चैत्र १६, २०८० शुक्रबार

प्राथमिक स्वास्थ्य केन्द्र गौरीगञ्ज अस्पतालमा स्तरोनन्ति

गौरीगञ्ज । झापाको गौरीगञ्ज गाउँपालिका–६ खजुरगाछीस्थित प्राथमिक स्वास्थ्य केन्द्र अब अस्पतालका रूपमा सञ्चालन हुने भएको छ । आर्थिक वर्ष २०७९-८० को साउन १ गतेदेखि प्राथमिक स्वास्थ्य केन्द्र १५ श्ययाको गौरीगञ्ज अस्पतालका रूपमा स्वीकृति पाउने भएको गाउँपालिकाले जनाएको छ । उक्त स्वास्थ्य केन्द्रमा डा. विनोद साहसहित तीन चिकित्सक कार्यरत छन् । स्वास्थ्य केन्द्रलाई अस्पतालका रुपमा विस्तार गर्न आवश्यक सबै प्रक्रिया पूरा गरेपछि साउन १ गतेदेखि विधिवत् अस्पतालमा बिस्तार हुने गाउँपालिकाका अध्यक्ष फूलवती राजवंशीले बताइन् ।

भारतीय सीमावर्ती क्षेत्र नजिकै रहेको गौरीगञ्ज आसपास अस्पताल छैनन् । त्यहाँका बिरामी सोही प्राथमिक स्वास्थ्य केन्द्रमा निर्भर रहनुपर्ने बाध्यता छ । स्वास्थ्य सेवा लिन दैनिक १५० भन्दा बढी बिरामी आउने गरेका छन् । स्थानीयवासी प्राथमिक स्वास्थ्य केन्द्रलाई बिस्तार गरी अस्पताल बनाउने भएपछि आफ्नै ठाउँमा विशेषज्ञ स्वास्थ्य सुविधा पाउनेमा आशावादी छन् ।

अस्पतालको सेवामा सहयोग पु¥याउन स्वास्थ्य विभागले हालै पाँच लाख बराबरको स्वास्थ्य सामग्री निःशुल्क प्रदान गरेको छ । विभागले बिरामीका लागि चाहिने अक्सिजन सिलिण्डरलगायत स्वास्थ्य सामग्री पालिका अध्यक्ष राजवंशीलाई हस्तान्तरण गरेको हो । अस्पतालमा गुणस्तरिय सेवा प्रदान गर्न छिट्टै थप डिजिटल भिडियो एक्स–रे मेसिन र एम्बुलेन्स उपलब्ध गराउन लागिएको राजवंशीलले बताएकी छन् ।

गौरीगञ्ज–५ जनताचोक छेउमा निर्माण हुने वडास्तरीय स्वास्थ्य चौकीकोसमेत राजवंशीले शिलान्यास गरिन् । करिब रु ४० लाखको लागतमा स्वास्थ्यचौकी निर्माण हुने वडाअध्यक्ष विजयसिंह गन्गाईंले बताए । वडा कार्यालयले यसअघि भाडाको घरबाट स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको थियो । स्वास्थ्यचौकी भवन निर्माण गर्न वडाध्यक्ष गन्गाईंले करिब रु २० लाख बराबरको दुई कट्ठा जग्गा निःशुल्क उपलब्ध गराएका थिए ।

प्रकाशित मिति : असार २७, २०७९ सोमबार  ७ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]