असार २३, २०७९ बिहीबार

मेचीनगरका जनप्रतिनिधिलाई खुला पत्र

लेखनाथ राउत ‘क्षितिज’

सर्वप्रथम त मेचीनगरका सम्पुर्ण निर्वचित जनप्रतिनिधि ज्यूहरुलाइ हार्दिक शुभकामना । तपाईंहरुको पुर्ण कार्यकाल सभ्य,भब्य र विकाश मुलक बनोस् ।

नमस्कार
म लेखनाथ राउत क्षितिज , मेचिनगर १ निवासी एक युवक हुँ , बिगत ८÷९ बर्स देखि म वैदेशिक रोजगारीको सिलसिलामा कतारमा छु । मेरो भौतिक शरीर कतारमा भए पनि मेरो सम्पुर्ण तनमन आफ्नै देशमा छ अझ भनौ आफ्नै ठाउँमा, आफ्नै गाउँमा ।

निर्वाचित जनप्रतिनिधि ज्यूहरु, खास मेरो भन्नू त केही छैन तपाईंहरु सबै अग्रज हुनुहुन्छ । गाउँ समाजको समस्या पनि तपाईंहरुलाई राम्रैसँग थाहा छ । तपाईंहरुमा केही न केही दक्षता र क्षमता देखेरै हो आम मेचीनगरका जनताहरुले तपाईंहरुलाइ भारी मत दिएर निर्वाचित बनाउनु भएको अनि अर्को कुरा तपाईंहरुले स्थानीय सरकारको बागडोर समाल्ने आँट र सहास पनि त्यसै गर्नु भएको होइन होला । केही न केही त योजना होला, बिचार होला, आफ्नो गाउँ नगरलाई सुन्दर र सफा बनाउने ठोस नीति होला भन्ने आशा छ । हामी नेपालीहरुलाई खुशी र सुखी बनाउन अरु केहि गर्नु पर्दैन बस इमानदार भएर आफ्नो क्षेत्रको जनता र उनिहरुको समस्या प्रति उत्तरदायी बन्नुस् ।

निर्वाचित जनप्रतिनिधि ज्यूहरु, यो युगले तपाईंहरु माथी ठूलो आशा राखेको छ, युग सँगसँगै यहाँका हरेक तह र तक्पाले पनि तपाईंहरु माथी ठूलो अपेक्षा राखेको छ । केन्द्रिय स्तरको राजनीति हलचलले स्थानीय तहका जनतालाई खासै असर नपर्ला तर स्थानीय सरकार अशक्त र असफल हुनु भनेको त्यहाँको जनतानै असफल हुनु हो । हामीले प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री साथै अन्य केन्द्रका मन्त्रीहरु खासै चिनि रहनु पर्ने आवश्यकता नपर्ला । हामी स्थानीय जनताको सरकार तपाईंहरु नै हुनुहुन्छ । हामी तपाईंहरुलाई नै चिन्छौ र चिन्नुपर्छ ।

निर्वाचित जनप्रतिनिधि ज्यूहरु,
अनेकौं व्यंग्यात्मक र भावनात्मक कुरा गरेर तपाईंहरुको समय खर्च गर्न चहान्न , तपाईंहरु काम गर्न आउनु भएको हो । थुप्रै काम गर्न बाँकी छ । गाउँ नगरको समस्यसँग पैठेजोरी खेलेर समस्याको समाधान गर्न बाँकी छ । छन् बाँकी थुप्रै कार्यहरु जुन तपाईंहरुले गर्छौ भनेर प्रण गर्नु भएको छ । म केही बुंदागत रूपमा सिंगो मेचीनगरको चिरपरिचित समस्या अनि भविष्यमा आउन सक्ने समस्या त्यसै गरी आम मेचीनगरबासीको तर्फबाट पनि भैइ रहेको हेलचेक्राँइ अपनाउन नसकेको सजकता यी र यस्तै कुराहरुलाई बुँदागत रुपमा यहाँ उठान गरेको छु । मलाइ बिश्वास छ, यी विषयहरुमा जनप्रतिनिधि ज्यूहरुले नजर अन्दाज गर्नु हुने छैन ।

१) सडक – एउटा गाउँ सुन्दर र सफा हुनुमा त्यहाँको बाटोघाटोले पनि कतै न कतै ठुलै भुमिका खेलेको हुन्छ । बिकट गाउँलाई सहरसँग जोड्ने एउटै माध्यम सडक संजाल हो । गएको स्थानीय सरकारले काँकरभिट्टा देखि उभो निन्दा सिरान जाने सडक आमडाँगी देखि उभो कालोपत्रे गर्यो यो राम्रो कुरा हो तर केवल कालोपत्रे गरेर मात्र सडक राम्रो हुदैन रहेछ भन्ने उदाहरण त्यहाँका दृष्यहरुबाट प्रष्ट देख्न सकिन्छ । मेचीनगर क्षेत्रको अन्यत्र पनि सडक कालो पत्रे भएको छ । मैले खास यहि सडक किन बताई रहेको छु भने यहि सडक हिनेर जीवनको बाल्यकाल बिताएको अनि भबिष्यमा पनि हरेक दिन प्रायः यहि सडक प्रयोग गर्नु छ । कालोपत्रे बिचमा, दायाँबायाँ झार, पानी बग्ने नाली छैन, गरिएको कालोपत्रेले कतिसम्म वजन धान्छ त्यस्को मापन गर्ने कुनै यन्त्र देखिन्दैन, सडकमा ट्राफिक चिन्हहरु पनि खासै छैनन् ।

सडक छेउका बासिन्दाहरुले सडक पेटिमा दाउरा घाँस गिटि बालुवा आदि इत्यादी राख्नु भएको छ । यसले गर्दा सडक, सडक जस्तो हुन सकेको छैन । यसलाई तपाईंहरुको नजरले देखोस् र यसमा गर्नुपर्ने सुधारहरु गर्ने पहल गर्नुहोस् ।

२) देशकै पूर्वी सिमाना मेची अनि त्यहिको बासिन्दा हामी मेचीनगरवासी , हामी के र कस्तो छौ भन्ने कुरा पारी पट्टि हेरेरै थाहा हुन्छ । मेची पारी हेरौं निक्कै वरसम्म खेती योग्य जमिन छ । केही सालअघिसम्म सुख्खा बगर बनेका ती ठाउँहरु आज लाखौको भाउमा किनबेच भई रहेको छ । बस्ती बनेको छ । खेती योग्य बनेको छ । अनि यता, हाम्रो तिरको जमिन उराठालाग्दो बगरमा परिणत भएको छ । पारी तिर भारतले हरेक बर्ष लाखौं रुख बिरुवा रोपेर घना जंगल बनाउदैछ, बनिनै सक्यो । केही सालपछि हेर्दै जाउ निक्कै वरसम्म उसले रुख रोप्छ र आफ्नो जमिनको सुरक्षा गर्दै जान्छ । यता, हामी केही सालअघिसम्म उब्जनी हुने खिती योग्य जमिन छोडेर बस्नु परेको छ । हरेक बर्ष खोला पसेर उब्जनी हुने जमिन बगाएको छ । सिमा स्तम्भहरु जीर्ण अवस्थामा छन् । यी सबै कुरामा हाम्रा जनप्रतिनिधि ज्यूहरुले बेलैमा सोच बिचार गरेर बगरमा परिणत भएको क्षेत्रमा रुख बिरुवा रोपेर आफ्नो सिमाना अनि खोला नदिहरुबाट हुने क्षति कम गर्न बेलैमा सम्पुर्ण मेचीनगरबासीलाई सजक गराएर जिम्मेवारी पूर्वक ढङ्गले काम गर्नु हुन्छ भन्ने आशा छ ।

३) बिधुतीय तार लगायत अन्य दुर संचारका तारहरुलाई भुमिगत बनाउन पहल गरौं । बिधुतीय तारसँगै अन्य दुरसंचारका तारहरु छरपस्ट लत्रिएका छन् । बाटोको दायाँबायाँ रुखहरुले बिधुतीय तारलाई छुनै लगेका छन् । पानी झरी परेको बेला बिधुतीय खतरा बढिरहेको हुँदा सबै तारहरुको बेलैमा ब्यवस्थापन होस् ।

४) छुवाछूत– वर्षौदेखि जरा गाडेर बसेको नेपाली समाजमा छुवाछूत प्रथा अझै उस्तै छ । मान्छे मान्छे बिचको बिभेद्लाई आजको युगले पनि आत्मसाथ गर्ने हो भने हामी मानव कसरी भन्ने ? यस्तो निच र घटिय सोचलाई परंरागत मूल्य र मान्यता हामी कहिले सम्म दिने ? छुवाछूत मुक्त समाज र छुवाछूत मुक्त नगर घोषण गर्न आजै बाट लागौं । घोषणा केवल घोषणामा मात्र सिमित नहोस्, मेचीनगर भित्र रहेका कथित दलित उपनामले चिनिएका सम्पुर्ण दाजुभाई दिदिबहिनीहरु आम नागरिक भएर मुस्कुराएको तपाईंहरुकै ५ बर्से कार्यकालमा देख्न पाइयोस् ।

५) हात्ती आतंकको समस्या– मेचीनगरबासीले सदियौ देखि भोग्दै आएको एउटा प्रमुख समस्या हो । हात्ती ब्यवस्थापन बारे बिगतमा धेरै कुराहरु भए, धेरै पहलहरु भए, तर दीर्घकालीन रुप कुनै पनि पहलले समाधान हुन सकेको छैन । हात्ती समस्या स्थानीय समस्यासँग जोडिएको भए पनि यो नितान्त प्रकृतिकसँग पनि जोडिएको बिषय हो । उनीहरुले पनि बाँच्न पाउनुपर्छ, बाँच्नलाई खान जरुरी छ, त्यही खानको जोहो गर्ने क्रममा घेरै मानिसहरूको जनधनको क्षति भएको फेहरिस्त धेरै लामो छ । यसलाई मेचीनगरको प्रमुख समस्याको रुपमा लिएर दीर्घकालीन हल खोज्न हजुरहरु लागि पर्नुहुने छ भन्नेमा आशावादी छु ।

६) शिक्षा क्षेत्र – मेचीनगरमा सरकारी विद्यालयहरुको अवस्था जीर्ण बन्दै गएको छ । केहीसालसम्म कक्षा कोठा भरी विद्यार्थी हुन्थे, चौर, विद्यालय भरी विद्यार्थी हुन्थे, अपबाद बाहेक अहिले सरकारी विद्यालय सुनसान जस्तै छ । हाम्रो आर्थिक हैसियत माथी उक्लिएर हो या सरकारी विद्यालयमा पढाइको गुणस्तर नभएर हो ? प्रश्न यथावत छ । तर उत्तर जीर्ण बन्दै गरेका विद्यालयहरुले कहिल्यै दिएनन् । नत सुकिला भएका शिक्षक वर्गहरुले दिनुभयो । सरकारले शिक्षा क्षेत्रमा गरेको बजेटको भाषण सुन्दा निजी स्कुलहरु भन्दा निक्कै माथी हुनुपर्ने हो सरकारी विद्यालय तर बिड्म्बना त्यस्तो हुन सकेको छैन । सरकारी विद्यालयहरुको सुधारमा जनप्रतिनिधि ज्युहरुको ध्यान जाओस् र सरकारी विद्यालयको मान्यतामा सुधार होस् ।

७)स्वस्थ क्षेत्र, स्वस्थ क्षेत्रको कुरा गर्दा धेरै दुख लाग्छ । अहिलेसम्म मेचीनगरले सरकारी तहबाट पाएको एउटा हेल्पोस्ट (स्वस्थ चौकी) हो । जहाँ औषधिको नाममा सिटामोल, कहिले त त्यही पनि हुदैन । हामी ग्रामीण भेगका जनता बिरामी पर्दा धेरै पहिला देखि भारतको सिलिगुडी र नक्सल जाने गरेका छौ । यो हाम्रो रहर होइन बाध्यता नै हो । त्यहाँ हामीलाइ धेरै कुराको समस्या हुन्छ । पहिलो त भाषाको समस्या, भाषाकै कारण हामीले अफ्नो सबै समस्याहरु डाक्टरसँग राख्न सक्दैनौं ।

र्को प्रमुख कारण बिचौलिया, त्यस अस्पतालसम्म पुग्नलाई हामीले कुनै न कुनै माध्यमबाट बिचौलियाको हात नसमाई हुदैन । जसका कारण हामी अधिक मात्रमा ठगिन बाध्य छौ । हाम्रै नगरमा सरकारी तवरबाट बनेको एउटा सरकारी अस्पताल तपाईंहरुकै कार्यकालमा हेर्न र देख्न सकौं । जिल्ला अस्पताल र त्यसको फेहरिस्त झन लामो छ । त्यसको बारे फेरि अर्को पत्र कोर्ने छु भन्दै मैले यत्तिमै बिट मारे । होलान अन्य धेरै विषयवस्तुहरु छुटेको, होलान अन्य मेचीनगर भित्रका समस्याहरु छुटेको म यसै पत्र मार्फत मेचीनगरका बौद्धिक बर्ग, शुभचिन्तक, शिक्षक, विद्यार्थी, विकासप्रेमी लगायत सम्पुर्णलाई आआफ्नो क्षेत्रको समस्या र समाधानको उपाय तपाईंहरु पनि आफ्नो जनप्रतिनिधिहरुसम्म पुर्याउने कोसिस गर्नुहोला । धन्यवाद ।

उहीँ तपाईंहरुको शुभचिन्तक
मेचीनगर–१ भोर्लेनी
हालः दोहा कतार

प्रकाशित मिति : असार ७, २०७९ मंगलबार  ६ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास दैनिक

कार्यालय सम्पर्क - बिर्तामोड,झापा
सम्पादक – प्रदीप परियार
कम्पनी दर्ता नम्बर : १६९६५४/७३/०७४
विज्ञापनको लागि : ०२३–५३५०२८
सम्पर्क : ९८५२६३५०२८/९८५२६४५०२८
टाइम्स मिडिया नेटवर्क प्रा.लि. द्वारा प्रकाशित ‘इजलास दैनिक’को आधिकारिक वेबसाइट तपाईंको साझा इजलास