जेष्ठ ६, २०८१ आईतबार

स्वदेशमै संभावना देखेर फेरि विदेश नफर्किएका झापालीहरु

बिर्तामोड । वैदेशिक रोजगारीबाट फर्किएका युवाहरु स्वदेशमा संभावना छैन भन्दै विदेश नै पलायन भइरहेका छन् । वर्षौैसम्म वैदेशिक रोजगारीमा काम गरेका युवाहरु स्वदेशमा काम गर्न खासै तयार भइरहेको पाइदैन । यहाँ लगानी गर्न गाह्रो, लगानी गर्दा लगानी उठाउनै भन्नेहरुको संख्या ठुलो छ ।

वैदेशिक रोजगारीबाट फर्किएपछि स्वदेश मै संभावना देख्नेहरुको संख्या पनि विस्तारै बढिरहेको छ । बिर्तामोड बजारमा प्रतिनिधि मुलक रुपमा भेटिएका त्यस्ता व्यक्तिहरुले नेपालमा समय दिएर मेहनत गर्दा धेरै संभावनाहरु रहेको प्रतिक्रिया दिएका छन् । विदेशमा समय तालिका अनुसार काम गर्ने, नेपालमा समयको कुनै पालना नगर्ने हुँदा यहाँ निराशा बढेको उनीहरुको भनाई छ ।

बिर्तामोडमा अटो चलाइरहेका प्रदिप मगरले युवाहरुले विदेशकै जस्तो नेपालमा दुख नगरेको बताएका छन् । उनले परिवारसँगै बसेर जीवनयापन गरिरहेको जानकारी दिए । सन् २०१२ मा दुवई गएका मगर २०१९ मा फर्किएका थिए । उनले परिवारसँगै बसेर विदेशमै जस्तो खट्दा राम्रो कमाई भइरहेको प्रतिक्रिया दिए । विदेशमा जस्तै समय दिएर काम गर्दा स्वदेशमा पनि सजिलै जीवन धान्न सकिने बताएका छन् । उनले भने, सबै भन्दा ठुलो कुरा भनेको बालबच्चाको रेखदेख गर्न पाइन्छ । परिवारसँगै रहन पाइन्छ ।

काँकडभिट्टाका पुण्य दाहाल पनि ६ वर्ष मलेसिया बसेर फर्किएका युवा हुन् । सुरुमा अटो व्यवसाय गरेका उनी अहिले पानीको ढुवानी गर्ने गाडि चलाइरहेका छन् । विदेश नजाने सोच बनाएर आफ्नै ठाउँमा काम गरिरहेको उनको भनाई छ । विदेशमा काम गर्दा पनि परिवार मात्रै चल्ने रहेछ । उनले भने – यहाँ पनि उस्तै छ । यहाँ काम गर्दा पनि राम्रैसँग परिवार चलेको दाहालले बताए ।

बिर्तामोड ३ का तीर्थराज खरेल साथीहरुको लहैलहैमा लागेर विदेश पुगेको बताउँछन् । इराक र अफगानिस्तानमा ६÷६ वर्ष बिताएका उनी अहिले अटो व्यवसाय गरिरहेका छन् । बिर्ताबजारस्थित खरेल स्टोरको सामान उपभोक्ताको घरमा पुराउने क्रममा भेटिएका उनले सानै भए पनि आफ्नै काम गर्ने भनेर अटो चलाइरहेको बताए ।

पहिले म एम्बुलेन्स चलाउथे, उनले भने – अहिले अटो चलाएर दैनिक १५ सय देखि २ हजारसम्म कमाइरहेको छु । नानीबाबुहरु खेलाउदै परिवारमा रहँदा छुट्टै आनन्द छ, खरेल भन्छन् – उमेर र तागत हुन्जेल विदेश बस्ने कुरा बेठिक छ । अर्काको देशमा गुलाम गर्ने, रोग लिएर फर्किने कुरा दुखद भइरहेको भन्दै उनले आफ्नै देशमा काम गर्नुपर्ने सूझाव दिए । विदेश जानुभन्दा आफ्नै देशमा सानै भए पनि काम गर्न उनको सूझाव छ । विदेशमा ४० डिग्रीको घाममा आरामले काम गर्ने नेपालीहरु यहाँ काम गर्न नसके जस्तो गरिरहेको बताए । जनताले मात्र होइन, नेताले धेरै कुराहरु विगारेको उनको धारणा छ । नेताहरुकै कारण नेपालीहरु विदेशिनु परेको गुनासो पाखे ।

डेढ वर्ष कतार बसेर फर्किएका रोहित आलम बिर्तामोडमा अटो नै कुदाइरहेका छन् । विदेशमा पनि २०÷३० हजार मात्रै कमाई भएको उनले सुनाए । विदेशमा कमाइरहेको पैसाले परिवार धान्न मुस्किल परेपछि स्वदेश फर्किएर अटो कुमाइरहेको जानकारी दिए । यहाँ अटो कुदाएरै ३० हजारभन्दा धेरै पैसा कमाई हुने रहेछ, त्यसैले म विदेश गएको छैन । अटोमै राम्रो आम्दानी भएपछि देश छोडेर जान मन लागेन, आलमले भने ।

गोल्धापका सरोज दाहाल दुई वर्षअघि विदेशबाट फर्किएका हुन् । उनलाई बिर्तामोडको क्यूएफएक्स अगाडि भेटियो । उनले पैसाकै कारण विदेशिएको बताए । यहाँ विदेशकै जस्तो कमाइ भएपछि फेरि के जानु जस्तो लागेको बताए । अटोमा यात्री खोज्दै पर्खिरहेका दाहालले भने– नेपालमा मेहनत गर्नेहरुका लागि छ, नगर्नेहरुका लागि तेस्तै हो ।

बिर्तामोडको पश्चिम स्टण्डमा म्याजिक भेन सञ्चालन गर्दै आएका रुद्रमणि माझी साउदीमा ५ वर्ष काम गरे फर्किएको १२ वर्ष भयो । खासै उपलब्धी नभएको भन्दै फर्किएका उनी नेपाल आएपछि म्याजिक चलाइरहेका छन् ।

बिर्तामोड १० का शरण लिम्बू २००५ मा कतार पुगेका थिए । ५ वर्ष बसेर नेपाल फर्किएका उनी म्याजिक चलाउदै आएका छन् । उनी भन्छन्, दुख त देशमा पनि विदेशमा पनि हुन्छ । तर, विदेश बस्दा घर परिवारको रेखदेख हुदैन । यहाँ परिवारको रेखदेख गर्दै काम गर्न सकिन्छ ।

विदेशबाट फर्किएर स्वदेशमै काम गर्नेहरुले विदेश नजाँदा पनि हुन्छ भन्ने बलियो उदाहरण पेश गरेका छन् ।

प्रकाशित मिति : बैशाख २५, २०८१ मंगलबार  ७ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]