बैशाख १७, २०८१ सोमबार

गठबन्धनबाट झापा -१ मा कसले पाउदैछ टिकट : शर्मा कि कार्की ?

बिर्तामोड । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा आफ्नो निर्वाचन क्षेत्रमा मसिनो गरी घुमिरहेका छन् । पार्टीको महामन्त्री पदमा निर्वाचित भएपछि पनि आफ्नो निर्वाचन क्षेत्रमा समय दिइरहेका शर्मा निर्वाचन केन्द्रीत घुमफिरमा रहेको सहजै आँकलन गरिएको छ ।

एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली चार दिने झापा बसाई सकेर फर्किएपछि गृह जिल्ला हान्निएका शर्मा चारदिन देखि जिल्लामा कार्यकर्ता भेटघाटमा व्यस्त छन् । लामो बसाई जिल्ला बाहिर नै हुने भएकाले आउँदा सबै विरामी, मरिमराउ भएको परिवारमा पुग्ने गरेको उनका निकट कांग्रेसी बताउँछन् ।

जिल्लामा कृष्ण सिटौलाको गुटबाट राजनीतिक पीडित बनेका शर्मा समूह आउँदो निर्वाचनमा झापा १ सुरक्षित गर्न चाहन्छ । माओवादीसहितको गठबन्धनमा रहेको कांग्रेसलाई उम्मेद्वार छनौटमा सकस भएपनि १ नम्बर क्षेत्र गुमाउने पक्षमा छैन । झापा १ मा अघिल्लो निर्वाचनबाट निर्वाचित माओवादी नेता राम कार्की ‘पार्थ’ र कांग्रेस महामन्त्री शर्मामध्ये गठबन्धनको उम्मेद्वार को हो ? भन्ने अन्यौल पनि बढ्दै गएको छ ।

एमालेसँगको तालमेलबाट शर्मालाई पराजित गरेका कार्की यो निर्वाचनमा शर्मासँगै मिलेर अघि बढ्नपर्ने बाध्यता आइपरेको छ । गठबन्धन भएपनि जितेका ठाउँहरु पाइने भएपछि माओवादी ढुक्क देखिएको छ । कार्कीका स्वकीय सचिव शिव बुढाथोकीले गठबन्धनबाट स्वभाविक रुपमा जितेकै माननीयले तत्तत् निर्वाचन क्षेत्रमा उम्मेद्वारी पाउने व्यवस्था हुनेछ । त्यसमा कुनै द्विविधा छैन । बुढाथोकी भन्छन्, – यसअघि जितेका कारण आउँदो निर्वाचनमा पनि सहज देखिएको छ ।
यता, तीनअघि मात्रै क्षेत्रीय भेला गरेका शर्मालाई प्रतिनिधिसभाको उम्मेद्वार बन्न कार्यकर्ताले तीब्र दवाव छ । उनले झापा १ नै आफ्नो पहिलो रोजाई हुने कार्यकर्तालाई विश्वस्त बनाएका छन् । आम कार्यकर्ताले आउँदो निर्वाचनमा गठबन्धनबाट शर्माकै उम्मेद्वारी हुनुपर्ने दवाव बढाइरहेका छन् ।

झापा १ मा लगातार पराजित भइरहेका शर्माकै कारण स्थानीय चुनावको मेचीनगरमा अपेक्षाकृत परिणाम नआएको आरोप लाग्यो । यस बारे कार्यकर्ताहरुको भेलामा स्पष्ट पनि पार्दै आएका छन् । क्षेत्रीय भेलाको अवसरमा शर्माले भनेका थिए – मेचीनगर मेरो कारण हारियो भने क्षमा चहान्छु । तर, बिर्तामोड, अर्जुनधारा, कनकाई, गौरादह चै कसरी हारियो ? प्रतिप्रश्न गरेका छन् ।

संसदीय निर्वाचनमा पटक–पटक परिाजित शर्माले आफुलाई झापा १ बाट उम्मेद्वार हुन छुट भएको बताएका छन् । उनले थपे– उम्मेद्वार हुन छुट छ, हार्न छुट छैन । महिनामा १ साताभन्दा बढि समय आफ्नो जिल्लालाई दिने बताएका शर्माले कार्कीलाई उछिनेर टिकट पाउने संभावना कम छ । गठबन्धन भएमा विगतमा निर्वाचित भएका प्रतिनिधिसभा सदस्य नै त्यहाँको पहिलो हकदार हुने गठबन्धनभित्रको भद्र सहमति छ ।

मतदाता र कार्यकर्ताका दृष्टिले माओवादीभन्दा नेपाली कांग्रेस बलियो छ । कांग्रेस स्रोत भन्छ, झापा १ मा कांग्रेस खड्कुला हो भने माओवादी कचौरा मात्रै हो ।

यसअघिका निर्वाचनले पनि माओवादी मतका हिसावले झापा १ मा कमजोर नै देखिन्छ । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसका मेयरका उम्मेद्वारले २१ हजार ३ सय ११ मत प्राप्त गरेका थिए । गठबन्धनबाट उम्मेद्वार बनेको माओवादीले उपप्रमुखमा १२ हजार ८ सय १८ मत ल्याएको निर्वाचन आयोगको तथ्याङकमा उल्लेख छ ।
यस्तै, बुद्धशान्तिमा कांग्रेसले अध्यक्ष पद जित्यो । उपाध्यक्षमा माओवादी त्यहाँ पनि पराजित भयो । अध्यक्ष ११ हजार ४ सय ३ मत प्राप्त गर्दा माओवादीबाट उम्मेद्वार बनेका व्यक्तिले ५ हजार २ सय १६ मत प्राप्त गरेका थिए । गठबन्धनका कारण ति मतहरुमा नेपाली कांग्रेसको मत पनि परेको स्वीकार गर्नैपर्छ ।

०७४ को संघीय निर्वाचनमा राम कार्कीले कांग्रेस नेता विश्वप्रकाश शर्मालाई पराजित गरेका थिए । कार्की एमाले, माओवादी र राप्रपाको साझा उम्मेद्वार थिए । एकै ठाउँमा खस्दा कार्कीले ३६ हजार १ सय ७३ मत प्राप्त गरेका थिए भने कांग्रेसका उम्मेद्वार शर्माले ३३ हजार ३ सय १० मत प्राप्त गरे । प्रतिशतका आधारमा हेर्दा शर्माभन्दा कार्कीको मत ३ दशमलव ९१ प्रतिशत बढि ल्याएर निर्वाचित भएका थिए ।

निर्वाचित भएपछि आफ्नो निर्वाचन क्षेत्रका जनतामा गरेको प्रतिवद्धता पुरा गर्न नसकेकोले कार्कीको आलोचना व्यापक छ । यता, उनको सचिवालले कोभिडका कारण प्रतिवद्धता पुरा गर्ने सवालमा कमजोरी भएको स्वीकारेको छ ।

प्रकाशित मिति : श्रावण १८, २०७९ बुधबार  ६ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]