बिर्तामोडको फोहोरमा राजनीति किन ?
सम्पादकीय
लामो प्रयासपछि बिर्तामोड नगरपालिकाले फोहोर व्यवस्थापनको काम थालेको थियो । सरोकारवाला पक्षसँग गरेको सहमति अनुसार फोहोर व्यवस्थापन थालेको दोस्रो दिनमा फेरि अवरोध भयो । अवरोध गर्नेहरु सरोकारवाला नभएको नगरको बुझाई छ । यदि, त्यहि सत्य हो भने कसले फोहोर व्यवस्थापनमा अवरोध गरिरहेको छ ? फोहोर व्यवस्थापनमा राजनीतिकरण गर्ने को हो ? फोहोरभित्र लुकेर राजनीति गर्नुको बदलामा बाहिर आएर खुल्ला राजनीति गर्नु राम्रो हो ।
बिर्तामोड नगरपालिकालाई फोहोर व्यवस्थापनका नाममा चेपुवामा पारिएको घटनाक्रमले देखाएको छ । जग्गाधनी फोहोर पुर्न आफ्नो जग्गा दिन राजी छ । आसपासका मानिस पनि राजी हुन्छन् । तर, अन्यत्रका मानिसको अवरोध किन भइरहेको छ ? बिर्तामोडको फोहोर व्यवस्थापनमा यसरी नै राजनीति गरिरहने हो भने यहाँ एमाले मात्र होइन सबै राजनीतिक दल कमजोर र असफल हुनेछन् । आम नागरिकको दृष्टिमा कुनै पनि दल नगरको विकास, संमृद्धिमा सकारात्मक नभएको स्पष्ट हुन्छ । फोहोर व्यवस्थापनको वातावरण बनाउने मुख्य दायित्व राजनीतिक दलकै हो ।
बिर्तामोड नगरपालिकाको फोहोर व्यवस्थापन गर्ने दायित्व नगरपालिकाको मात्रै होइन । यहाँका आम नागरिक र सरोकारवालाको पनि हो । नगरको जिम्मा मात्रै छोडेर पनि हुदैन । अब, फोहोर व्यवस्थापनको पाटो जिल्ला प्रशासनमा पनि पुगेको छ । जिल्ला प्रशासनले नागरिकको आवाज सुनेर अघि बढ्ने प्रतिक्रिया दिएको छ । जग्गाधनी र सरोकारवाला पक्षका बिचमा सहमति हुँदा पनि विरोध हुनु भित्रिया राजनीति नै हो । नगरले खोजेका अधिकांश ठाँउमा जग्गाधनी फोहोर व्यवस्थापनका लागि सहमत छन् । तर, सरोकारवालाभन्दा बाहिरका मानिस मुख्य बाधक बनिरहेका छन् । बाधा पुर्याउनेलाई फोहोर व्यवस्थापन ऐन मार्फत कानुनी कारवाही गरेर अघि बढ्नुको विकल्प छैन ।