सामाजिक सञ्जाललाई सुरक्षित बनाऔं
सम्पादकीय
झापा भद्रपुरका तीन जना विधार्थीलाई सुनसरी प्रहरीले भर्खरै पक्राउ गरेको छ । उनीहरुले सामाजिक सञ्जाल मार्फत ठगी गरेको आरोप लागेको छ । फेसबुक ह्याक गरेर ठगी गरेको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । तीनै जना विधार्थी हुन् । कम्युटर साइन्स अध्ययन गर्दै गरेको विधार्थीले अन्य व्यक्तिको फेसबुक ह्याक गरेर ठगी गरे । त्यसमा उनीहरुको बद्मास छदैछ । फेसबुक युजरको कमजोरी पनि उत्तिकै छ । यसैले सर्वप्रथम युजरले सतर्कता अपनाउन जरुरी छ ।
अहिले सामाजिक सञ्जालमा अनावश्यक समय दिने गरेको पाइन्छ । अनावश्यक लिंकहरु खोलेर हेर्ने, भड्किला कथाहरु हेर्दाहेर्दै आउने लिंक खोलेर हेर्दा फेसबुक चलाउने व्यक्तिको पासवर्डहरु माग्ने र लगत्तै उपलब्ध गराउने अवस्थाले असुरक्षा बढेर गएको छ । अर्काको फेसबुकबाट आइडी पासवर्ड पत्ता लगाएर दुरुपयोग गरेका कारण विधार्थी पक्राउ परे । यो घटना हरेक दिन नै भइरहेको छ । ठगीमा पर्नेहरु परिरहेका छन् । यसैले बेलैमा सतर्कता अपनाउन आवश्यक छ ।
फेसबुकको दुरुयोग गर्दै ठगी गर्नेहरुले अर्काको एकाउन्ट खोलेर साथीभाईसँग पैसा माग्ने गरेको अनुसनधानबाट खुलेको छ । धेरैले सामाजिक सञ्जालमै आफ्नो आइडी ह्याक भएको र विभिन्न गलत म्यासेज गरिरहेकोले सतर्क रहन आग्रह गर्दछु भन्ने सूचनाहरु राखेको पनि पाइन्छ । यसैले आगामी दिनमा आफ्नो सबै सामाजिक सञ्जालहरु सुरक्षित गरौं । त्यसका लागि त्यस्तै अप्ठ्यारो पासवर्ड राख्ने गरौं । समय–समयमा पासवर्ड परिवर्तन गर्ने गरौं । त्यसो नगरे ठगी गर्नेहरुको फन्दामा परिएला । आफ्नो फेसबुक, ट्वीटर, इन्स्टा, इमेल सबै सुरक्षित राखौं ।