बैशाख १२, २०८१ बुधबार

मोहनमायामा छोराछोरी पढ्दैछन् भन्दा अभिभावक गौरव गर्नुहुन्छ : मेयर प्रसाई

तत्कालै शिक्षा ऐन बन्छ र लागुहुन्छ : उपप्रमुख

बिर्तामोड । बिर्तामोड नगरपालिकाको नगरप्रमुख पवित्रा महतारा प्रसाईले मोहनमाया मावि देशकै उत्कृष्ट बन्नुपर्ने बताएकी छन् । उनले नगरको उत्कृष्ट विधालय अब देशमै उत्कृष्ट बन्न शुभकामना दिइन् ।

सोमवार आयोजित बधाई शुभकामना एवम् शैक्षिक सामग्री तथा छात्रवृत्ति वितरण कार्यक्रममा बोल्दै उनले मोहनमाया मावि जस्ता विधालयहरुका कारण सरकारी विधालयमा छोराछोरी पढ्दैछन् भन्दा गौरव अनुभुति हुने बताइन् । उनले भनिन्, हिजोअस्तिसम्म अभिभावकहरु सरकारीमा छोराछोरी पढाउछु भन्न अप्ठ्यारो मान्नुहुन्थ्यो, अहिले गौरवसाथ भन्नुहुन्छ । उनले यहाँका विधालयहरुको भौतिक एवम् गुणस्तर सुधारमा स्थानीय सरकार जिम्मेवार भएर लागिपर्ने बताइन् । उनले नगरले शिक्षा ऐन ल्याउन लागेको बताइन् । ऐन ल्याएपछि शिक्षा क्षेत्रको सुधारमा थप मद्दत पुग्ने उनको भनाई छ ।

यस्तै, नगरउपप्रमुख नगेन्द्र संग्रौलाले शिक्षा ऐन निर्माणको तयारीमा बिर्तामोड नगरपालिका जुटेको जानकारी दिएका छन् । उनले ऐन निर्माण पश्चात लागु गरेर जाने बताए । उपप्रमुख संग्रौलाले भने – शिक्षा ऐन तत्कालै तयारी हुन्छ र लागु गरिनेछ । शिक्षा क्षेत्रका सरोकार राख्ने व्यक्ति, संस्थाहरुको सूझावका आधारमा ऐन निर्माण गरिने उनको भनाई थियो ।

उनले सबै मिलेर कार्ययोजनाका साथ काम गर्दा विधालयमा परिवर्तन ल्याउन सकिने उदाहरण मोहनमायामा पाएको बताए । मोहनमाया मावि हेरेर सरकारको लगानी उपलब्धीपूर्ण भएको अनुभूति गर्ने गरेको उनको भनाई छ । मोनमायामा पढ्न सोर्सफोर्स नै लगाउनुपर्छ, संग्रौलाले भने, ‘अन्य विधालयहरुले पनि मोहनमायाबाट सिक्न जरुरी छ ।’ विधालयसँग विधार्थीको भविष्य जोडिएका कारण शिक्षक, कर्मचारी र व्यवस्थापन समितिले प्रभावकारी रुपमा विधालय सञ्चालन गर्नुपर्नेमा उनको जोड थियो । उपप्रमुख संग्रौला भन्छन्, – अहिले लागुऔषधको ठुलो समस्या छ । शिक्षक, कर्मचारी र अभिभावकले यसबारे ख्याल गर्नुपर्छ ।

कार्यक्रममा शिक्षा शाखा प्रमुख तिलचन भण्डारी र वडा नं. २ का वडाध्यक्ष किशोर पौडेलले विकासको आधार नै शिक्षा भएकोले राज्यको लगानी पनि शिक्षामा धेरै भइरहेको बताएका छन् । उनीहरुले व्यवस्थापन समिति र शिक्षक कर्मचारीको लगनशिलताका कारण मोहनमाया अन्य विधालयको तुलनामा अगाडि रहेको भनाई थियो । उनीहरुले स्थानीय तहले भौतिक संरचना निर्माणमा सहयोग गर्ने भएकाले गुणस्तर सुधारमा शिक्षककै भूमिका हुने बताएका थिए ।

विधालय व्यवस्थापन समितिका अध्यक्ष नारायणसिंह राजवंशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विधालयको वर्तमान अवस्थाका बारे प्रधानाध्यापक शेरबहादुर श्रेष्ठले जानकारी गराएका थिए । सोही कार्यक्रममा कक्षा १ देखि ८ सम्मका छात्रा, सिमान्तर्कत र दलित विधार्थीलाई ४ सयका दरले छात्रवृत्ति प्रदान गरिएको थियो । कक्षा ९ र १० का दलित विधार्थीलाई छात्रवृत्ति प्रदान गर्दै विधार्थीहरुलाई ज्यामिति बक्स क्याल्कुलेटर प्रदान गरिएको प्रअ श्रेष्ठले जानकारी दिए । उनका अनुसार उत्कृष्ट विधालय भएपछि नगरबाट प्राप्त २ लाखले कक्षा ८ देखि १० सम्मका विधार्थीलाई गणित र अंग्रेजी विषयको कोचिङ कक्षाको व्यवस्था गरेको हो । विधालयले लेखाई सुधार, चित्रकलाका लागि सामग्री खरेद गरेको जनाएको छ ।

प्रकाशित मिति : असार २०, २०७९ सोमबार  ८ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]