जेष्ठ ५, २०८१ शनिबार

शान्ति-सुरक्षा माग्दै भद्रपुर नगरपालिकामा ज्ञापनपत्र

भद्रपुर । भद्रपुरमा बढ्दै गएको चोरीका घटनाबाट आजित बनेका उद्योगी–व्यवसायीले आवश्यक सुरक्षा व्यवस्थापनको माग गर्दै भद्रपुर नगरपालिकालाई ज्ञापनपत्र बुझाएका छन् । संघका वाणिज्य उपाध्यक्ष सन्तोष धमलाको नेतृत्वमा आज नगरपालिका पुगेको उद्योगी–व्यवसायीको टोलीले नगरप्रमुख गणेश पोखरेललाई ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा भनिएको छ– ‘झापाको सबैभन्दा पुरानो औद्योगिक तथा व्यापारिक केन्द्र भद्रपुर क्षेत्रका व्यावसायिक प्रतिष्ठानहरुमा केही दिनयता चोरीका घटना बढ्दै गएका छन्, विभिन्न कारणले निरन्तर व्यवसाय खस्कँदो अवस्थामा रहँदा आर्थिक रुपमा समस्या भोग्दै आएका उद्योगी–व्यवसायी एकपछि अर्को चोरीका घटनाले थप आर्थिक क्षति व्यहोर्न बाध्य भएका छन् । एकातिर भने अर्कोतिर व्यक्तिगत तथा व्यावसायिक असुरक्षा पनि बढेको छ । लगातार दिनदहाडै चोरीका घटना भइरहनुले भद्रपुर क्षेत्रमा सुरक्षा व्यवस्थाको कमजोरीलाई उजागर गर्दछ, यसर्थ, यस विषयमा स्थानीय सरकारको रुपमा रहेको भद्रपुर नगरपालिकाको ध्यानाकर्षण गराउन चाहन्छौं ।

कसरी हुन्छ, भद्रपुर क्षेत्रको सुरक्षा व्यवस्था मजबुत तुल्याएर यहाँका उद्योगी–व्यवसायीलाई भयरहित ढंगले उद्योग–व्यवसाय सञ्चालन गर्ने वातावरण बनाइदिनुहुन अनुरोध छ । अन्यथा, सामान्य अवस्थामा पनि व्यापार–व्यवसाय नचलेर पीडा भोगिरहेका उद्योगी–व्यवसायी आफ्नो उद्योग–व्यवसाय छोडेर पलायन हुन सक्ने तर्फ पनि नगरपालिकाको ध्यानाकर्षण गराउन चाहन्छौँ ।’

ज्ञापनपत्र बुझाउन नगरपालिका पुगेको टोलीमा संघका उद्योग उपाध्यक्ष प्रज्वल राई, उद्योग सचिव सञ्जय श्रेष्ठ, महिला सदस्य कमला दुवाडी, सदस्य पवन श्रेष्ठ, यदुनन्दन शाह रौनियार, अविनाश नाहाटा, कार्यालय सचिव दुर्गाप्रसाद खतिवडा समेतको सहभागिता थियो ।

ज्ञापनपत्र बुझ्दै नगरप्रमुख पोखरेलले भद्रपुर बजारमा चोरीका घटना बढिरहेकोमा आफू पनि चिन्तित रहेको बताउँदै नयाँ रणनीतिका साथ सुरक्षा व्यवस्थाका लागि आफूले पहल गर्ने बताए । उनले भद्रपुर क्षेत्रमा सिसि टिभि क्यामेराको पनि कमी देखिएको भन्दै पर्याप्त क्यामेरा जडानका लागि नगरपालिकाले जिम्मेवारी लिने र त्यसको लागत–सहभागिताका लागि संघले पनि सहयोग पुर्याउन आग्रह गरे ।

नगरपालिकामा बुझाइएको व्यहोरा कै ज्ञापनपत्र जिला प्रशासन कार्यालय झापा र जिल्ला प्रहरी कार्यालय झापामा बुधबार बुझाउने कार्यक्रम रहेको कार्यालय सचिव खतिवडाले जानकारी दिए । ज्ञापनपत्रमा उपाध्यष सन्तोष धमलाको हस्ताक्षर रहेको छ ।

प्रकाशित मिति : श्रावण २४, २०७९ मंगलबार  ४ : १२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]