श्रावण ३१, २०७९ मंगलबार

विश्वकप क्रिकेट लिग दुई : नेपालद्वारा स्कटल्याण्ड पराजित

बिर्तामोड । आईसीसी पुरुष विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा स्कटल्याण्डलाई पराजित गरेको छ । गए राति सम्पन्न खेलमा नेपालले स्कटल्याण्डलाई पाँच विकेटले हराएको हो । नेपालले स्कटल्याण्डलाई पहिलो पटक हराएको हो ।

स्कटल्याण्डको ग्लास्गोस्थित टिटउड क्रिकेट मैदानमा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको थियो । स्कटल्याण्डले ब्याटिङ गर्ने क्रममा ४२ दशमव पाँच ओभरमा सबै विकेट गुमाउँदै १४४ रन बनायो । एक सय ४५ रनको विजयी लक्ष्य नेपालले २५ दशमलव एक ओभरमा पाँच विकेट गुमाएर भेट्टायो । नेपालको जीतमा आसिफ शेखको ७१ रन सामेल थियो । उनले ६२ बल खेल्दै एक छक्का र १० चौका प्रहार गरे ।

यस्तै कुशल भुर्तेलले २७ रन, देव खनालले चार, दीपेन्द्रसिंह ऐरीले तीन तथा आरिफ शेखले एक रन बनाए । रोहितकुमार पौडेल ३४ रनमा अविजित रहे । बलिङतर्फ स्कटल्याण्डका गाभिन मेनले तीन तथा एड्रिन निल र रिची बेरिङटनले एक÷एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ गर्ने क्रममा स्कटल्याण्डका लागि गाभिन मेनले अविजित ६४ रन बनाए । मार्क वाटले १७, साफ्यान शारिफले १६ र कलुम म्याकलोडले १३ रनको योगदान दिए । बलिङतर्फ नेपालका सोमपाल कामी र मोहमद आदील आलमले तीन-तीन, कप्तान सन्दीप लामिछानेले दुई तथा करण केसी र दीपेन्द्रसिंह ऐरीले एक÷एक विकेट लिए ।

यस सिरिजमा नेपालको यो पहिलो जित हो । यसअघि पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो । स्कटल्याण्डको भने यो पहिलो हार हो । पहिलो खेलमा स्कटल्याण्डले नामिबियालाई ७७ रनले हराएको थियो । जितसँगै नेपालले १८ खेलमा १७ अङ्क जोडेको छ । नेपाल अङ्क तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । बाइस खेल खेलेको स्कटल्याण्ड ३० अङ्कका साथ दोस्रो स्थानमा कायमै छ । सिरिजअन्तर्गत अब नेपालले तेस्रो खेल शनिबार नामिबियासँग खेल्नेछ ।

प्रकाशित मिति : असार ३०, २०७९ बिहीबार  ८ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास दैनिक

कार्यालय सम्पर्क - बिर्तामोड,झापा
सम्पादक – प्रदीप परियार
कम्पनी दर्ता नम्बर : १६९६५४/७३/०७४
विज्ञापनको लागि : ०२३–५३५०२८
सम्पर्क : ९८५२६३५०२८/९८५२६४५०२८
टाइम्स मिडिया नेटवर्क प्रा.लि. द्वारा प्रकाशित ‘इजलास दैनिक’को आधिकारिक वेबसाइट तपाईंको साझा इजलास