यौनहिंसा विरुद्धको शिक्षा देऊ
सम्पादकीय
झापामा पछिल्लो महिनामा भएका दर्जनौ घटनाले सबैको ध्यान तानेको छ । त्यसमा बलात्कारका घटना पनि छन् । अनेकौं घटनामध्ये झापा अर्जुनधाराको एउटा बलात्कारको घटना अझ गम्भीर छ । सबै बलात्कारका घटना गम्भीर नै हुन् । अर्जुनधारामा बलात्कृत बालिकाको पेटमा २२ हप्ता पाँच दिनको गर्भ भएको स्वास्थ्य परीक्षणबाट पत्ता लागिसक्यो । ५-६ महिनादेखि छिमेकीबाटै लगातार बलात्कृत भइरहँदा पनि बोल्न नसक्नुले हाम्रो शिक्षामै कमजोरी भन्ने स्पष्ट छ । आफुमाथिको अपराध बोल्नै नसक्ने, व्यक्त गर्नै नसक्ने मान्छे बनाउने शिक्षाको अर्थ के होला ? जब, समय वितेपछि घटना बाहिर आयो ।
यौनहिंसाका घटना बढेपछि अहिले गाउँदेखि शहरसम्म आत्मरक्षाको तालिम समेत दिइन्छ । विधालयदेखि विभिन्न संस्थामार्फत दिइने आत्मरक्षा तालिमको उद्देश्य भनेकै यौनहिंसा हुन नदिनलाई हो । विधालयमा कितावी ज्ञान मात्रै दिदा विधार्थी आफैले समस्या भोग्नु पर्दा सजगता अपनाउन सक्दैनन् । कम्तिमा विधालयमा शिक्षक, शिक्षिकाले यौनहिंसा लगायतका विषयवस्तुमा अवगत गराउनुपर्छ । आफ्नै विधार्थी पीडित हुन सक्छ वा उसले अन्य कसैलाई मद्दत गर्न सकोस् भन्ने उद्देश्य राखेर जानकारी दिनुपर्छ ।
खासगरी विधालयमा कितावी ज्ञान मात्रै दिने चलन छ । सामाजिक रुपमा भइरहेका घटनाबारे विधार्थीलाई सचेत गराउनुपर्छ । यौनहिंसा भएमा व्यक्त गर्ने, परिवारमा जानकारी गराउने वा विधालयमा जानकारी दिने जस्ता कुराहरु विधार्थीले सिक्न आवश्यक छ । त्यसका लागि विधालयको भूमिका अपरिहार्य छ । अर्जुनधारा–७ मा बलात्कृत बालिका १५ वर्षीया हुन् । उनले आफुमाथि भएको यौनहिंसा बारे ६ महिनासम्म बताउन सकिनन् । कसैलाई जानकारी दिन नसक्दा उनले आफ्नो पेटमा २२ हप्तासम्म भ्रुणलाई हुर्काउनु परेको छ । यदि समयमै घटनाबारे विधालय वा परिवारमा जानकारी दिनुपर्छ भन्ने चेतना भइदिएको भए उनले यो हदको संकट भोग्नुपर्ने थिएन ।