बैशाख १९, २०८१ बुधबार

अर्जुनधाराकी चन्द्रमायाले भनिन् – निस्सा पाउँदा पनि, धनिपुर्जा पाए जस्तो लाग्यो

अर्जुनधारा । आफूले भोगचलन गर्दै आएको जमिनको धनीपूर्जा हातमा छैन । कर्मचारीले लगत संकलन गरेको वर्षौं बिते पनि तत्काल धनीपूर्जा हात लाग्ला भन्ने कमै आशा बोकेकी झापा अर्जुनधारा– १ स्थित टप्पुकी चन्द्रमाया बिक शनिबार औधी खुसी भइन् । अर्जुनधारा वडा नम्बर १ को कार्यालयमा आयोजित कार्यक्रममा अन्य सहभागीजस्तै उनी पनि बसिरहेकी थिइन् ।

औपचारिक कार्यक्रम सकिन लाग्दासम्म सहभागी नचट्पटाइ बसिरहे । वडा सचिव मञ्जु भट्टराईले ७३ वर्षीया चन्द्रमायाको नाम बोलाइन् । र, प्रमुख अतिथिको हातबाट एक पाना कागज थापिन् । उनलाई थाहा छैन, त्यो कागजमा के छ भनेर तर, उनलाई लागेको छ कि त्यो कागज आफूले जोतभोग गर्दै आएको जमिनको धनीपूर्जा हो भनेर ।

उनले एक सासमा भनिन्, ‘७३ वर्षको उमेरमा धनीपूर्जा पाएको छु ।’ फेरि सुधार्दै भनिन्, ‘धनीपूर्जा पाएजस्तै लागेको छ । धेरै खुसी छु ।’ उनले पाएको एक पाना कागज वास्तवमै उनले जोतभोग गर्दै आएको जमिनको लगत संकलन गरिएको प्रमाणपत्र हो । त्यसलाई सरकारी भाषामा निस्सा भनिन्छ । र, उनलाई कागज (निस्सा) प्रदान गर्ने व्यक्ति हुन्, राष्ट्रिय भूमि आयोग झापाका अध्यक्ष तिलकसिंह पाण्डे । निस्सा पाउनासाथ चन्द्रमायाले केही नसोची आफ्ना भनाइ राख्न थालेकी थिइन् । उनलाई आयोजकले समय पनि उपलब्ध गराएको थिएन । तर, उनले आफ्ना खुसी साटेरै छाडिन् ।

उनीजस्तै धेरै स्थानीयबासी उपस्थित थिए । कतिका आँखा रसाएका थिए भने कति भावुक पनि । कति चाहिँ आक्रोसमा पनि भेटिए अनि आफ्ना गुनासा राख्न भ्याइरहेका थिए । यो दृश्य थियो, झापाको अर्जुनधारा नगरपालिका क्षेत्रमा रहेका भूमिहिन तथा अव्यवस्थित बसोबासीहरुका लगत संकलनपछि निस्सा बाँड्न सुरु गरिएको क्षण । करिब डेढ वर्षअघि नै लगत संकलन गरिसकिएको भए पनि विविध कारणले सम्बन्धित व्यक्तिलाई निस्सा वितरण गरिएको थिएन ।

अर्जुनधारा वडा नम्बर १ मा रहेका भूमिहिनहरुलाई आयोगका अध्यक्ष पाण्डे, नगर प्रमुख बलदेव सिंह गोम्देन, वडाध्यक्ष उपेन्द्र बस्नेतललगायत जनप्रतिनिधिले निस्सा वितरण गरे । निस्सा भनेको सम्बन्धित व्यक्तिबाट जग्गाको फारम भरिएको नगरबाट प्रमाणित कपी भएको अध्यक्ष पाण्डेले बताए । उनले स्थानीयलाई आश्वस्त पार्दै आफ्नो कागजात बुझाएको प्रमाण भएकाले सुरक्षित राख्न आग्रह पनि गरे । ‘निस्सा अस्थायी धनीपूर्जा पनि हो’, उनले भने, ‘सक्कल धनीपूर्जा नाप नक्सापछि पाइन्छ ।’ निस्सा पाइसकेपछि नाप नक्सांकनका लागि चाँडै कन्ट्रोल प्वाइन्ट खडा गरेर प्रक्रिया अघि बढाउन नगरसमक्ष उनले आग्रह पनि गरेका छन् । उनले भूमिहिनलाई सकेसम्म चाँडो धनीपूर्जा हातमा दिनका लागि अपनाउनुपर्ने प्रक्रियाका बारेमा पनि जानकारी दिए ।

अर्जुनधाराका प्रमुख गोम्देनले भूमिहिनहरुको समस्या र बल्झिरहने खोलाको समस्या पहिलो प्राथमिकतामा रहको बताए । उनले भूमिहिनले पाएको निस्सा धनीपूर्जा पाउने पहिलो आधार भएको भन्दै यसमा समस्या नबल्झाइ अघि बढ्न कोही पनि प्रलोभनमा नपर्न सचेत गराएका छन् । उपप्रमुख खड्गमाया पराजुलीले निस्सा वितरणले स्थानीयले धनीपूर्जा पाउने आशा जागेको सुनाइन् । आयोगको कामले मूर्तरुप लिने विश्वास व्यक्त गर्दै कुनै विवाद भए तत्काल समाधान गर्न जुट्नुपर्ने तर अवरोध आउने कुनै काम गर्न नहुनेतर्फ पनि औँल्याइन् ।

आयोगका सदस्य सचिव तथा नापी शाखा झापाका प्रमुख दुर्गादास महर्जनले निस्सा अव्यवस्थित रुपमा बसोबास गरिरहेका र भूमिहिन भएको यकिन गरेको प्रमाण भएको सुनाए । उनले धनीपूर्जा पाउनुअघि नाप नक्सांकन गर्न समय लाग्ने भन्दै प्रारम्भिक चरणबाटै काम अघि बढ्ने पनि बताए । वडाध्यक्ष बस्नेतले वडामा १ हजार ५११ जना भूमिहिन तथा अव्यवस्थित बसोबासीहरुले नगरमा लगत संकलन गराएको जानकारी दिए ।

उनीहरुलाई सकेसम्म चाँडै निस्सा वितरण गरिसकिने पनि उनले बताए । वडा सदस्य मदन लिमेलले स्वागत गरेको कार्यक्रममा वडाध्यक्ष बस्नेतले औचित्यमाथि प्रकाश पारेका थिए भने आयोगका जिल्ला सदस्य तारा सुवेदी, स्थानीय नयन अधिकारी, पवन खनाललगायतले आफ्नो जिज्ञासासँगै वस्तुस्थितिबारे जानकारी गराएका थिए ।

प्रकाशित मिति : असार १८, २०७९ शनिबार  ८ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]