बैशाख २५, २०८१ मंगलबार

बिर्तामोडमा तीन विधेयक पास

बिर्तामोड । बिर्तामोड नगरपालिकाले विशेष नगरसभा मार्फत ३ वटा विधेयक पास गरेको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा सोमवार आयोजित विशेष नगरसभाले विधेयक पास गरेको हो ।

विशेष नगरसभामा आर्थिक ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक २०७९, शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ र नगरको यातायात तथा बसपार्क व्यवस्थापन गर्न बनेको विधेयक २०७९ सर्वसम्मतिले पास गरेको हो । नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले आर्थिक ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक २०७९ सभामा प्रस्तुत गरेका थिए । यस्तै विधेयक समिति संयोजक शर्मिला राजवंशीले शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ र यातायात व्यवस्थापन विधेयक २०७९ सभामा प्रस्तुत गरेकी थिइन् ।

विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्दै सभाकी अध्यक्ष नगरप्रमुख पवित्रा महतारा प्रसाईले कानून अत्यन्त आवश्यक भएका कारण विशेष सभाबाट पास गरेको र आजकै दिनदेखि लागु हुने जानकारी दिइन् ।

संविधानले स्थानीय सरकारलाई दिएको अधिकारलाई प्रयोग गर्दै काम गर्नु पर्नेमा उनले जोड छ । ऐन कानून बेगर बनेका कामहरुमा कुनै पनि असहजता सृजना भएको बेला कानूनी समस्या आउने भन्दै नगरप्रमुख प्रसाईले कानूनत काम गर्न जनप्रतिनिधिहरुलाई निर्देशन दिइन् ।

सभामा बोल्दै वडा नम्बर ६खका वडाध्यक्ष तथा नेपाली कांग्रेस बिर्तामोड नगर कमिटीका कार्यवहाक सभापति सूर्यप्रसाद कन्दङ्वाले नगरको विकासको लागि नगरका जनताको हितमा विशेष नगरसभा मार्फत विधेयक पास गरेको बताए । ऐनले सबैलाई अनुशासित बाटोमा हिँडाउने भन्दै उनले कार्यान्वयनमा जोडदिए । बिर्तामोड नगरपालिकाको भदौ १० गते बसेको कार्यपालिका बैठकले पास गरेर सोमवार विशेष नगरसभामा विधेयक प्रस्तुत गरिएको हो ।

कार्यपालिका बैठकले अस्पताल सञ्चालन कार्यविधि २०७९, अनुगमन समिति सञ्चालन कार्यविधि २०७९, लेखा समिति सञ्चालन व्यवस्थापन कार्यविधि २०७९ र शहरी वस्ती विकास योजना तथा भवन निर्माण मापदण्ड र इजाजत सम्वन्धि कार्यविधि २०७९ पारित गरेको नगरका प्रवक्ता अग्निप्रसाद पाण्डेले जानकारी दिए ।

जिल्ला समन्वय समिति झापाकी उपप्रमुख शान्ता रोक्काको आतिथ्यता रहेको विशेष नगरसभामा प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपाने, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, वरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिना, सबै वडाका वडाध्यक्ष तथा कार्यपालिका सदस्य, वडा सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : भाद्र १३, २०७९ सोमबार  ७ : ५९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]