जेष्ठ ७, २०८२ मंगलबार

बालिकालाई महिला आयोगले सहयोग गर्ने

बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका–७ मा लामो समयदेखि बलात्कृत १५ वर्षीया बालिकालाई राष्ट्रिय महिला आयोगले सहयोग गर्ने भएको छ । त्यसका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ ।
मेची अस्पताल भद्रपुर झापामा गरिएको स्वास्थ्य परीक्षणमा उनी २२ हप्ता पाँच दिनको गर्भवती भएको रिपोर्ट आएको डा. टंक प्रसाद बारकोटीले जानकारी दिएका छन् ।

विगत ६ महिनादेखि गाउँकै छिमेकीबाट बलात्कृत भएकी बालिकालाई असार ३० गते बयान दिन इलाका प्रहरी कार्यालयमा स्थानीय कमल पोखरेल, लक्ष्मी गौली लगायत टोलीले ल्याएका थिए । सोही दिन भद्रपुर लगेर स्वास्थ्य परीक्षण गरिएको थियो । बालिकाको सानैमा आमा बितेको र बुवा पनि मजदुरी गर्न जाने हुँदा कोही नभएको मौका पारेर छिमेकीले लगातार करणी गर्दै आएका थिए ।

उनलाई अस्पताल लैजाने क्रममा दुव्र्यवहार गर्ने महिला प्रहरी हवल्दार पूजा प्रसाईँलाई विभागीय कारबाही स्वरूप ओखलढुङ्गा सरुवा भइसकेी छन् । बलात्कार आरोपित पुरुष अनुसन्धानको लागि थुनामा छन् भने बालिकालाई राष्ट्रिय महिला आयोगले सहयोग गर्ने भएको छ । स्थानीय युवा कमल पोखरेलले आयोगमा अनलाइन उजुरी दिएका थिए ।
आयोगकी अध्यक्ष कमला पराजुलीले यस विषयलाई निकै गम्भीरतापूर्वक लिएर आयोगले सक्दो सहयोग गर्ने बताइन् । पराजुलीले प्रमुख जिल्ला अधिकारी छविप्रसाद रिजाल, इलाका प्रहरी कार्यालय अनारमनीमा कार्यरत प्रहरी नायव उपरीक्षक रुगम कुँवरलाई फोन गरेर विषय गम्भीर भएकाले गम्भीरताका साथ लिइदिन अनुरोध गरेकी हुन् । आयोगले सम्बन्धित निकायलाई पत्र नै काटेको बुझिएको छ ।

साथै उनले बालिकाको सुरक्षालाई मध्यनजर राख्दै सुरक्षित आवास गृह (सेफ हाउस) मा राख्ने प्रतिबद्धता व्यक्त गरिन् । विराटनगर वा काठमाडौँ कहाँ राख्ने भन्नेबारेमा भने टुङ्गो लागिसकेको छैन ।
बालिकाको गर्भपतन गराइने असार ३१ गते २२ हप्ता पाँच दिनको गर्भ रहेकी बालिकाको गर्भपतन गराइने भएको छ । सामान्यतया १२ हप्ताको गर्भपतन र हाडनाता वा बलात्कारको मामिलामा भने १८ हप्तासम्मको गर्भपतन गर्न मिल्छ । मुलुकी अपराध संहिताको दफा १८९ को (ख) र (घ) मा भने कति हप्तासम्मको गर्भपतन गर्न मिल्ने भनेर समय उल्लेख गरिएको छैन ।

उपदफा (ख) मा लेखिएको छ । ‘गर्भपतन नगराएमा गर्भवती महिलाको ज्यानमा खतरा पुग्न सक्छ वा निजको शारीरिक वा मानसिक स्वास्थ्य खराब हुन सक्छ वा विकलाङ्ग बच्चा जन्मन्छ भनी इजाजत प्राप्त चिकित्सकको राय भई त्यस्ती महिलाको मन्जुरीले गर्भपतन गराइने ।’ बालिकाको मेडिकल रिपोर्टमा चिकित्सकले गर्भपतन गर्न सुझाव दिएका छन् । उनले गर्भपतनको लागि कोशी अस्पताल रेफर गरेका हुन् ।

प्रकाशित मिति : श्रावण २, २०७९ सोमबार  १० : २९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]