फोहोर व्यवस्थापनको विकल्प ‘उर्जा प्लाण्ट’
सम्पादकीय
देशभरका स्थानीय तहहरुको साझा समस्याका रुपमा रहेको फोहोर व्यवस्थापन सबैका लागि चुनौति छ । फोहोर व्यवस्थापनका लागि आवश्यक बजेट व्यवस्था गर्न सके पनि ठाउँ व्यवस्थापन पालिकाहरुका लागि कठिनाईको विषय बनेको छ । झापामा सबैभन्दा धेरै फोहोरको व्यवस्थापनमा कठिनाई भोगिरहेको बिर्तामोड नगरपालिका हो । यहाँ वर्षौदेखि अस्थायी रुपमा फोहोर व्यवस्थापन भइरहेको छ । दीर्घकालिन समाधानका लागि नगरपालिकाले सफलता हात पार्न सकेको छैन । डम्पिङ साइड नभएका कारण बिर्तामोडले विभिन्न ठाउँमा खाल्डो खन्दै पुर्दै आएको छ ।
बिर्तामोडसहित जिल्लाका अन्य पालिकाहरुमा पनि फोहोर व्यवस्थापन समस्या भइरहेको छ । कनकाई नगरपालिका र अर्जुनधारा नगरपालिका पनि यहि समस्याबाट प्रभावित छन् । तीन वटा पालिकाले केहि समय यता निजी क्षेत्रको लगानीमा थालिएको परियोजनामा सहभागी हुने इच्छा व्यक्त गरेका छन् । कनकाई–बिर्ता–अर्जुन नविकरणीय उर्जा परियोजना निजी क्षेत्रको लगानीमा शुरु भएको थियो । अहिले तीन पालिका आफ्नो नगरको फोहोर त्यहाँ पठाउने गरी तयारी थालेका छन् । त्यसका लागि पालिकाहरुलाई परियोजना सञ्चालन गर्ने कम्पनीलाई २ करोड २५ लाखका दरले लगानी गर्नुपर्ने प्रस्ताव राखेको छ । त्यहाँ सहभागी हुने गरी पालिकाहरु आवश्यक छलफल मै जुटिसकेका छन् ।
फोहोर व्यवस्थापनसँगै कनकाई उर्जाले ग्यास उत्पादन गर्ने तयारी गरिरहेको छ । ग्यास, मल र झोल मल उत्पादन गर्ने योजना बनाएको उर्जा प्लाण्टले दैनिक २७ टन फोहोरबाट ग्यास र मल उत्पादन गर्न सक्छ । यसैले पालिकाहरुका लागि फोहोर व्यवस्थापन गर्न सबैभन्दा उत्तम विकल्प पनि यहि हो । फोहोर व्यवस्थापनका लागि पालिकाहरु अहिले पनि करोडौं खर्च गरिरहेका छन् । तर, समाधान निकाल्न सकेका छैनन् । पटक–पटक फोहोर कै समस्याले गर्दा जनप्रतिनिधिहरु आलोचित हुने गर्छन् । जिल्लाका सबै पालिकाहरुले उर्जा प्लाण्टमा लगानी गरेर त्यसलाई चाडै सञ्चालनमा ल्याउने हो भने जिल्लाभरको फोहोर व्यवस्थापनको समस्या समाधान हुने निश्चित छ । पालिकाहरुले निजी क्षेत्रलाई आवश्यक सहयोग र सहकार्य गरेर अघि बढ्नुको विकल्प छैन ।