बैशाख १३, २०८१ बिहीबार

झापामा आधाजसो एचआइभी संक्रमित ‘एआरटी उपचार’बाट टाढै

अम्बिका भण्डारी
झापा । जिल्लामा रहेका एचआईभी संक्रमितमध्ये आधाजसोले मात्र सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको एन्टी रेक्टोभाइरल थेरापी (एआरटी) औषधि नियमित सेवन गरेको पाइएको छ । एआरटीले सङ्क्रमितको शरीरमा रोगप्रतिरोधक शक्ति बढाएर दीर्घजीवी र स्वस्थ बनाउन मद्दत पु¥याउँछ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र झापा शाखाले मेची अस्पतालमा रहेको आफ्नो कार्यालयमार्फत चार सय ३० सङ्क्रमितलाई नियमित रुपमा एआरटी औषधि खुवाउँदै आएको जनाएको छ । जिल्लामा एचआइभी सङ्क्रमितको संख्या औषधि खाइरहेकाको भन्दा दोब्बर अर्थात् आठ सय ३६ छ ।

‘केन्द्रमा आएर औषधि लिन थालेकालाई नियमित गराउन पनि धेरै मेहनत गर्नुपरेको छ,’ केन्द्रकी प्रमुख कञ्चन नेपाली भन्छिन्, औषधि खान आइदिनुहोस् भनेर हामी फोन गर्छौँ, एसएमएसबाट खबर पनि पठाउँछौँ । औषधि सेवन गर्न नआएर लुकेर बसिरहेका आधाजसो सङ्क्रमितलाई उपचारको दायरामा ल्याउनु चुनौतीपूर्ण रहेको उनले बताइन् ।

सन् २००७ देखि नै राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले मेची अस्पतालबाट निःशुल्क रुपमा एआरटी सेवा उपलब्ध गराउँदै आएको छ । छिमेकी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङबाटसमेत औषधिका लागि यहाँ धाउनेहरु छन् । मेची अस्पतालमा एआरटी औषधिका लागि नियमित सम्पर्कमा रहेकामा दुई सय ७२ पुरुष, एक सय ८९ महिला, १४ बालबालिका र चार समलिङ्गी छन् । समलिङ्गीलाई औषधि खुवाउने अलग्गै सुविधा उपलब्ध छ ।

‘हरेक महिना छ जनासम्म नयाँ सङ्क्रमित औषधिका लागि सम्पर्कमा आउँछन्, औषधि लिइरहेका केहीले हरेक महिना सम्पर्क टुटाउने गरेका पनि छन्,’ उनी भन्छिन्, ‘औषधिका लागि आउने १८ देखि २५ वर्ष र ३० देखि ४५ वर्ष उमेर समूहका बढी छन् ।’

गतवर्ष ८६ जनाले औषधि सेवन टुटाएको केन्द्रको तथ्याङ्कमा उल्लेख छ । अध्ययनका लागि तेस्रो मुलुक जाने र रोजगारीका लागि भारत जाने सङ्क्रमितले औषधि टुटाउने गरेका हुन् । सरकारी नियमअनुसार केन्द्रमा दर्ता भएका सङ्क्रमितलाई सामान्यतया एकपटकमा एक महिनाको औषधि उपलब्ध गराइन्छ तर नियमित औषधि खाइरहेकालाई डेढमहिनासम्मको औषधि पनि दिइएको पाइन्छ ।

एचआईभी सङ्क्रमित पत्ता लगाउने, जाँच गर्ने, औषधि उपलब्ध गराउने र औषधि खाइरहेकामा भाइरल लोड परीक्षण कार्य गर्दै आएको केन्द्रले आम्दा नेपाल, लवकुश आश्रम र लिड नेपालमार्फत सङ्क्रमितको पहिचान गर्दै आएको छ । सिधैँ सम्पर्कमा आउनेलाई समेत केन्द्रबाट आवश्यक परीक्षणपश्चात् औषधि दिइने गरिएको छ । पछिल्लो समय एचआइभी सङ्क्रमितको उपचारमा सरकारले निःशुल्क जाँच र उपचारको व्यवस्था गरे पनि जनचेतनाको अभाव र पहिचान खुल्ने डरले कैयन सङ्क्रमितले उपचारको लाभ लिन सकिरहेका छैनन् ।

भद्रपुरस्थित लवकुश आश्रमकी प्रमुख रञ्जु शर्मा एआरटी उपचार प्रभावकारी भएको जनाउँदै झापामा सरकारी आँकडाको दोब्बर एचआइभी सङ्क्रमित भएको जिकिर गरेकी छन् ।
‘सबै संक्रमितहरु सम्पर्कमा छैनन् औषधि खान पनि आएका छैनन्,’ एचआइभी सङ्क्रमितको सेवामा सक्रिय उनी भन्छिन्, ‘आफ्नो गाउँठाउँमा परिचय खुल्छ भनेर झापाका सङ्क्रमित विराटनगर, धरान र काठमाडौँ पुगेर औषधि लिने गरेको पनि पाइएको छ ।’ एआरटीको नियमित सेवनले जीवनसाथीलाई सङ्क्रमित हुनबाट बचाउने र स्वस्थ बच्चा जन्माउन मद्दत पुग्ने हुँदा यो औषधिको सेवन गराउन सबै सरोकारवाला पक्षको सहयोग आवश्यक रहेको प्रमुख शर्मा बताले जानकारी दिए । एचआइभी सङ्क्रमितलाई उपचारका लागि सम्पर्कमा आउँदा उनीहरुलाई निःशुल्क एआरटी औषधि मात्र नभएर नवीकरण गरिरहनु नपर्ने स्वास्थ्य बीमा पनि निःशुल्क उपलब्ध हुने जानकारी दिइएको छ ।

देशभर दश हजार संक्रमित उपचार बाहिरै
नेपालमा हाल ३० हजारको हाराहारीमा एचआइभी सङ्क्रमित रहेको र तीमध्ये २० हजार मात्र उपचारको दायरामा आएको तथ्याङक छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका अनुसार नेपालले सन् २०३० सम्ममा एचआइभी सङ्क्रमण न्यूनीकरण गर्ने अन्तरराष्ट्रिय प्रतिबद्धता जनाएको छ । सो अनुसार सरकारले सन् २०२१ देखि २०२६ सम्मका लागि एनएचएसपी नामक रणनीतिक योजना कार्यान्वयनमा ल्याएको छ । हरेक वर्ष ९५ प्रतिशत सङ्क्रमितको पहिचान, उपचार र भाइरल लोड कम गर्ने रणनीतिक योजनाको उद्देश्य छ ।

नेपाल सरकारले एचआइभी सङ्क्रमितका लागि एआरटीमार्फत दैनिक छ डलर मूल्य बराबरको औषधि निःशुल्क उपलब्ध गराउँदै आएको छ । औषधिले कति काम गरिरहेको छ भनेर हरेक छ महिनामा भाइरल लोड जाँच गर्नका लागि जिल्लाबाट काठमाडौँमा नै नमूना पठाउनुपर्ने झञ्झट हट्नसकेको छैन । पछिल्लो समय होटलमा हुने असुरक्षित यौन सम्पर्क र लागुऔषध प्रयोगकर्ताले प्रयोग गर्दै आएको असुरक्षित सुईका माध्यमबाट एचआइभी सङ्क्रमण बढ्दो पाइएको छ ।

प्रकाशित मिति : भाद्र १४, २०७९ मंगलबार  ८ : ४० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]