बिर्तामोडको विद्युत संरचना सुरक्षित बनाऊ
सम्पादकीय
झापाको बिर्तामोड क्षेत्रमा अहिले विद्युतीय संरचना अव्यवस्थित छ । शुरुदेखि नै व्यवस्थित हुन नसकेको बिर्तामोडको विद्युतिकरण अहिले आएर झनै अस्तव्यस्त छ । जताततै विद्युतीय संरचना जोखिमपूर्ण छ । चोकदेखि गल्ली–गल्लीमा विद्युतीय संरचनामा जोखिम छ । तारहरु असाध्यै असुरक्षित छन् । बिर्तामोडका अधिकांश ठाउँमा तारको अस्तव्यस्तताले कुन बेला ठुलो दुर्घटना हुने हो पत्तो छैन । त्यसको व्यवस्थापनका लागि कुनै पनि निकायबाट काम हुन सकेको छैन । अब, पनि ख्याल नगर्ने हो भने ठुलै दुर्घटना हुने निश्चित छ ।
झण्डै ५५ वर्ष पुराना तार अझै प्रयोगमा छन् । यहाँको विद्युत खपतको आधारलाई हेर्ने हो भने तारहरु कमशल छन् । बढ्दो खपत र तारको कमजोरीका कारण दुर्घटनाको जोखिम बढ्दै गएको छ । बिर्तामोडमा हरेक दिनजसो ट्रान्सफर्मर पड्किरहेको हुन्छ । तार सर्ट भएर झ्याप्प–झ्याप्प लाइन गई रहन्छ । जसका कारण उपभोक्तामा मारमा परिरहेका हुन्छन् । हरेक पोलमा केवुल र इन्टरनेटका तार गुजुल्टो बनाएर बेरिएको देख्न पाइन्छ । जसका कारण जोखिम झनै बढिरहेको छ । तारको उचित व्यवस्थापन हुन नसक्दा ग्राहकले त्रासपूर्ण उपभोग गरिरहेका छन् ।
बिर्तामोडको विद्युतीय संरचनाको कुरा गर्ने हो भने एम्बुसभन्दा कम छैन । हरेक ठाउँका ट्रान्सर्फर पड्किरहन्छ । लोड थाम्न नसक्दा त्यसप्रकारको क्षति भइरहेको छ । यसैले अनारमनी विद्युत प्राधिकरणले विद्युतिकरणको सुरक्षामा चासो दिनुपर्छ । समयमा चासो दिएर सुरक्षित नबनाएमा ठुलै क्षति व्यहोर्नुपर्ने हुनसक्छ । यसैले यस तर्फ यहाँका सरोकारवालाले चासो दिनैपर्छ । यहाँका कमजोर तारहरु परिवर्तन गरेर आवश्यक विद्युत निर्यात गर्न सक्ने तार राखिनुपर्छ । पूर्ण क्षमता भएको तार राख्न सकियो र लोड थाम्न सकियो भने केहि मात्रामा जोखिम कम हुनेछ । आफ्नो घर, अफिस र व्यवसाय सञ्चालन गरिरहेको आसपास अव्यवस्थित रुपमा तार राखिएको छ भने विद्युत प्राधिकरणमा उजुरी दिएर हटाउन सकिन्छ । त्यसका लागि प्राधिकरण पनि जिम्मेवार हुनुपर्छ । विद्युतीय जोखिमकै कारण मानवीय क्षति भएमा कसले जिम्मा लिन्छ । त्यसैले जोखिम कम गरेर सुरक्षित प्रयोगमा ध्यान दिऔं ।