चाडवाड लक्षित सुरक्षा योजना बनाउ
सम्पादकीय
शहर बजारमा भीडभाड शुरु भएको छ । चाडवाड नजिक आएसँगै मानवीय चहलपहल बढ्न शुरु गरेको हो । किनमेलका कारण शहर बजार क्षेत्रमा भीड देख्न थालिएको छ । यो समयमा सबैभन्दा चुनौतिको विषय भनेको पनि सुरक्षा नै हो । चाडवाड शुरु हुने समयमा चोरी डकैती धेरै नै बढ्ने गरेको छ । चोरी डकैतीका कारण धेरै परिवारको चाडवाड खल्लो हुने गरेको छ । त्यसैले सुरक्षा निकायले तत्काल सुरक्षा व्यवस्थामा कडाई गर्नुपर्छ । त्यसका लागि सोही अनुसारको सुरक्षा योजनाको जरुरी पर्छ ।
झापामा लागुऔषध कारोवार र प्रयोग व्यापाक छ । जसका कारण पनि चोरी बढेर गयो । लागुऔषध प्रयोगकर्ताले आफ्नो खोराक खरिदका लागि चोरी गरिरहेको कतिपय घटनाले स्पष्ट बनाइसकेको छ । चोरी गरेका सामान विक्रि गर्ने र त्यहि रकमले आवश्यक लागुऔषध खरिद गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेकै तथ्यहरु हुन् । यसैले चोरी, डकैती नियन्त्रणका लागि सर्वप्रथम घरको ढोकाहरु राम्रोसँग बन्द गनुपर्छ । बन्द गर्ने कुरामा लापरबाही गरियो भने चोरीको शिकार हुनुपर्नेछ ।
बजार क्षेत्रमा चोरीको ठुलो समस्या छ । प्रहरीले जति नै पक्राउ गरे पनि चोरी घटेको छैन । यसैले आफ्नो घरको सुरक्षाका लागि प्रविधिको पनि प्रयोग अपरिहार्य छ । यसका लागि एउटै परिवारलाई खर्चिलो हुन सक्छ । वरपर मिलेर सामुहिक रुपमा सीसी टिभी जोडेर घरको सुरक्षा गर्नुपर्छ । घरमा राखिएका मोटरसाइकलदेखि विक्रिका लागि सहज हुने ग्यास सिलिण्डर, धातुजन्य वस्तु लगायतका सामग्री नै चोरी गर्नेहरुको आँखामा परेको हुन्छ । यसैले त्यस्ता सामग्रीलाई अलि ध्यान दिनुपर्छ । हिजोआज चोरी गर्नेहरु घरमा भाडा पाइन्छ भन्दै साध्दै प्रवेश गर्ने गरेको पाइन्छ । भाडाको निहुमा घरभित्रको परिस्थति बुझ्ने र अनुकुलता मिलाएर चोरी गर्ने गरेको घटना सुन्न पाइन्छ । यसैले घरमा भाडा खोज्दै आउनेहरुलाई ख्याल गर्न आवश्यक छ । समय प्रतिकुल हुँदै गइरहेका कारण प्रहरी प्रशासन र स्थानीय तहले बेलैमा नागरिकको सुरक्षामा ध्यान दिओस् ।