बलात्कृत बालिकाको पेटमा २२ हप्ताको भ्रुण, गर्भपतन गैरकानुनी हुने
बिर्तामोड । झापा अर्जुनधारा– ७ कि १५ वर्षीया बलात्कृत बालिकाको पेटमा २२ हप्ताको भ्रुण भएको स्वास्थ्य परीक्षणबाट देखिएको छ । बलात्कारमा संलग्नलाई कारवाही प्रक्रिया अघि बढाएसँगै बालिकाको पेटमा भएको बच्चा बारे सबैको चासो र चिन्ता बढेको छ ।
बिहीवार मेची अस्पताल भद्रपुरमा उनको स्वास्थ्य परीक्षण गरिएको थियो । परीक्षणका क्रममा बालिकाको पेटमा २२ हप्ताको बच्चा रहेको रिपोर्ट परिवारले प्राप्त गरेको छ । बलात्कृत बालिकाको न्यायका लागि समन्वय गरिरहेका स्थानीय युवाहरु बालिकाको जीवन रक्षा नै सबैभन्दा महत्वपूर्ण भएको बताएका छन् । यता, पेटमा भएको बच्चा अब के हुन्छ भन्ने बारे सर्वत्र चासो भएको छ । बालिकाको स्वास्थ्य र बच्चाको जन्मन पाउने दुवै अधिकारको लागि उनीहरुले मध्यमार्गी बाटो खोजेका छन् ।
कक्षा – ८ मा अध्ययनरत बालिकाले बच्चा जन्माउन सक्ने अवस्था नै छैन, ति युवा भन्छन्– उनको शारिरीक र पारिवारिक अवस्थाले बच्चा जन्माउन सक्ने परिस्थिति छैन । सो समस्याबारे अर्का युवा अभियान्ता कमल पोखरेलले राष्ट्रिय महिला आयोगसँग समन्वय गरिरहेको जानकारी दिए । पोखरेलका अनुसार महिला आयोगसँग समन्वय भइरहेको छ । उहाहरुसँगको समन्वयबाटै समाधान खोज्नेछौं । कानुनी प्रक्रियाबाटै बालिकाले न्याय पाउने हाम्रो विश्वास छ ।
कानुनी रुपमा १२ हप्तासम्मको गर्भपतन गर्न पाउने व्यवस्था भएपनि पीडित बालिकाको पेटमा २२ हप्ताको बच्चा छ । बलात्कार र हाडनाता भएको खण्डमा १८ हप्तासम्मको गर्भपतन गर्न सकिने जानकारहरु बताउँछन् । बिर्तामोडस्थित मनमोहन अस्पतालका स्त्री रोग विशेषज्ञ डा.एकराज गौतमले २२ हप्ताको गर्भपतन गर्नु कानुन विपरित हुने बताए । स्वास्थ्यकर्मीले २२ हप्ताको गर्भपत गरेमा गैरकानुनी हुने छ ।
डा.गौतमका अनुसार बच्चा जन्माएको खण्डमा पनि आमा र बच्चा दुवैको स्वास्थ्य जोखिममा हुनेछ । उनले यस अवस्थामा बच्चा जन्मिए बच्चाको विकासमा समस्या आइपर्ने र सानो हुन सक्ने जानकारी दिए ।
आउँदो मंसिर महिनामा मात्रै १६ वर्ष पुग्ने बालिकाको लागि पेटमा भएको बच्चा र उनको स्वास्थ्यमाथि गम्भीर संकट आइलागेको छ ।
झापाका प्रहरी प्रवक्ता बसन्त पाठकले बच्चाको सम्बन्धमा पीडितको माग बमोजिम हुने बताएका छन् । पीडित बालिकाको पेटमा रहेको भ्रुण कानुनी रुपमा गर्भपतन गर्न नमिल्ने बताए । मुद्धाको प्रक्रिया अघि बढेको छ, प्रवक्ता पाठक भन्छन् – अदालतले पनि फैसला गर्ने नै छ । तर, बच्चालाई जन्म दिएपछि पीडितकै माग बमोजिम व्यवस्था गरिने प्रचलन छ ।
यता, बिर्तामोडका डिएसपी रुगम बहादुर कुवरले बलात्कारको अभियोगमा पक्राउ परेका व्यक्तिलाई मुद्दा अघि बढाइएको जानकारी दिए । जाहेरीका आधारमा पक्राउ परेका व्यक्तिलाई बलात्कार मुद्धामा कारबाही प्रक्रिया अघि बढाएको छ । उनका अनुसार बच्चा जन्माएको खण्डमा दोषीले पालनपोषण गर्नुपर्ने र सम्पत्तिको अधिकार हुनेछ ।