कचनकवल घटनाको अनुसन्धानमा कमजोरी नहोस्
सम्पादकीय
झापाको कचनकवलमा आइतवार एउटा अनौठो घटना भयो । जसका कारण कचनकवलको दले गाउँ स्तब्ध भएको छ । एउटै रुखमा तीन किशोरी झुण्डिएको अवस्थामा मृत फेला परे । किशोरी मृत फेला परेपछि अहिले सिङ्गो कचनकवल शोकमा परेको छ । मिल्ने तीन जना साथी शनिवार दिउँसोसम्म घरमै थिए । शनिवार दिउँसो घरबाट हिडेका उनीहरु आइतवार मृत अवस्थामा फेला परे । प्रहरीले यो घटनालाई आत्महत्या नै हुनसक्ने बताइरहेको छ । तर, घटना आत्महत्या नभई हत्या भएको हुन सक्ने देखिन्छ ।
संभवतः यस प्रकारको घटना देशमै पहिलो हुन सक्छ । पे्रमी प्रेमिका, श्रीमान–श्रीमति एकै ठाउँ झुण्डिएको घटना सुनिएको थियो । तर, एकै उमेर समूहका साथीहरु एउटै रुखमा झुण्डिने कुरालाई सामान्य रुपमा लिन सकिदैन । एकै पटक तीन जनाले सँगै जीवन त्याग गर्ने कुरा आफैमा अनौठो छ । अर्थात, एक जनाको मृत्यू देखेर अर्को व्यक्तिले आफुलाई हत्या गर्न सक्दैन । यसैले पनि यो घटना रहस्यमय छ । रहस्यमय घटनामा झापा प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान गर्न आवश्यक छ ।
अति विपन्नताका कारण दैनिक मजदुरी गरेर जीवीकोपार्जन गर्ने परिवारमा आत्महत्याको बाटो रोज्नुपर्ने कारण नहुन सक्छ । यो घटना आत्महत्या वा हत्या के हो भन्ने प्रश्न जन्माएको छ । सल्लाहमा कसरी मृत्यु रोजिन्छ ? यसैले घटनाको अन्तर्य पत्ता लगाउन प्रहरीले सबै प्रकारका विधि अपनाउन आवश्यक छ । चिया बगानमा मजदुरी गर्ने सामान्य परिवारका छोरीहरुमाथि पक्कै कुनै अपराध भएको हुन सक्छ । यसलाई प्रहरी, प्रशासनले महत्वका साथ अनुसन्धान गरेर सत्यतथ्य बाहिर ल्याउनु पर्छ । यो घटनाको अनुसनधानमा कुनै कमिकमजोरी नहोस् ।