जेष्ठ ८, २०८२ बुधबार

नागरिकता विधेयक राष्ट्रघाती : नेता खरेल

बिर्तामोड । नेकपा एमालेका नेता अग्निप्रसाद खरेलले बलपूर्वक पास गरिएको नागरिकता विधेयक राष्ट्रघाती भएको बताएका छन् । उनले प्रतिगामी सरकारले ल्याएको नागरिकता विधेयक कुनै हालतमा राष्ट्रहितमा नभएको बताए । नागरिकता विधेयकमा उल्लेख भएको वैवाहिक अंगिकृत नागरिकताको सवाल राष्ट्रघाती भएको उनको भनाई छ ।

अनेरास्ववियु झापाले आज विहान बिर्तामोडको मुक्तिचोकमा आयोजना गरेको सडक बहसमा नेता खरेलले गठबन्धन सरकारका हरेक कामले देशलाई कमजोर बनाइरहेको बताए । एमालेका स्थायी कमिटी एवम् झापा इञ्चार्ज समेत रहेका खरेलले भने – हरेक नागरिक राज्यविहीन हुनुहुदैन । तर, राष्ट्रियताको सवाललाई ख्याल गरेर मात्रै नागरिकता दिइनुपर्छ ।
तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको नागरिकता विधेयकमा गैरआवसीय नेपालीलाई नागरिकता दिने, विवाह गरेर आएका विदेशी चेलीलाई ७ वर्षपछि वैवाहिक अंगिकृत नागरिकता दिने र जन्मसिद्ध नागरिकका छोराछोरीलाई नागरिकता दिने विषय उल्लेख थियो ।

ओली सरकारले विधेयक ल्याएको समयमा संसदले पास नगरेका कारण हजारौंले समयमा नागरिकता पाउन सकेनन् । उनले एमाले नेतृत्वको सरकारले ल्याएको विधेयक फिर्ता नगरेर समयमा नागरिकता दिन नचाहनेहरुले अहिले कामको श्रेय लिन खोजिरहेको दावी गरे । राज्य समितिले पास गरेको विधेयक संसदमा रोकियो, अहिले त्यै विधेयक ल्याएर हामीले काम गरेका हौ भन्ने ढोल बजाइदैछ, खरेलले भने ।

यस्तै, एमाले नेतृत्वको सरकारले ल्याएको नागरिकता विधेयकमा जन्मसिद्ध नागरिकता पाएका बाबुआमाबाट २०७२ असोज ३ गतेभन्दा अगाडि जन्म लिएका सन्तानलाई नागरिकता दिने व्यवस्था गरेको नेता खरेलको भनाई छ । उनले त्यो विधेयक लामो समयसम्म नेपाली कांग्रेसले रोकेका कारण पास हुन नसकेको बताए । कानुन पास नभएपछि ति नागरिकले समयमा नागरिकता पाउनबाट बञ्चित भएको बताउँदै उनले भने – त्यै कानुन अहिले ल्याइएको छ । त्यसमा हाम्रो विरोध छैन । विरोध वैवाहिक अंगिकृत नागरिकतामा हो ।

राज्य समितिले पास गरेको विधेयक रोक्नुको कारण के हो ? उनले प्रश्न गरे । नागरिकता विधेयकमा भएको राष्ट्रघाती व्यवस्था बारे अनेरास्ववियुले घरघरमा , क्याम्पस–क्याम्पसमा बुझाउन जरुरी भएको नेता खरेलको भनाई छ । प्रचण्डको भारत भ्रमणपछि विदेशी चेलीलाई नेपालमा बुहारी भएर आएपछि तत्कालै नागरिकता दिने व्यवस्था गर्नु मान्य छैन ।

यस्तै, सडक बहसमा अधिवक्ता हेमकला कट्टेलले वर्तमान सरकाले ल्याएको नागरिकता विधेयकमा वैवाहिक अंगिकृत नागरिकताको व्यवस्थाले केहि सहज भएपनि धेरै अप्ठ्याराहरु भएको बताइन् । उनले विवाह गरेर आउने वित्तिकै नागरिकता दिदाँ धेरै जटिलताहरु आइपर्ने बताएकी छन् । अधिवक्ता कट्टेलले भनिन्, सार्क राष्ट्रहरुमा कतै नभएको व्यवस्था यहाँ लागु गरिदैछ, यसले राष्ट्रलाई नोक्सान पुग्नेछ । विवाह लगत्तै नागरिकता पाउनेहरुले तत्कालै सम्बन्ध विच्छेद गरेका के गर्ने ? नागरिकता पाउनेहरुमा सम्पत्तिको अधिकार हुनेछ, उनले थपिन् – यो व्यवस्था सान्दर्भिक छैन । यसले धेरै अस्पष्टता सिर्जना गरेका कारण सरकारले सोचविचार गर्नुपर्ने उनको धारणा थियो ।

अनेरास्ववियु झापाका अध्यक्ष रोशन लामाको अध्यक्षतामा भएको नागरिकता विधेयक सम्बन्धी सडक बहसमा विधार्थीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : श्रावण ८, २०७९ आईतबार  ११ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]