चोरी रोक्न सतर्कता अपनाऔं
सम्पादकीय
झापाको बिर्तामोड क्षेत्रमा फेरि चोरीका घटना बढेको छ । विशेष गरी बजार क्षेत्रमा चोरीका घटना भइरहेका छन् । प्रहरी समक्ष चोरी बढेको उजुरी पनि बढिरहेको छ । चाडवाड आसपासमा सधैं चोरीका घटना बढ्ने गरेको छ । यो वर्ष पनि चाडवाड नजिक आएसँग चोरीका घटना शुरु भएका छन् । बिर्तामोड क्षेत्रमा घरघर छिरेर ग्यासका सिलिण्डरदेखि गरगहना, टिभी र पसलका सामानहरु चोरी भइरहेको छ । अन्नपूर्ण टोल क्षेत्रमा भर्खरै एकै घरबाट दुई वटा ग्यास सिलिण्डर चोरी भयो । यस प्रकारका घटना कयौं छन् ।
दशैं नजिक आउँदैछ । यो बेला चोरीका घटना कम गर्न प्रहरीको गस्ती बोक्लो हुनुपर्छ । प्रहरीलाई पनि स्थानीय नागरिकको तर्फबाट सहयोग र समन्वयको खाँचो पर्छ । यसैले चोरी नियन्त्रणमा प्रहरी र नागरिकबिचमा सहकार्य जरुरी छ । रातीको समयमा हुने चोरी नियन्त्रणका लागि बत्तीको उचित व्यवस्था हुनुपर्छ । समुदायमा सुरक्षाका लागि सीसी क्यामेरा समेत जडान गर्नुपर्छ । यदि सीसी क्यामेरा जडान गरियो भने पनि चोरीमा संलग्नहरुलाई पहिचान गर्न सजिलो हुन्छ ।
बिर्तामोडमा लागुऔषध सेवन गर्नेहरु र एक, दुई समूह श्रृङखलावद्ध चोरीमा सक्रिय छन् । त्यसलाई प्रहरीले नियन्त्रण गर्न पनि सकिरहेको छैन । भद्रपुर रोड क्षेत्रमा बस्ने एउटा समूहले चोरी गरेको तथ्य प्रमाण धेरै पटक फेला परिसकेको छ । तर, त्यसलाई प्रहरीले खासै नियन्त्रण गर्न सकेको छैन । स्थानीयबासीका अनुसार सो समूह हतियार सहित बसेको हुन्छ । उनीहरुलाई समुदायबाटै कारबाही हुनुपर्छ । अर्को, चोरी गर्नेहरुबाट सामान खरिद गर्नेहरुलाई पनि कारवाहीको दायरामा ल्याउन आवश्यक छ । यो समय जोखिमको समय हो । यसैले सबैले संभावित चोरीका घटना रोक्न सतर्कता अपनाऔं ।