बैशाख २१, २०८१ शुक्रबार

गरामनी स्वास्थ्य चौकी प्रथम, स्वयंसेविका र आमा समूहलाई सम्मान

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ८ मा रहेको गरामनी स्वास्थ्य चौकी स्वास्थ्य सुचाङ्कहरुको मुल्याङ्कनका आधारमा प्रथम भएको छ ।

स्वास्थ्य शाखाले शनिबार बिर्तामोडमा आयोजना गरेको आर्थिक वर्ष २०७८-०७९ को स्वास्थ्य तर्फको वार्षिक समीक्षा कार्यक्रममा प्रस्तुत गरेको प्रगति तथ्याङ्कका आधारमा गरामनी स्वास्थ्य चौकी प्रथम भएको हो । मुल्याङ्कनमा वडा नम्बर १० को सैनिकबजार आधारभुत स्वास्थ्य चौकी दोश्रो र वडा नम्बर ३ मा रहेको बिर्तामोड नगर अस्पताल तेश्रो भएको छ । विजेता स्वास्थ्य संस्थाका प्रमुख तथा सम्बन्धित वडाका वडाध्यक्षहरुलाई कार्यक्रमको प्रमुख अतिथि नगरप्रमुख पवित्रा महतारा प्रसाईले प्रमाणपत्र प्रदान गर्नुभयो ।

सोही कार्यक्रमका विच महिला, बालबालिकाको स्वास्थ्य अवस्थालाई प्रबद्र्वन गर्न, स्वास्थ्य सेवालाई समुदाय स्तरसम्म पुर्याउन र सामाजिक सेवाका विभिन्न क्रियाकलापहरुमा स्वयमसेवकको रुपमा महत्वपुर्ण योगदान पुर्याउने वडा नम्बर २ की शान्ता लिम्बु, वडा नम्बर ४ की रेणुका उप्रेती र वडा नम्बर ९ की विष्णुमाया श्रेष्ठलाई सम्मान गरिएको छ । उनीहरुलाई ५ हजार रुपैयाँ नगदसहित सम्मान पत्र प्रदान गरिएको थियो ।

यस्तै सम्मानित हुनेहरुमा आमा समुह पनि रहेका छन् । वडा नम्बर १ को जागृती स्वास्थ्य आमा समुह, वडा नम्बर ५ को इन्द्रेणी स्वास्थ्य आमा समुह र वडा नम्बर ७ को बिरान स्वास्थ्य आमा समुह रहेका छन् । उनीहरुले सम्मानपत्र सहित ५ हजार रुपैयाँ मुल्य बराबरको जिन्सी सामग्री प्राप्त गरेका छन् ।

कार्यक्रममा बोल्दै नगरप्रमुख प्रसाईले स्वास्थ्य पहिलो प्राथमिकतामा रहेकोले जनताले पाउने सुविधाबाट बन्चित गर्न नहुने बताइन् । उनले प्रक्रियागत रुपमा केहि समस्या भए हल गर्दै जनतालाई सरकारी स्तरबाट गर्न सकिने सेवा सुविधालाई सरल र सहज बनाउँदै लैजान निर्देशन समेत दिनुभयो ।

कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डे, वडा नम्बर ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्गवा, स्वास्थ्य कार्यालय झापाका प्रमुख योगराज घिमिरे लगायतले मन्तव्य राख्नुभयो ।
वार्षिक समीक्षा कार्यक्रममा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, वडा नम्बर ३ का वडाध्यक्ष मदन बुढाथोकी, वडा नम्बर ४ का वडाध्यक्ष राहुलकुमार शर्मा, वडा नम्बर १० का वडाध्यक्ष दुर्योधन गुरुङ्ग, स्वास्थ्य कार्यालय झापाका तथ्याङ्क अधिकृत चुणामणि लुईटेलको पनि सहभागिता रहेको थियो । स्वास्थ्य शाखा प्रमुख राजिव विष्टको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन सिअहेब अधिकृत दिपक सापकोटाले गर्नु भएको थियो ।

प्रकाशित मिति : असार २६, २०७९ आईतबार  ९ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]