फुटपाथभन्दा माथि उठौं
सम्पादकीय
सर्वदलीय बैठकले बिर्तामोडको फुटपाथ व्यवस्थापनका लागि निर्णय गरेपछि नगरपालिका त्यसको कार्यान्वयनमा लागेको छ । गत साउन २७ गतेभित्र फुटपाथ खाली गर्न नगरपालिकाले सूचना जारी गरेको थियो । त्यहाँ व्यवसाय गर्ने व्यवसायीले सो समयभित्र ठाउँ खोज्नुको सट्टा नगरसँग निहुँ खोज्न पुगे । त्यै पनि वैद्य माओवादीको आडमा । बिर्तामोडमा लामो समयदेखि समस्याको रुपमा रहेको फुटपाथ व्यवस्थापन समाधान गर्नैपर्छ । त्यसका लागि यि व्यवसाय कसैले बोकेको भरमा पछि लाग्नु हुदैन । पछि लागियो भने त्यसको परिणाम आफ्नै लागि घातक हुन सक्छ । व्यवसायीले त्यस तर्फ ख्याल गर्नुपर्छ ।
यहाँका राजनीतिक दल, वाणिज्य संघ, सरोकारवाला निकाय सबैले फुटपाथ व्यवस्थान गर्नुपर्ने निर्णय गरिसके । हरेक वर्ष फुटपाथ व्यवस्थापन गर्ने भन्दै निर्णय गर्ने र कार्यान्वयन नगर्ने हो भने यहाँको वातावरण सधैं धुमिल हुनेछ । बिर्तामोडलाई सुरक्षित र सहज आवागमन बनाउने सबैको दायित्व हो । यसमा कसैले अड्को थाप्नु हुदैन । फुटपाथ व्यवसायीका पनि समस्या छन् । उनीहरुले तत्कालै ठाउँ पाउदैनन् । तर, ठाउँ पाउदैनन् भन्दै सधैं सडक किनार मै बसिरहनु पनि बेठिक हो । अब, फुटपाथ व्यवसायीले नगरको निर्णयलाई कार्यान्वयन गर्न सहयोग गर्नैपर्छ ।
बिर्तामोडमा फुटपाथमा व्यापार गर्नेहरुको दुई÷तीन पुस्ता त्यहि वितेको छ । नयाँ पुस्ता पनि यहि फुटपाथमा छ । सधैं फुटपाथमा रहने हो ? कि व्यवस्थित ढंगबाट व्यापार गरेर फुटपाथभन्दा बाहिर निस्किने हो । अहिले ठाउँ भेटिएन, छठसम्म समय दिनुपर्छ भन्ने माग बेक्कार छ । यसै प्रकारको माग सम्बोधन गरेका कारण अहिले पनि फुटपाथ व्यवसायी सडक किनार छोडिरहेका छैनन् । अब, विस्तारै समस्याको समाधान तिर जानुपर्छ । सधैं सडक किनार मै बसिरहने सोच पनि हटाउनुपर्छ । आफ्नो ठाउँ सुन्दर, राम्रो हुनुपर्छ भन्ने अनि फुटपाथमा व्यापार थापेर कुरुप बनाइरहन हुदैन । सवारी पार्किङ समेत नभएको ठाउँमा फुटपाथमा व्यवसाय सञ्चालन गर्नु बिर्तामोडका लागि ठुलो समस्या हो । यसको समाधानमा सबैको रचनात्मक सहयोगको जरुरी पर्छ । उनीहरुको आवश्यक व्यवस्थापका लागि कृषिथोक बजारमा समन्वय गरियोस् ।