहेका केहि नाइकेहरुका कारण धेरै कैदीवन्दीको जीवन अप्ठ्यारोमा छ । उनीहरुको सुरक्षा जिम्मा राज्यको हो ।

कारागार भनेको अत्यन्तै संवेदनशिल ठाउँ पनि हो । त्यहाँभित्रको सुरक्षा चुनौतिपूर्ण हुन्छ । प्रहरीले सुरक्षामा लापरबाही गरेकै कारण कैदीबन्दीहरु नाइकेहरुबाट निर्घाट कुटपिट सहनु परेको छ । कुटपिटसँगै विभिन्न लाञ्छना लगाएर नाइकेहरु सजाय भुक्तान गरिरहेका कैदीमाथि ज्यादती गर्ने काम भइरहेको छ । झापा कारागारभित्र यसरी कैदीवन्दीमाथि अन्याय हुनु, कुटपिट हुनु र अवैध धन्दा हुनुमा प्रहरीको दोष नै प्रमुख कुरा हो । प्रहरीले पनि नाइकेबाट थोरबहुत सुविधा ग्रहण नगर्ने भए यो अवस्था आउने थिए ।

सार्वजनिक भएको पत्रमा एक जना पीडित महिलाले कारागारभित्रको सबै वेथितीलाई बाहिर निकालिन् । कारागारभित्र मादक पदार्थको व्यापार, धुम्रपानजन्य वस्तुको विक्रि वितरण कसरी संभव छ ? ति सबै वस्तु कारागारभित्र कसरी प्रवेश पाइरहेको छ । त्यसमा सुरक्षाकै हात हुनुपर्छ । प्रहरीले सहयोग नगर्ने हो भने कारागारभित्र चरामुसाले प्रवेश पाउन सक्दैन । यसैले कारागारभित्रको वेथिती सुधारका लागि सुरक्षामा खटिएका सबैलाई कारवाही गर्नुपर्छ । प्रहरीलाई निलम्बन गरेर अपराधिक गतिविधि गर्ने नाइकेहरुलाई अन्यत्र सरुवा गरी सजाय थप गर्नुपर्छ । कारागारलाई सुधार गृह बनाउने हो भने जिल्ला प्रशासन पनि क्रुर हुनैपर्छ ।

प्रकाशित मिति : असार ५, २०७९ आईतबार  ९ : २८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]