तत्काल फोहोर व्यवस्थापन गर
सम्पादकीय
झापाको ठुलो बजार बिर्तामोडमा अहिले फोहोरको कुराले चर्चा पाइरहेको छ । मुक्तिचोकमा राखिएको फोहोरको तस्वीर राखेर स्थानीय तहको आलोचना गर्ने काम पनि सँगै भइरहेको छ । स्वभाविक रुपमा फोहोर व्यवस्थापनको दायित्व स्थानीय तहकै हो । व्यवस्थित रुपमा फोहोर व्यवस्थापन गर्दा धन्यवाद खाने नगरपालिका कमजोरीमा आलोचना सहन तयार हुनुपर्छ । फोहोर व्यवस्थापनका लागि यिनै विकल्प हुन त ? अवश्य होइन, यसको दीर्घकालिन व्यवस्थापनका लागि स्थानीय तह र यहाँका आम नागरिक नै सचेत हुन आवश्यक छ ।
साउन लागेपछि फोहोर उठेको छैन । फोहोर उठाउने जिम्मा पाएको निराकार सरफाई सेवा प्रालि कुन दुलोमा भूमिगत छ । थाहा छैन । आम नागरिक फोहोर नउठ्दा आक्रोसित भइरहेका छन् । कम्तिमा किन फोहोर उठिरहेको छैन भन्ने बारे नागरिकलाई जानकारी दिन आवश्यक छ । फोहोर उठ्न नसकेको विषयमा सेवाग्राहीलाई जानकारी दिनुपर्ने हो । तर, निराकार कहाँ लुकेको छ ? कसैलाई थाहा छैन । बिर्तामोड नगरपालिकाले निराकारलाई फोहोर उठाउने जिम्मेवारी नै दिएको छ । सम्झौता गरेरै फोहोर उठाउने जिम्मा पाएको निराकारलाई ठाउँ अभाव देखाएर बस्ने छुट छ । तर, जिम्मेवार संस्थाले अर्काको भरमै मात्र फोहोर फाल्छौं भन्नु पनि जायज छैन ।
फोहोर व्यवस्थापनका लागि नगरपालिकाले अस्थायी कार्यदल बनाएको छ । कार्यदलका संयोजक उपप्रमुख नरेन्द्र संग्रौला हरेक दिन फोहोर व्यवस्थापन गर्ने ठाउँ खाज्दै हिडेका छन् । तीन महिनाको लागि ठाउँ खोजिए पनि निश्चित भइसकेको छैन । तीन महिनाको अल्पकालिन व्यवस्थापन र त्यसपछि कनकाई उर्जालाई फोहोर दिने योजना छ । अब, बिर्तामोडमा फोहोर उठेन भन्दै टिकाटिप्पणी गर्ने कि ठाउँ खोज्ने कुरामा समन्वय पनि गर्ने गर्ने ? फोहोर फाल्ने ठाउँ छैन , अहिले फोहोर उठाउने काम रोकिएको छ भन्दाभन्दै चोकचोकमा फोहोर फाल्ने ? यो जायज छैन । कम्तिमा फोहोर उत्पादकले फोहोरको वर्गीकरण गरेर केहि दिन स्वःव्यवस्थापन गरौं । यो सरसफाईको मामिला साझा मुद्धा हो भन्ने बुझाई नभएसम्म बिर्तामोडको फोहोरमा खेल्नेहरु बढिरहनेछन् ।