बैशाख १२, २०८१ बुधबार

कोरोनापछि अर्जुनधारा धाममा जल चढाउने भक्तजनको उपस्थिति उल्लेख्य

इन्द्रकुमार राई

अर्जुनधारा । पूर्वको पशुपतिनाथका रुपमा परिचित अर्जुनधारा जलेश्वरधाममा साउन महिनाको अन्तिम सोमबारका दिन महादेवको शिवलिङ्गमा जल चढाउने भक्तजनहरुको उल्लेखनीय उपस्थिति भएको छ ।

धाममा अघिल्लो बर्षहरुको तुलनामा यस बर्ष जल चढाउन आउने भक्तजनहरुको उल्लेखनीय आगमन बढेको हो । बिगत बर्षहरुमा कोरोना भाइरसको महामारी कारणले धाममा श्रावणी, बालाचतुदर्शी ,महाशिवरात्रीमा भक्तजनहरुको आगमन न्यून रहेको थियो । यस बर्ष धाममा श्रावणी पर्वको अघिल्लो चार सोमवार देखि भक्तजनहरुको घुइँचो बढ्दै आएको जलेश्वरधाम सचिवालयका सचिव विष्णुप्रसाद भट्टराईले बताए ।

धाममा अन्तिम सोमबार भगवान शिवजीलाई जलार्पण गर्नका लागि बिहान ३ बजे देखि मुल मन्दिरको ढोका खुल्ला गरिएको मन्दिरका मुख्य पुजारी अग्निप्रसाद सिग्देलले जानकारी दिए । विहान ३ बजे देखि नै भक्तजनहरुलाई स्थानीय शनिश्चरे बजार देखि दुई लाइनवद्ध मिलाएर जल चढाउने व्यवस्था गरिएको धाम समितिका कोषाध्यक्ष मनोज जोशीले जानकारी दिए ।

जलेश्वरधाममा अन्तिम सोमबार दिन साँझ ५ बजे सम्म भक्तजनहरुको भीड लागेको थियो । धामसमितिले भक्तजनलाई सुरक्षा दिनका लागि जनपथ प्रहरी, सशस्त्र प्रहरी र नेपाल स्काउट परिचालन गरेको थियो । जोशीका अनुसार धाममा अन्तिम सोमबारका दिन मात्र ५ लाख रुपैयाँ भन्दा बढी दानवीरहरुबाट आर्थिक सहयोग संकलन गरिएको छ ।

साउन महिना भर १० लाख रुपैयाँ भन्दा बढी आर्थिक सहयोग संकलन भएको छ । धाममा अन्तिम सोमबार भारत सिक्किम , दार्जिलिङ , खार्साङ, मिरिक , सिलगुढी , नेपालको इलाम , फिदिम, मोरङ , सुनसरी , उदयपुर लगायतका जिल्लाबाट १ लाख बढी भक्तजनहरु दर्शन गर्न आएको बताइएको छ । धाममा अन्तिम सोमबार भक्तजनको उपस्थिति बढ्ने भएपछि धाम नजिकै रहेको ऐतिहासिक शनिश्चरे बजारस्थित ज्येष्ठ चौतारीमा भक्तजनहरुको आएर विश्राम गर्छन् ।

आगन्तुक भक्तजनहरुलाई मध्यनजर गर्दै ज्येष्ठ नागरिक सामुदायिक मिलन समाजले धर्मानुरागीहरुलाई शुद्ध पिउने पानी ८ हजार रुपैयाँ बराबरको ५० कार्टुन मिनिरल वाटर प्रति व्यक्ति १÷१ वटा निःशुल्क वितरण गरेको समाजका संस्थापक गणेश प्रसाईं र तिलक भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : श्रावण ३०, २०७९ सोमबार  ७ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]