श्रावण ३१, २०७९ मंगलबार

राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक दासानायकेको राजीनामा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिनुभएको छ । श्रीलङ्काली मुलका क्यानेडियन प्रशिक्षक दासानायकेले आफ्नो व्यक्तिगत समस्या देखाउँदै आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आफनो पदबाट राजीनामा घोषणा गर्नुभएको हो । उहाँले आफनो निर्णय अहिलेसम्मकै कठिन निर्णय रहेको भन्दै व्यक्तिगत कारणले राजीनामा दिनुपरेको बताउनुभयो ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले प्रशिक्षक दासानायकेलाई गत गतवर्ष मङ्सिरमा खुला छनोटबाट दुई वर्षका लागि दोस्रो पटक नियुक्त गरेको थियो । उहाँले एक वर्ष पनि नपुग्दै पदबाट राजीनामा दिनुभएको छ । दासानायकेले सन् २०११ देखि २०१५ सम्म नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षको जिम्मेवारी बहन गर्नुभएको थियो । उहाँको पहिलो कार्यकालमा नेपालले निकै ठूलो र ऐतिहासिक सफलता हासिल गरेको थियो ।

सन् २०१४ मा बङ्गलादेशमा आयोजित आइसिसी टि–ट्वान्टी विश्वककप प्रतियोगितामा नेपालले पहिलो पटक सहभागिताको मौका पाएको थियो । त्यस्तै उहाँकै प्रशिक्षणमा नेपालले डिभिजन चारदेखि एकसम्मको यात्रा तय गरेको थियो । उहाँको पहिलो कार्यकाल निकै फलदायी भए तापनि दोस्रो कार्यकालले खासै सफलता हासिल गर्न सकेन । यसैसाता स्कटल्याण्डमा सम्पन्न आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत घरेलु टोली स्कटल्याण्ड र नामिवियावीचको त्रिकोणात्मक एकदिवसीय सिरिजमा सफलता हासिल नगरेपछि उहाँ आलोचित बन्न पुग्नुभएको थियो । त्यतिबेला नेपालले खेलेका चारमध्ये तीन खेलमा हार र एक खेलमा जित हात पारेको थियो । पछिल्लो समय राष्ट्रिय क्रिकेट टोलीको खराब नतिजाका कारण उहाँ दबाबमा पर्नुभएको थियो ।

प्रकाशित मिति : श्रावण ४, २०७९ बुधबार  ५ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास दैनिक

कार्यालय सम्पर्क - बिर्तामोड,झापा
सम्पादक – प्रदीप परियार
कम्पनी दर्ता नम्बर : १६९६५४/७३/०७४
विज्ञापनको लागि : ०२३–५३५०२८
सम्पर्क : ९८५२६३५०२८/९८५२६४५०२८
टाइम्स मिडिया नेटवर्क प्रा.लि. द्वारा प्रकाशित ‘इजलास दैनिक’को आधिकारिक वेबसाइट तपाईंको साझा इजलास