चैत्र १५, २०८० बिहीबार

बिर्तामोडको बजेट, नीति तथा कार्यक्रम पारित

बिर्तामोड । बिर्तामोड नगरपालिकाको दोश्रो नगरसभा अन्तर्गतको पहिलो अधिवेशन सम्पन्न भएको छ । बुधबार नगरप्रमुख पवित्रा महताराको अध्यक्षतामा बसेको पहिलो नगरअधिवेशनको दोश्रो बैठक असार १० गते पेश भएको बजेट नीति तथा कार्यक्रम सम्बन्धी प्रस्ताव तथा विभिन्न विधेयक पास गर्दै सम्पन्न भएको हो ।

बैठकले निर्णयार्थ प्रस्तुत गरिएको आर्थिक वर्ष २०७९-८० को नीति, बजेट तथा कार्यक्रम सम्बन्धी प्रस्ताव, आर्थिक विधेयक, विनियोजन विधेयक, सहकारी विधेयक, स्वास्थ्य विधेयक र कर तथा गैह्रकर राजश्व सम्बन्धी विधेयक पास गरेको हो ।
उक्त कार्यक्रम तथा विधेयक माथि वडा नम्बर ६ का वडा सदस्य जीवन बाँस्कोटा, वडा नम्बर ५ का वडा सदस्य दुर्गा शिवाकोटी र वडा नम्बर १० का वडासदस्य पृथ्वी बस्नेतले सुझाव राखेका थिए । बैठकले बिर्तामोड नगरका १० वटै वडाहरु सम्पूर्ण प्रक्रिया पूरा गरी पूर्ण खोपयुक्त वडा घोषणा भई सकेको हुँदा बिर्तामोड नगरपालिकालाई पूर्ण खोपयुक्त नगर घोषणा गर्ने निर्णय गरेको छ ।

यस्तै बिर्तामोड नगरपालिका अन्तर्गत कार्यरत ३० जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई वार्षिक रुपमा (दशँै तिहारको अवसरमा) प्रोत्साहन स्वरुप एकमुष्ठ रकम १० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।
बैठकमा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले न्यायिक समितिको आर्थिक वर्ष २०७८-०७९ को प्रतिवेदन पेश गरेका छन् । प्रतिवेदनमा यस अवधिमा न्यायिक समितिमा जम्मा ४७ थान मुद्दा दर्ता भएको र अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरी आएका १५ गरी जम्मा ६२ थान मुद्दाको कार्वाही गरिएको जनाइएको छ । दर्ता भएका मध्ये ४७ थान मुद्दा फरछ्र्यौट गरिएको, १५ थान मुद्दा कारबाहीको प्रकृयामा रहेको र उक्त मुद्दालाई आगामी आर्थिक बर्षमा जिम्मेवारी सारी कारबाही प्रकृया अघि बढाईने जनाइएको छ ।

बैठकले नगरको न्यायिक समिति सदस्यमा २ जनालाई मनोनित गरेको छ । मनोनित हुनेहरुमा वडा नम्बर ७ का वडासदस्य खडानन्द निरौला र वडा नम्बर १ की वडासदस्य कमला महरा रहेका छन् । बैठकमा प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले दोस्रो नगर सभाबाट पारित भएका निर्णयहरुलाई प्रस्तुत गरेका थिए ।

बैठकको प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य पवित्रा निरौला खरेलले आगामी ५ वर्षको लागि गुरुयोजना निर्माण गरेर अघि बढ्नु पर्ने बताइन् । बिर्तामोडमा फोहोरमैला व्यवस्थापन, ढल निकास, सार्वजनिक शौचालयको समस्या रहेको भन्दै उनले सम्मुनत विकासको अवधारणा अनुसार विकास गर्दै जानुपर्ने बताइन् । उनले बजेट र नीति तथा कार्यक्रममा तालमेल हुनुपर्नेमा जोड दिइन् । प्रतिनिधि सभासदस्य खरेलले संघीय सरकारबाट बिर्तामोड नगरपालिका क्षेत्रभित्र परेका बजेटहरुको बारेमा समेत जानकारी गराएकी थिइन् । बैठकमा बोल्दै वडा नम्बर ६ का वडाध्यक्ष तथा नेपाली कांग्रेस बिर्तामोड नगर कमिटीका उपसभापति सूर्यप्रसाद कन्दङ्गवाले करको दायरालाई फराकिलो बनाउन वडा तथा टोल विकास संस्थाहरुलाई जिम्मेवारी दिएर नगरपालिकाले निगरानी गर्नु पर्ने धारणा राखेका थिए ।

बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९-८० को लागि १ अर्ब ३८ करोड ३५ लाख ४ हजार ४ सय ९० रुपैयाँ बजेट सहितको नीति तथा कार्यक्रम असार १० गते प्रस्तुत गरेको थियो ।

प्रकाशित मिति : असार २२, २०७९ बुधबार  ९ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]