चैत्र १५, २०८० बिहीबार

मेचीनगरमा बाढीका वितण्डा : तटबन्धनमा ५ अर्व खर्च लाग्ने

ज्यामिरगढी । हरेक बर्खामा डुवानमा पर्ने मेचीनगरका विभिन्न क्षेत्र यसपटक पनि उही दशा दोहोरियो । असारको तेस्रो सातासम्म मेची, निन्दा, हडिया र टिमाइ खोलामा आएको बाढीले नदी कटान हुँदा स्थानीयको खेतीबाली र घरहरुमा क्षति पुगेको छ ।

पूर्वकै मुख्य सीमा नाका रहेको मेचीनगरमा वर्षेनि हुने डुबानको कारण के हो ? यसलाई रोक्न के गर्न सकिन्छ । यसमा कसैको चासो छैन ।

मेचीनगर हरेक वर्ष बाढीको चपेटामा परिरहेको छ । तर, मेचीनगर नगरपालिका तथा अन्य जिम्मेवार निकायले यसको कारण खोज्ने प्रयास गरेका छैनन् । कारण नै नखोजेपछि त्यसको निदानको उपाय त धेरै परको कुरा भयो ।

मेचीनगर–१५ स्थित पालियाको लिम्बु वस्ती र सशस्त्र प्रहरीको विओपी क्षेत्र नै बाढीको उच्च जाखिममा रहेको छ । वर्षेनि बाढीबाट नदी कटानले मेचीनगरका विभिन्न वडाका स्थानीयको बालीनालीमा नष्ट हुँदा लाखौँको क्षति भएको छ । मेचीनगरको डुवानको सन्दर्भमा नगरपालिकाले पनि खासै चासो नदेखाएको पीडितहरुको गुनासो छ ।

असार लागे यता लगातारको वर्षासँगै आएको बाढीले मेचीनगरका स्थानीय चिन्तित बनेका छन् । शनिबार मेचीनगर नगरपालिकाका प्रमुख गोपाल चन्द्र बुढाथोकी मेची नदीको कटानले वडा नम्बर १५ को विभिन्न वस्ती डुवानमा परेपछि निरीक्षण गर्न गएका थिए ।

मेचीनगर–१५ स्थित भिण्डी वस्ती, पाहन वस्ती, वंशल टि–स्टेट १० नम्बरको खडु वस्ती, हेल्दुबारीको निन्दा खोला, पालियाको लिम्बु वस्ती, पालिया पारी सन्थाल वस्ती र सशस्त्र प्रहरी बलको विओपीमा नदी कटान हुँदा सो क्षेत्र जोखिममा परेको भिण्डी वस्ती युवा समितिका सञ्चालक रन्जित शहनीले बताए ।

पालियाको लिम्बु वस्ती र सशस्त्र प्रहरी बलको विओपी क्षेत्र नै बाढीको उच्च जोखिममा रहेको भिण्डी वस्ती युवा समितिका सहसञ्चालक हरिकुमार मर्डीले जानकारी दिए । नदी कटानले सो वस्तीका स्थानीय नरेश विक, मिलन विक, असोक राई, मन्तेष पाहन, प्रेम गुरुङ लगायतको खेतीबालीमा क्षति पुगेको शहनीको भनाई छ ।

‘मेची, हडिया, निन्दा र टिमाई खोलाको बाढीले नदी कटान हुँदा वर्षेनि स्थानीयको खेतीयोग्य जमिनमा क्षति पुगिरहेको अवस्था छ’, नगरप्रमुख बुढाथोकीले भने–‘यस्लाई रोक्न स्थानीय सरकारले सक्दैन । तटबन्धन गर्न करिव ५ अर्व लाग्छ । हाम्रो बजेटले भ्याउदैन ।’

यसपटक प्रदेश र संघीय सरकारले मेचीनगरलाई तटबन्धन वा नदी नियन्त्रणका लागि बजेट नछुट्टाको उनको आरोप छ । उनका अनुसार यस विषयमा नगरपालिकाले सामान्य मात्र योजना बनाएर काम गर्न सक्छ । त्यसका लागि ठोस योजना बनाएर कार्यक्रम ल्याउन माथ्लो निकायमा पहल गरिने नगरप्रमुख बुढाथोकीले बताए ।

वडा नम्बर १५ स्थित सशस्त्र प्रहरी बल विओपीका नायव निरीक्षक अमर विश्वकर्मा र स्थानीयले शनिबार दिउसो नगरप्रमुख बुढाथोकीलाई खोलाले कटान गरेको प्रभावित क्षेत्रहरु देखाएका थिए ।

प्रकाशित मिति : असार १९, २०७९ आईतबार  ७ : २७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]