जेष्ठ ४, २०८१ शुक्रबार

कथा : विहे, पैसा र छोरी

जीवनका अनेक भोगाईहरु नै कथा या कितावका लागि लेखिने खुराक बन्नुपर्छ होइन र ? करिव तीन बर्ष खर्च गरेर लेखकले पनि एउटा कथा लेखेका छन्, सायद यो कथा एक कुशल चलचित्र निर्देशकले पाए छायांकन गरेर हलमा रिलिज नै गर्छन् होला । उक्त कथा नेपाली समाजमा मानिसहरुको जीवनसँग प्रत्यक्ष जोडिएको घटना जस्तै नै हुन सक्छ, पढ्दै जाँदा यस्तो कुरा पनि कथा हुन्छ र यो सार्वजनिक गर्नु हुन्न थियो भनेर लेखकको आलोचना, बिरोध या कथाले छोएका पात्रहरुबाट धाक धम्की नि आउछ सायद । तर लेखकले सबै कुराको सामना गर्ने साहसका साथ यो कथालाई लेखिसकेर दुई बर्षको प्रतिक्षा पछि सार्वजनिक गर्ने आँट गरेका छन् । उनी भन्छन् यस कथाका घटना या पात्र काल्पनिक हुन् । कसैको जीवनमा प्रत्यक्ष मेल खान गए संयोग सम्झनु होला ।

बिवाहलाई कसरी बुझनु भएको छ ? खैर मानिस अनुसारको भिन्दा भिन्दै परिभाषा होला । यो कथा बिवाहसँग जोडिएको छ । कथाका पात्र लगनशिल, केही गर्नुपर्छ भन्ने सकारात्मक सोच बोकेका २७ बर्षका युवक हुन्छन् । उनको आफ्नै जीवन भोगाई र बिवाहको पेरिफेरिमा कथा घुमेको छ । कथाको अन्त्यमा ति युवाको भोगाईमा बिवाहको परिभाषा नै अलग बनिदिन्छ । र, उनले बुझ्छन् कि केही मानिसका लागि बिवाह केवल सम्पत्ति आर्जन या व्यापार नै हो भन्ने कुरा र उनका लागि यही शिक्षासँगै बिवाहको नयाँ परिभाषा बन्न पुग्छ । कथामा उनले आफैबोलेका छन् यसरी … ।
….

केही बर्षअघिसम्म खरले छाएको एउटा झुप्रोमा महिनाको दुई सय रुपैँया भाडा तिरेर निद्रा खोज्ने म र मेरा आमा बुवा आज दिनरातको मिहेनत र परिश्रमले आफ्नै पौरखले बुनेको संसारमा ओत लाग्न सफल भएका छौ । ति दिनहरु बिर्सन कहिले सकिन्न । र, लेख्ने नै हो भने ति पलहरुको अर्को एउटा किताव बन्न सक्छ । उमेरले २७ औं बसन्त पार गरिसक्दा मेरो जीवनले पाएको व्यवसायिक सफलता प्रति सन्तुष्टै छु । धन कमाउने र समृद्ध हुने चाहना मेरो पनि नभएको होइन् । आवश्यकता त जीवनमा हावी हुन्छ नै तर आफ्नै बलबुतोमा कमाई खाने जुन बाटो खडा गरेको छु त्यसमा कुनै असन्तुष्टि भने छैन ।

मिहेनतमा यति सम्म डुबियो कि न साथी संगतीसँग लागेर बरालियो न चुरोट, जाँड रक्सी जस्ता कुलतमा फसियो । उमेरमा माया प्रेम केहीसँग बसेकै थियो । तर मेरो कुनै पनि प्रेम बिवाहसम्म पुगेन् । क्रिकेट खेलमा दोस्रो इनिंग खेलाइए जस्तै जीवनको दोस्रो इनिंग भनेको बिवाह नै हो । बिवाह गरेपछि मानिस अझ परिपक्क हुन्छ र घर गृहस्ती शुरु हुन्छ भन्ने हामीले सुनेको र एक हिसाबले सत्य पनि हो । अन्ततः बिवाहको जिम्मेवारीलाई अंगाल्ने साहस गरे । बिवाहका लागि आफन्त, नातागोता, साथीभाई र घर परिवारको चरम दबाव पनि थियो । बिवाह गर्नलाई सबै लागेर बधु खोज्न थाले ।

धेरै हेरियो चित्त बुझेन । हुन त जोडी भावीले जुराएको हुन्छ भन्छन् र त्यही भएर होला टाँडा टाँडासम्म खोज्दा र जुराउन चाहँदा नजुरेको बिवाह घर नजिकै जुर्यो । केटीको सानीआमा र आमाले मलाई पहिले देखि नै नियालिरहेको रहेछन् । र, कुरा उनीहरुले आफै चलाए । मलाई मन पराएरै आफ्नो छोरी दिन पुगे । केटीलाई पनि मैले थोर बहुत चिनेको । अझ मैले पडाएकै र वरपर बुझ्दा त्यस्तो नराम्रो प्रतिक्रिया आएन पनि । भन्दा आफ्नै बढी बढाई गरे जस्तो, केटी पक्षबाट मलाई असाध्यै मन पराए, जँहासम्म मैले बुझे अनुसार उनीहरु मलाई उमकाउन चाहन्न थिए । जुरेर पनि होला उनीसँगै बिवाह गर्ने निधो भयो । दुई पक्ष नै भेट भएर कुरो पनि छिनियो । हामी सामान्य र संस्कार बुझेको परिवार । ठूला बढाको आदार सत्कार गर्ने र आफ्नै काममा कटीबद्ध भएर लाग्ने संस्कार बोकेका छौ । त्यस्तै हुन्छन् होला सबै भन्ने लागेर बिवाहका लागि राजी भइयो ।

हाम्रो जेथो अनुसार सामान्य ढंगबाटै बिवाह गर्ने हाम्रो चहाना थियो । तर उनीहरु हामी भन्दा सम्पन्न, चाहना बेग्लै । उनीहरुको चाहना अनुसार नै चल्न बाध्य बनाइयो । फुलमाला गरियो । दाँतमा ढुंगा तः मलाई त्यति खेर लाग्यो जब फुलमालाको भोलि पल्टै केटी पक्षले मलाई बोलाएर अब बिवाह गर्न सकिन्न भने । मेरो होस उड्यो । कारण के हो त भनेर सोध्दा फुलमालामा दिएको औठी सानो भयो । लगाएको लुगा जुत्ता राम्रो गतिलो भएन् । हाम्री छोरीको भविष्य बिग्रन्छ भन्ने कुरा राखे । मलाई झसंग मनमा सम्पत्तिको लागि बिवाह गरेको हो र ? भन्ने प्रश्न उब्जिएकै हो । नगर्नु फुलमाला गरियो यतिकै छोड्नु आफ्नो इज्जतमा दाग लाग्ने डर । मैले आफ्नो दिदी र आमालाई केटीको घरमा बोलाएर कुरा गर्न लगाए । बल्ल तल्ल उनीहरु बिवाह गर्न राजी भए । उनीहरुको शर्त थियो बिवाहमा लोकलाई देखाउन कै लागि भए पनि झरिझुट्ट गहना लिएर आउनु पर्ने ।

………

ठिकै छ भनेर हामीले बिवाहका लागि राजी जनायौ । ऋणपान गरेरै भए पनि गहना जोड्न थालियो । बिवाहको मिति आइञ्जेलसम्म उहाँहरुको माग बढ्दै गयो । कहिले रानीहार यस्तो । यति तोलाको ल्याउनु पर्छ । कहिले तिलरी यो खालको, औँठी यस्तो, लुगाफाटा यस्तो र उस्तो । हुन्छ, भन्दै दुख सुख गरेर उनीहरुको माग बमोजिम चल्यौ । मलाई त्यति खेरसम्म पनि, यो विवाह नहुईजेलसम्म हो, बिवाह भएपछि सबै ठिक हुन्छ भन्ने आश लागिरहेको थियो । अहिले सोच्दा भावीले जुराको भनौ या भावीमा यस्तै थियो भनौ । बिवाहका लागि बाधाहरु नआएका होइनन् केटी पक्षमा जुठो पर्यो, बिवाह १५ दिनपछि सर्यो । त्यसपछि साना तिना अवरोधहरु आउदै गयो टार्दै गइयो ।

सायद भगवनलाई पनि यो बिवाह मान्य थिएन् । अन्ततः बिवाह भयो । सोचेको थिए, बिवाह पछि सबै ठिक हुन्छ भन्ने । तर यँहा सबै उल्टो हुदै गयो । दाइजो प्रथाको कटर बिरोधी म । बिवाहको समयमा बेहुली मात्रै भित्राउन दिए पुग्छ भन्ने माग राखेको थिए, नभन्दै मेरो माग अनुसार नै बरौनीको पिरामात्रै लिएर मैले बेहुली घर भित्राए । बिवाह गरेको समय हप्तादिन पन्ध्र दिन हुदै बित्दै जाँदा केटी पक्षले झनै धेरै तनाव दिन थाले । अनेक माग तेर्साउन थाले । सक्दो माग पुरा गर्दै गए ।

बिवाह गरेको महिना नै उनको कलेजको १ लाख ५० हजार फि तिर्नुपर्ने भयो । मेरो जिम्मेवारी नै हो भनेर आर्थिक अवस्था सामान्य थियो । सुन बेचेरै भए पनि तिरिदिए । अरु त्यस्ता कति हो कति । भरखर भित्राएको बुहारीको आचरण फेरिदै गयो । आमा बुबा, हजुरवा हजुरआमा कसैलाई नगन्ने, मुखमुखै लाग्ने जस्ता गतिबिधीले हैरान नै भइयो । केही सम्झाउन खोज्दा माइत गएर १०–१२ दिन ढुक्कै बस्दिने । विवाह त मर्नु र बाच्नु हुँदो रहेछ जस्तो मलाई त्यति खेर लाग्यो । घरमा भरखर भित्राएको बुहारीको भन्दा पनि ससुरालीबाट सासु आमाले शासन चलाउन थालिन् ।

मैले सञ्चालन गरेको व्यवसायमा सहयोग हुन्छकी भनेर बिवाह गरेको मैले उल्टै त्यो व्यवसायको इज्जत हुन छाड्यो । हँुदा हुँदै उनीहरुको माग बढ्दै गयो, मैले यत्रो परिश्रम गरेर बसाएको जग सबै त्यागेर, आमा वुवा छोडेर दुर्ई जना अष्ट्ेलिया जानु पर्ने रे, कि घर ज्वाई भएर ससुराली बस्नुरे । मैलै मेरो व्यवसाय, मेरो भविष्य र आमा बुबालाई छोड्न सक्ने कुरै भएन । बिवाह गरेको केही महिनामा नै माइत गएर बसेकी उनीलाई सुसुराली पक्षले मलाई उनीसँग भेटन दिन छोडे , भेट्न जाँदा गाली गलौच गर्ने, दुव्र्यवहार गर्ने, मार्ने र कुट्नेसम्मको धम्की आउन थाल्यो । त्यो घरमा जान सक्ने बातावरण बनेन । बाहिर झुकाएर बोलाएर भेट्दा उस्तै धाकधम्की । कत्ति गर्दा पनि सुख भएन । अनि मैले कुरा बुझन थाले यो सबै सम्पत्तिको लागि हो, साचो अर्थमा त उनीहरुले यसलाई बिवाह सम्झेकै थिएनन् । यत्ति लाख पैसा, गरगहना दे अनि हामी तँलाई छोडदिन्छौ लगायतको अनेकौ ब्ल्याकमेल मलाई हुन थाल्यो । यँहासम्मकी मार्ने उठिबास लगाउने, काम गर्न नदिने सम्मका धम्की आउन थाले ।

उनीहरुको तनावले मलाई भित्रभित्रै खोक्रो बनाउदै लग्यो । एकातिर समाजसँगै जोडिएको आफ्नो इज्जत, अर्को तर्फ घर परिवारको खुसी, म मानसिक रुपमा अस्वस्थ्य हुँदै गए । मानिसहरुले सोध्न थाले, म अनुत्तरित हुदै गँए । । केही सिप लागेन आफैलाई कोठामा थुने । कोठाको चार कुनामा बस्दा बस्दै झण्डै तीन महिना बित्यो । धन्न लकडाउकै समय थियो र अझ धेरै प्रश्नको सामना गर्नबाट बाचे । म कोठा भित्रै थुनिए । फोन सम्पर्क, सामाजिक सञ्चालबाट अलग भए । मलाई डिप्रेशन भएको हुन सक्छ भन्ने कता कता भान भयो । घर परिवारलाई भन्न सक्ने अवस्था थिएन या साथी भाईलाई नै जानकारी दिने अवस्था ठिक लागेन । सबैलाई तनाव दिन उचित ठानिन । जे भईरहेको छ केवल आफै भोग्दै गए । अनि म खोक्रो हुँदै गए । निद्रा लाग्न छोड्यो । केटी पक्षको तनाव, धम्की झनै धेरै बढ्दै गयो । उनीहरु मलाई सिध्याउने खेलमा सफल बन्दै थिए म सिधिरहेको थिए , डुबिरहेको थिए, डिप्रेसनको औषधी खान थाले कहिले चुरोट नखाने म चुरोट मै रमाउन थाले, रक्सी लत बन्न थाल्यो । घटेर लुरे भए । संसार सकिएको भान भयो, बाच्न खासै मन लाग्न छोड्यो, आफैलाई सिध्याउने सोच आयो अनि नरामे कदम चाले तब एक्कासी होस आयो अनि झसँग भए अरे म के गर्दै छु, त पछि तेरा सपना छन्, आमा बुवा तेरा परिवार, तेरो घरको एउटै मात्र आशा तँ नै होस, यो सब कुरालाई डटेर सामना गर भन्ने भित्रैबाट आवाज आयो अनि साहस पनि ।

तब म लडाईमा फर्किए । मैले सोचे उनीहरुले सोचे जस्तो सम्पत्ती म सँग छैन् । आखिर लडाई त सम्पत्ति कै त हो म किन डराउने, अर्को कुरा प्रतिष्ठाको कुरा मान्छेले बुझनेछन् होला नबुझे बुझदैनन् म बाच्नुपर्छ, लड्नुपर्छ गरेर देखाउनु पर्छ भन्ने साहास आयो ।

मलाई सहरमा बसेका मानिसहरु यत्ति सारो ‘जंगली’ पनि हुँदा रहेछन् भन्ने पहिलो पटक थाँहा भयो । मानिस पैसाको लागि कतिसम्म गिर्न सक्दो रहेछ भन्ने कुरा मैलै आफ्नै जीवनमा भोग्दै गए । बिवाह केटा र केटीको मेल, दुई परिवारको सम्बन्ध भन्ने बुझेको म केही मानिसका लागि व्यापार नै रहेछ भन्ने लाग्यो । म अरुको दुखमा बोल्ने, अरुलाई पिर पर्दा आवाज उठाउने मान्छेलाई त यस्तो गरिदो रहेछ भने सामान्य बोल्नै नसक्ने मानिसहरुको अवस्था कस्तो होला, धेरै दुख पक्कै मनमनै गुम्सिएको छ भन्ने लाग्यो अनि म लड्न थाले ।

शुरुमा सामाजिक रुपमै समस्याको समाधान खोजौ भन्ने प्रयत्न गरेर कति पटक भेला मेरो आफ्नै पहलमा डाँके अह आएनन् । बल्ल बल्ल के कसो गरेर भेलामा आए तर सम्बन्धित व्यक्ति बाहेक । अनि माग राखे २५ लाख रुपैयाँ । २५ लाख दिनु भनेको म हार्नु हो भनि ठानेर मैलै दिइन । दिन मन यदि मेरो थियो भने पनि औकात थिएन । अनि सोचे कानुन होलानी अव अदालत जान्छु भनेर सबै बिवरण सहित मुद्दा आफै हाले । अनि प्रति उत्तरमा झनै धेरै आरोप र लान्छना लगाइयो । बन्धक बनाइएको, कुटपिट गरेको, दाईजोको नाँउमा हेला गरेको भनि धेरै कुरा । मुद्दामा बहस हुन थाल्यो, नेपालको कानुन हो छोरा मान्छेको भन्दा छोरी मान्छै कै पक्ष धेरै लिन्छ भन्ने थाहा थियो तर बिकल्प थिएन, कयौं रात एक्लै चिच्याउदै, रुदै कराउदै सबै आइपर्ने परिस्थितिको सामना गर्दै लडे, अब मलाई फेरि साहस गुमाउनु थिएन् ।

सम्पत्ती नहुनु मेरो लागी एकदै सवल पक्ष ठहरियो । मैलै अन्त्यसम्मै जिद्दी गरिरहे । मसँग सम्पत्ति छैन म दिन सक्दिन, सक्छौ भने खोजेर लैजाऊ । म झुक्दिन । आफ्नो इज्जतको पर्वाह नगरी मन भरिको पिरलाई लुकाएर मैले ठूलै स्वरमा जिद्दी गर्न थाले, आफ्नो काम व्यवहार लथालिङगै भयो, सबै त्यागेर म लडाईमा होमिए सेना सरह । मुद्दा चलेको १ बर्ष पुग्यो । अनि उनीहरुलाई लाग्यो सायद यो झुक्दैन, फेरि मैले के सुने भने केटी अर्कै केटासँग अष्ट्रेलिया जान लागेको छ भन्ने । पहिला मलाई पनि प्रस्ताव आएकै थियो । म गइन्, त्यो खवरले मौका यहि हो हार मान्नु हुन्न भनेर कसिएर लागे अनि आवाजलाई बुलन्द बनाउदै लगे । अन्ततः पैसा रुपैयाँ सम्पत्तिको कुरा त के रात दिनको तनावपछि बल्ल मुद्दाको फैसलाको दिन आयो अनि जे फैसला भयो त्यो मेरो पक्षमै भए जस्तो अनुभूति भयो । त्यो दिन जिन्दगीको ठूलो खुसी थियो । मेरो साहस र जिद्दीले जित्यो जस्तो लाग्यो ।

कानुनी रुपमा र सम्पत्तिको हिसावले अब म पूर्णतय यो घटना र अब आइपर्ने परिस्थितिबाट सुरक्षित छु जस्तो लाग्यो । अहिले म आफ्नो घर परिवार, व्यापार व्यवसाय मै व्यस्त छु । हो त्यो करिव दुई बर्षको पीडाले अझै मन त पोल्छ । सम्हालिने प्रयत्न जारी छ । भनिन्छ, नि बाहिर हासेर भित्रभित्रै रुनेहरु कति होला । त्यो संख्यामा मेरो नाम अवश्य छ । तर जे भएनी यो अवधिमा जुन मानसिक तनाव र समाजको प्रश्नले घोचेको छ त्यसले ठूलो चोट दिएको छ । ढुक्क पनि छु, अनि खुसी पनि । जे नहुनु थियो भयो वा जे हुनु थियो भयो, यसलाई जसरी बुझेनी हुन्छ । अब राम्रो हुनेमा म बिश्वस्त नै छ । म मेरो आमा बुवासँगै छु । त्यसमा धेरै नै खुसी छ । एउटा ठूलो रोग थियो । बेलैमा पन्छियो । यत्ति भए बाँकी जीवनलाई ठूलो शिक्षा र मेरा आगामी कदमका लागि सजगता पनि मिल्यो भनेर चित्त बुझाई रहेको छु भन्दै पात्रले आफ्नो कथा यसरी टुंग्याउछन् ।

नेपाली समाजमा हाल महिला हिंसाका घटनाहरु दिनानुदिन सार्वजनिक भईरहेका छन् । घटना सार्वजनिक भए पश्चात नै आवाज उठ्ने र साहनुभूति पाउन पनि थाल्छन् । माथि पात्रले सार्वजनिक गरेको कथालाई के हिसां भन्न मिल्छ् ? आवाज नै उठाउनु त पर्दैन तर हिंसा यदि हो भने यस्ता घटनाहरु कति होलान हाम्रो समाजमा ? आफ्नो प्रतिष्ठामा आँच आउने डरले पुरुष पनि त गुम्सिएका छन् नि । के हामीले सहानुभूती नदिने । यदि दाईजो लिन कुप्रथा हो र कानुन बिरोधी प्रक्रिया हो भने बिवाहको नाममा गरिने पैसासँगको ब्ल्याकमेलिङ ? यसैका कारण धेरै सम्बन्धहरुबीच हाल सम्झौता हुन छाडेको छ । योसँग भएन भने यति अंश लिन्छु छोड्दिन्छु सजिलो बनाईदिएको छ नेपालको कानुनले । सम्बन्ध त आखिर सम्झौताले चल्ने हैन र ? मायासँगै सम्बन्धमा सम्झौता भएन भने कति जनासँग सम्बन्ध बिच्छेद् गर्ने ? यस्ता घटनाहरुसँगै भित्रिएको बिकृतिको खाडल दिन दिनै ठूलो बन्दै गएको छ । महिला हिंसा कै बराबरमा यस्ता घटनाहरु उत्तिकै संख्यामा छन् । यसलाई के नाम दिने ? खै…
– सेवक

प्रकाशित मिति : असार १८, २०७९ शनिबार  ७ : ३२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]