बैशाख ७, २०८१ शुक्रबार

बिर्तामोडको कार्यदललाई काम गर्न देऊ

सम्पादकीय
झापाको बिर्तामोडमा जारी आन्दोलनको उद्देश्यमाथि व्यापक शंका गर्ने ठाउँ उब्जिएको छ । आन्दोलन शुरु भएकै कारण बिर्तामोड नगरपालिकाले कार्यदल बनाइसकेको छ । कार्यपालिका बैठकबाट आन्दोलनरत पक्षले उठाइरहेको बुधबारे हटियाको समस्या समाधानका लागि कार्यदल गठन भयो । तर, कार्यदल गठन भइसक्दा पनि आन्दोलन रोकिएन । कार्यदललाई एक महिनाको समय दिइएको छ । त्यस कार्यदलले एक महिनामा त्यहाँको समस्याको पहिचान र समस्या समाधनका विकल्पहरु बारे अध्ययन गर्ने छ ।

कार्यदल गठन हुनु पनि आन्दोलन कै उपलब्धी हो । यसले समाधानका लागि पक्कै केहि न केहि उपाय ल्याउने छ । बिर्तामोड नगरपालिकाले बुधबारे हटियालाई व्यवस्थित व्यापारीक मल निर्माण गर्ने योजना अघि बढाएपछि वाणिज्य संघको नाममा आन्दोलन शुरु गर्नु आफैमा अनौठो भएको छ । यस आन्दोलनको उद्देश्य मिटर जडान मात्रै गर्ने हो भने त्यसको अध्ययनका लागि कार्यदल गठन भइसकेको छ । तर, आन्दोलनरत पक्षको गतिविधिले कुनै भित्रिया उद्देश्य पनि हुन सक्ने संकेत गरेको छ । यदि मिटर मात्रै मुल उद्देश्य हो भने कार्यदललाई काम गर्न दिनुको विकल्प छैन ।

बुधबार आन्दोलनकारीको अराजक हुलहुज्जतका कारण प्रहरीले नियन्त्रण मै लिनुपर्ने अवस्था बन्यो । शान्तिपूर्ण बिर्तामोडमा अगुवाहरुबाटै यस प्रकारको गतिविधि हुनु शोभनीय भएको छैन । आन्दोलनमा सबै व्यवसायीको समर्थन पनि देखिदैन । कानुनी रुपमा नरहेका व्यवसायीको पक्षमा वाणिज्य संघका केहि व्यक्तिले हुलहुज्जत गरेर आन्दोलनलाई अघि बढाउँदा यसको परिणाम सकारात्मक आउने देखिदैन । कुनै माग सम्बोधन गर्नका लागि शान्तिपूर्ण र व्यवहारिक आन्दोलनको जरुरी पर्छ । यो आन्दोलन हिंसात्मक बाटोमा अघि बढेको छ । यसलाई तत्काल रोकेर कार्यदलको प्रतिवेदन पर्खनुको विकल्प छैन । सहमति, सहकार्यको बाटो अविलम्ब खोजौं ।

प्रकाशित मिति : असार ९, २०७९ बिहीबार  ७ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]